रुपन्देही । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटको आयात तथा बिक्री वितरणमा नेपाल सरकारले रोक लगाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै उक्त ब्रान्डका सबै ब्याचका बिस्कुट बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो।
विभागका अनुसार भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरण एफएसएसएआईको निरीक्षणका क्रममा बिस्कुट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, उत्पादन प्रक्रिया र कारखानाको सरसफाइमा गम्भीर कमजोरी भेटिएको थियो।
निरीक्षणका क्रममा गाईवस्तुको दानाका रूपमा प्रयोग गरिने चोकर बिस्कुटमा फाइबरको स्रोतका रूपमा प्रयोग गरिएको र त्यसबारे उपभोक्तालाई स्पष्ट जानकारी नदिइएको पाइएको जनाइएको छ।
साथै, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण र कर्मचारीको व्यक्तिगत स्वच्छतामा समेत कमजोरी भेटिएको विभागले जनाएको छ।
भारतीय नियामक निकायले सम्बन्धित कम्पनीको इजाजतपत्र निलम्बन गरेपछि नेपालमा पनि अर्को आदेश नभएसम्म आयात, प्रवेश अनुमति र बिक्री वितरण रोक्ने निर्णय गरिएको हो।
विभागले आयातकर्ता तथा विक्रेतालाई बजारमा रहेका बिस्कुट तत्काल फिर्ता गरी उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ। आदेश उल्लङ्घन गरी बिक्री वितरण गर्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।




















प्रतिक्रिया