नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको आकस्मिक बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा केहीबेरपछि बैठक बस्ने तयारी भइरहेको दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
बैठकले बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएका नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रबीन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्नेछ ।
यसअघि बिहान दुर्घटनमा परि निधन भएका सातै जनाको शव टुँडिखेलमा राखेर राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले श्रद्धाञ्जली दिएका थिए ।
हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका मन्त्री अधिकारीको पार्थिव शरीर गृहनगर पोखरा लगिएको छ । उनको शव श्रद्धाञ्जलीका लागि प्रदर्शनी केन्द्रमा राखिएको छ । उनलाई बुबा इन्द्र र आमा लक्ष्मीले भक्कानिँदै पुष्प गुच्छा चढाएका छन् ।
श्रद्धाञ्जलीका लागि सयौं पोखरेली प्रदर्शनी केन्द्रमा भेला भएका छन् । मन्त्री अधिकारीलाई श्रद्धाञ्जलीका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, योगेश भट्टराई, राजन भट्टराई, घनश्याम भुसाल, मन्त्री पद्मा अर्याल, कांग्रेस नेता चन्द्र भण्डारी पोखरा आएका छन् ।
त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश सरकारका मन्त्रीहरु पनि श्रद्धाञ्जली दिन आएका छन् । श्रद्धाञ्जलीको कार्यक्रम सकिएपछि अधिकारीको पोखराको रामघाटमा अन्त्येष्टि गरिनेछ ।
यस्तै मन्त्री अधिकारीको सम्झनामा पोखरामा वाटिकाको नामांकरण गरिने भएको छ। पोखरा ५ मालेपाटनमा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति वाटिका नामांकरण गर्ने निर्णय गरिएको हो।
मन्त्री अधिकारीले पुस्तकालाय र पुस्तकालायको नयाँ भवन निर्माणका लागि विशेष योगदान दिएकाले समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम परिवर्तन गरी रवीन्द्र स्मृति वाटिका नामांकरण गर्ने निर्णय गरिएको पोखरा महानगरपालिकाका-५ का वडा अध्यक्ष तथा समाजका पूर्व अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए।
पोखरा ३३ भरतपोखरी स्थायी घर भई पोखरा ५ मालेपाट बस्दै आएका मन्त्री अधिकारीले समाजले संचान गरेको भवन निर्माणका लागि ८ लाख जुटाएका थिए।समाजद्वारा निर्मित वाटिकाको समाजको रजत महोत्सवको अवसरमा मन्त्री अधिकारीले साउन ११ गते उद्घाटन गरेका थिए । पुस्ताकालय र वाटिकालाई थप आधुनिकीकरण समेत गरिने समाजकी अध्यक्ष गायत्री भुतेलले बताइन्।
समाजले स्थानीय जनप्रतिनिधि, समाजका पूर्वअध्यक्ष, सल्लाहाकार समेतको उपस्थितीमा वाटिकाको नाम रविन्द्र स्मृति वाटिका नामांकरण गर्ने निर्णय गरेको उनले बताइन्।
दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।



















प्रतिक्रिया