Logo

राजनीति

भूमिहीनको समस्या समाधान र सहकारीपीडितको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिँदैछौँः मन्त्री रावल



काठमाडौं ।  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले दसैं–तिहारपछि भूमिहीन नागरिकको समस्या समाधान र सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिने बताएकी छन्।

सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री रावलले भूमिहीन नागरिक र सहकारीपीडितका समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताइन्। दुवै क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत जटिलता हटाउँदै काम अघि बढाइएको उनको भनाइ छ।

सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै उनले लामो समयदेखि बचत फिर्ता नपाएका नागरिकलाई जतिसक्दो छिटो रकम उपलब्ध गराउनुपर्ने बताइन्।

मन्त्री रावलका अनुसार भूमिहीन नागरिकको व्यवस्थापनमा बाधक बनेका कानुनी जटिलता अध्यादेशमार्फत हटाइएको छ।

यसअघि कानुनी व्यवस्थाका कारण भूमिहीन नागरिकलाई उनीहरू बस्दै आएको स्थानमै व्यवस्थापन गर्न कठिनाइ हुँदै आएको थियो। आवश्यक नीतिगत सुधार गरेर समस्या समाधानको बाटो खोलिएको उनले बताइन्।

भूमिहीन नागरिकमा आफूहरू बसिरहेको स्थानबाट हटाइनुपर्ने वा बस्तीमा डोजर चलाइने हो कि भन्ने त्रास रहेको उल्लेख गर्दै मन्त्री रावलले सरकारका काम र आगामी योजनाबारे उनीहरूलाई स्पष्ट जानकारी गराउन आवश्यक रहेको बताइन्।

जनताका समस्या सुन्न र समाधानका लागि पहल गर्न सरकार जनताकै बीचमा पुग्नुपर्ने मान्यताअनुसार आफू चितवन आएको उनले स्पष्ट पारिन्।

चितवनमा भूमिहीन नागरिक तथा सहकारीपीडित बचतकर्तासँग भेट गरी उनीहरूका गुनासा, सुझाव र समस्या समाधानका लागि भइरहेको प्रगतिबारे जानकारी लिने उनको योजना छ।

दुवै क्षेत्रका समस्या समाधानका लागि कानुनी र नीतिगत सुधारसँगै कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले दसैं–तिहारलगत्तै प्रक्रिया अघि बढाइने बताइन्।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार १९:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।