Logo

प्रमुख समाचार

इन्सेन्टिभ कटौती रोक्न बीमा अभिकर्ताको माग, प्राधिकरणको भूमिकामाथि प्रश्न



काठमाडौं । जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई दिँदै आएको प्रोत्साहन रकम ९इन्सेन्टिभ० कटौती गर्न थालेपछि पेशागत बीमा अभिकर्ता संघ नेपालले त्यसलाई तत्काल रोक्न माग गरेको छ।

अभिकर्ताको आम्दानी र पेशागत सुरक्षामा असर पर्ने गरी सुविधा कटौती हुँदा पनि नियामक निकाय नेपाल बीमा प्राधिकरणले हस्तक्षेप नगरेको भन्दै संघले आपत्ति जनाएको छ।

संघले बीमा कम्पनीहरूलाई इन्सेन्टिभ कटौती नगर्न निर्देशन दिन प्राधिकरणसँग आग्रह गरेको छ। तर, प्राधिकरणका कार्यकारी निर्देशक सुशील सुवेदीले अध्यक्ष नियुक्त नभएको अवस्थामा नयाँ निर्देशन जारी गर्न नमिल्ने धारणा राखेको अभिकर्ताहरूको भनाइ छ।

हाल प्राधिकरणमा चन्द्रकला पौडेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन्। अध्यक्ष नियुक्त नभएको अवस्थालाई कारण देखाउँदै नियामक निकायले आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने अभिकर्ताहरूको तर्क छ।

इन्सेन्टिभ कटौतीले अभिकर्ताको आम्दानीमा प्रत्यक्ष असर पार्नुका साथै उनीहरूको पेशागत स्थायित्वमा समेत चुनौती थप्ने संघको भनाइ छ। कम्पनीअनुसार इन्सेन्टिभसम्बन्धी व्यवस्था फरक हुँदा अभिकर्तामाथि असमान व्यवहार हुन सक्ने जोखिम पनि रहेको संघले औंल्याएको छ।

संघले अभिकर्ताको हित र पेशागत सुरक्षालाई ध्यानमा राख्दै इन्सेन्टिभसम्बन्धी नीतिमा एकरूपता कायम गर्नुपर्ने माग गरेको छ। साथै, इन्सेन्टिभ कटौती रोक्न र सबै बीमा कम्पनीमा समान व्यवस्था लागू हुने गरी प्राधिकरणले तत्काल स्पष्ट निर्देशन जारी गर्नुपर्ने संघको आग्रह छ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलवार ०८:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।