काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेताहरूको स्वागतमा विमानस्थलमा देखाइने तडकभडक र भीआईपी संस्कृति अन्त्य गर्नुपर्ने बताएका छन्। नेताहरूलाई स्वागत गर्न खादा, माला र फूल बोकेर भीड लाग्ने तथा दर्जनौँ गाडीको लस्कर निकाल्ने प्रवृत्तिले जनतामा वितृष्णा बढाएको उनको भनाइ छ।
रोचक त के छ भने, सोमबार पोखरा विमानस्थल ओर्लिँदा थापा स्वयंले यस्तै भव्य स्वागत पाए। उनलाई स्वागत गर्न नेता–कार्यकर्ताको भीड लागेको थियो भने दुई दर्जनभन्दा बढी गाडीको लस्करसहित पोखरामा स्वागत गरिएको थियो। त्यही तामझामसहित स्याङ्जा पुगेका थापाले मंगलबार भने नेताहरूको स्वागतमा देखिने यस्तो संस्कृतिप्रति असन्तुष्टि जनाउँदै त्यसलाई बदल्नुपर्ने बताए।
बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले विमानस्थलमा नेताहरूलाई स्वागत गर्न लाइन लाग्ने, खादा र माला लगाउने तथा गाडीको लस्कर निकाल्ने शैलीले सर्वसाधारणलाई दिक्क बनाउने बताए।
‘एयरपोर्टमा नेता आउँदै गर्दाखेरि लाइन लागेर जाने, खादा लाएर जाने, माला लिएर जाने, हिजो कार्यक्रममा जाँदै गर्दा मान्छेलाई हेर्दा पनि दिक्क लाग्छ होला नि,’ उनले भने, ‘एकजनाले बाटोमा बसेर गन्दै हुनुहुन्थ्यो, २१, २२, २३… भनेर। गनेको के भन्दा गाडी ! साथीभाइ आउनुभएको छ, सबैजना गएका छन्, तर त्यो देख्दै गर्दाखेरि मान्छेलाई दिक्क लाग्छ।’
नेताहरूले आफूलाई सर्वसाधारणभन्दा फरक ठान्ने र जनताबाट अलग रहने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिँदै थापाले जनताले नेताहरूलाई सहजै भेट्न र आफ्ना कुरा सुनाउन पाउनुपर्ने बताए।
‘हामी त सर्वसाधारण मानिस हौँ, हामी को हौँ र ? हामीलाई त बाटोघाटोमै जनताले भेट्न पाउनुपर्यो, हेर्न, छुन र आफ्ना कुरा सुनाउन पाउनुपर्यो,’ उनले भने, ‘नेतालाई अलग्गै राख्ने, साथीभाइ भेट्न आउँदा धकेल्ने यो भीआईपी संस्कृति अब बदल्नैपर्छ।’
उनले नेताहरूले काठमाडौं र विमानस्थलमा शक्ति प्रदर्शन गर्नुभन्दा गाउँगाउँमा पुगेर काम गर्नुपर्ने बताए। कांग्रेस केन्द्रीय समितिका कुनै पनि सदस्यलाई काठमाडौंमा मात्रै सीमित हुन नदिने प्रतिबद्धता पनि उनले जनाए।
स्थानीय तहको उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप अन्त्य गर्ने दाबी गर्दै थापाले स्थानीय तहका उम्मेदवार सम्बन्धित क्षेत्रकै पार्टी सदस्यले छान्ने बताए।
‘यो पटक स्थानीय निर्वाचनको उम्मेदवार माथिबाट छानिँदैन, विधानमै त्यो व्यवस्था गरेका छौँ,’ उनले भने, ‘पोखरा महानगरपालिकाको उम्मेदवार को हुने भन्ने कुरा पोखराकै पार्टी सदस्यहरूले छान्नुहुन्छ । काठमाडौंबाट लादिँदैन । स्याङ्जा र तनहुँको उम्मेदवार त्यहीँका साथीहरूले छान्नुहुन्छ।’




















प्रतिक्रिया