काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको बिक्री वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।
ग्यास उद्योगबाट नियुक्त भएका कतिपय बिक्रेताले ग्यास बिक्री गरेपछि ग्राहक तथा डिलरलाई बिलबिजक नदिने गरेको भन्दै गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै बिक्रेतामार्फत हुने ग्यास कारोबारमा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।
निगमले पत्रमा उद्योगबाट नियुक्त भएका कतिपय बिक्रेताले ग्यास बिक्री गरेपछि बिलबिजक जारी नगरेको गुनासो आएको उल्लेख गर्दै बिक्री वितरण प्रक्रियालाई व्यवस्थित बनाउन निर्देशन दिएको जनाएको छ।
यस विषयमा निर्णय कार्यान्वयन गर्न यसअघि पनि सम्बन्धित संघहरूलाई पत्राचार गरिएको निगमले जनाएको छ।
बजारमा ग्यासको कारोबारलाई पारदर्शी बनाउने, बिक्री वितरणको अभिलेख व्यवस्थित गर्ने तथा राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले निगमले उद्योगहरूलाई भ्याट बिल जारी गर्ने व्यवस्था अनिवार्य रूपमा लागू गर्न सचेत गराएको हो।




















प्रतिक्रिया