Logo

मौसम

उच्च हिमाली क्षेत्रमा नजान पर्यटन विभागको आग्रह



काठमाडौं । भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिम बढ्ने पूर्वानुमानपछि पर्यटन विभागले उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ।

विभागका अनुसार कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ। नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनका आधारमा उच्च हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत औंल्याइएको छ।

प्रतिकूल मौसमका कारण बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नुका साथै पदयात्रा तथा हिमाल आरोहण प्रभावित हुन सक्ने विभागले जनाएको छ। उच्च हिमाली क्षेत्रमा जाने योजना स्थगित गर्न र त्यहाँ पुगिसकेका पदयात्री तथा पर्वतारोहीलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागले आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर मात्रै यात्रा योजना बनाउन पनि अनुरोध गरेको छ।

यसैबीच, उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या एक्युट माउन्टेन सिकनेस (उचाइका कारण हुने बिरामी) को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन विभागले सम्बन्धित निकायलाई आग्रह गरेको छ। खुम्बु, मनाङलगायतका हिमाली क्षेत्र तथा काठमाडौं र पोखरास्थित स्वास्थ्य संस्थामा यस्तो उपचार सेवा उपलब्ध गराउन अपिल गरिएको हो।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार १२:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।