Logo

खेलकुद

हारको चोटमा सुदूरपश्चिम, पोखरालाई बदला लिने अवसर



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो खेलमै अप्रत्याशित हार बेहोरेको छ। अघिल्ला दुई संस्करणमा लगातार फाइनल खेलेको टोली डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्ससँग ८७ रनमै समेटिएपछि दबाबमा परेको छ। अब सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सको सामना गर्दैछ।

सुदूरपश्चिमका लागि यो खेल पहिलो हार बिर्सेर लयमा फर्कने अवसर हो। पोखराका लागि भने अघिल्ला दुई संस्करणमा बेहोरेको हारको बदला लिने मौका। यसअघि सुदूरपश्चिमले फाइनलमा बाहेक अन्य टोलीसँग हार बेहोरेको थिएन। त्यसैले पहिलो खेलको कमजोर प्रदर्शनले टोलीको तयारी र ब्याटिङ क्षमतामाथि प्रश्न उठाएको छ।

पोखरा र सुदूरपश्चिमबीचको प्रतिस्पर्धामा यसअघिका नतिजा सुदूरपश्चिमको पक्षमा छन्। पहिलो संस्करणमा पोखरा पाँच रनले पराजित भएको थियो। सुदूरपश्चिमले दिएको १५३ रनको लक्ष्य पछ्याएको पोखरा दुई बल बाँकी छँदै १४८ रनमा अलआउट भएको थियो। दोस्रो संस्करणमा १९४ रनको लक्ष्य पाएको पोखराले निर्धारित २० ओभरमा १७५ रन मात्रै बनाउन सक्यो। उक्त खेलमा सुदूरपश्चिम १८ रनले विजयी भएको थियो।

पोखराको प्रदर्शनमा सुधारको अपेक्षा

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले अघिल्ला दुई संस्करणमा अपेक्षित सफलता पाउन सकेको थिएन। पहिलो संस्करणमा सात खेलमध्ये दुईमा मात्रै जित निकाल्दै टोली आठमध्ये सातौँ स्थानमा सीमित भएको थियो।

त्यतिबेला पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो भने विराटनगर किंग्सविरुद्ध सुपर ओभरमा जित निकालेको थियो। तर चितवन राइनोजसँग ८७ रन, जनकपुर बोल्ट्स र कर्णाली याक्ससँग सात–सात विकेट तथा काठमाडौं गोर्खाजसँग छ विकेटले पराजित भएको थियो। सुदूरपश्चिमसँग पनि पोखरा हार्न पुगेको थियो।

दोस्रो संस्करणमा पोखराले केही सुधार गर्दै सात खेलमध्ये तीनमा जित निकाल्यो। चार खेलमा पराजित भएको टोली ६ अंकसहित पाँचौँ स्थानमा रह्यो र शीर्ष चारमा पुग्न सकेन।

पोखराले जनकपुरलाई २५ रन, कर्णालीलाई ३४ रन र चितवनलाई आठ विकेटले हराएको थियो। विराटनगरसँग ५३ रन, सुदूरपश्चिमसँग १८ रन, लुम्बिनीसँग तीन विकेट र काठमाडौंसँग १३ रनले पराजित भएको थियो।

विदेशी खेलाडीबाट पोखराको आशा

यसपटक पोखराले टोलीको क्षमता बढाउन विदेशी खेलाडीमा भरोसा गरेको छ। बंगलादेशका अलराउन्डर शाकिब अल हसन र मेहदी हसन टोलीमा छन्। उनीहरूको उपस्थितिले ब्याटिङ र बलिङ दुवै पक्ष बलियो बनाउने पोखराको अपेक्षा छ।

टोलीमा महम्मद सैफुद्दिन, चमिका करुणारत्ने, विकेटकिपर ब्याटर लाहिरु उदारा र अलराउन्डर धनञ्जय लक्षण पनि छन्। शाकिबबाट मध्यक्रमको ब्याटिङ सम्हाल्ने र स्पिन बलिङमार्फत विपक्षीलाई दबाबमा राख्ने अपेक्षा गरिएको छ।

नेपाली खेलाडीमध्ये कप्तान कुशल भुर्तेल पोखराका मुख्य भरोसा हुन्। उनीसँगै अर्जुन कुमाल, सागर ढकाल, दिनेश खरेल, विपीन खत्री, आकाश चन्द र किरण ठगुन्नालगायत खेलाडीले टोलीलाई प्रतिस्पर्धी बनाउने जिम्मेवारी पाएका छन्।

सुदूरपश्चिमसँग पुनरागमनको चुनौती

पहिलो खेलमा पराजित भए पनि सुदूरपश्चिमको टोली कमजोर छैन। पाकिस्तानी प्रशिक्षक मिसवाह उल हकको प्रशिक्षणमा रहेको टोलीमा वेस्ट इन्डिजका ब्याटर शेरफेन रदरफोर्ड र अलराउन्डर फेबियन एलेन छन्। पहिलो खेलमा रदरफोर्डले प्रभाव पार्न सकेनन्। तर लयमा फर्किए उनले मध्यक्रममा आक्रामक ब्याटिङ गर्न सक्छन्। उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबाट खेलेका छन्।

कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, स्कट कुग्गेलाइन, सैफ जाइब, आरिफ शेख, ब्रान्डन म्याकमुलेन, इशान पाण्डे, अविनाश बोहरा, अनिल खरेल र हेमन्त धामी पनि टोलीका प्रमुख खेलाडी हुन्।

लुम्बिनीविरुद्ध दीपेन्द्रले २७ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। बलिङमा अनिल खरेलले दुई विकेट लिएका थिए। त्यसैले पोखरासँगको खेलमा सुदूरपश्चिमले ब्याटिङ सुधार्नुपर्नेछ।

दुवै टोलीका लागि महत्त्वपूर्ण खेल

पहिलो खेलमै पराजित भएपछि सुदूरपश्चिमलाई प्रतियोगितामा बलियो पुनरागमन गर्नुपर्ने दबाब छ। पोखरासँग पनि हार बेहोरेमा बाँकी खेलमा जित निकाल्नुपर्ने चुनौती थपिनेछ। लगातार दुई संस्करणको फाइनल खेलेको टोलीबाट समर्थकले यसपटक उपाधिको अपेक्षा गरेका छन्।

पोखराका लागि भने पहिलो खेलमै जित निकाल्दै प्रतियोगितामा राम्रो सुरुआत गर्ने अवसर छ। नयाँ खेलाडीको प्रदर्शन र कप्तान भुर्तेलको ब्याटिङ टोलीका लागि निर्णायक बन्न सक्छ।

सुदूरपश्चिमले पहिलो हारको असरबाट बाहिर निस्कँदै आफ्नो क्षमता प्रमाणित गर्न खोज्नेछ भने पोखरा पुरानो नतिजा उल्ट्याउने लक्ष्यमा हुनेछ। त्यसैले आजको भिडन्त दुवै टोलीका लागि अंक जोड्ने खेल मात्रै नभई प्रतियोगितामा आफ्नो लय स्थापित गर्ने अवसरसमेत हो।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार १३:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।