नेपाल प्रिमियर लिग (एनपीएल) ३ मा बुधबार सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स र खेल्दैछन्।
सिजनको पहिलो खेल खेल्न लागेको पोखरा विजयी शुरुवात गर्न चाहन्छ भने आफ्नो पहिलो खेलमा पराजित सुदूरपश्चिम जित हात पार्दै प्रतियोगितामा फर्कन चाहन्छ ।
सुदूरपश्चिम यसअघिका दुबै प्रतियोगितामा फाइनल पुगेको टोली हो भने पोखरा दुबैपटक प्लेअफमा नपुगि घर फर्किएको थियो ।
पोखराले यसपटक बंगलादेशका शाकिब अल हसन जस्ता कुनै बेलामा विश्व नम्बर एक अलराउन्डरलाई टोलीमा समेटेको छ । पोखरामा यसपटक उनीसहित तीन बंगलादेशी र तीन श्रीलंकाली खेलाडी छन् ।
धनन्जय लक्षणा, महेदी हसन, चमिका करुणारत्ने र मोहम्मद सैफुद्दिनलगायत विदेशी खेलाडीमा पोखराले ठुरो भरोसा गरेको छ । तर उसका लागि कप्तान कुशल भुर्तेल लयमा नहुनु समस्या हुन सक्छ ।
पोखरामा दिनेश खरेल, अर्जुन कुमाल, अर्जुन घर्ती, किरण ठगुन्नालगायत ब्याटर तथा आकाश चन्द, बिपिन खत्री र सागर ढकाल राम्रा बलर छन् । यसकारण पोखराको टोली सँधैभन्दा बलियो रहेको आँकलन गरिएको छ ।
यसैगरी दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा सेफ जैब, ब्रान्डन म्याकमुलन, शेरफन रदरफोर्ड र स्कट कुगेलेइनजस्ता विदेशी खेलाडी छन् भने आरिफ शेख, इशान पाण्डे, विनोद भण्डारीजस्ता ब्याटर तथा हेमन्त धामी, अनिल खरेल र अविनाश बोहरा जस्ता बलर छन् ।
एनपीएलका यसअघिका दुई सिजनमा भएका दुई खेलमा दुबै खेल सुदूरपश्चिमले जितेको छ । तसर्थ आजको खेल पोखराका लागि ती दुबै हारको बदला लिने अवसर पनि हुनेछ ।




















प्रतिक्रिया