Logo

मौसम

अर्नब चक्रवातको प्रभाव कमजोर



काठमाडौं । अर्नब चक्रवातको अवशेषस्वरूप पश्चिम नेपालनजिक सक्रिय रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएको छ। यससँगै देशभरको मौसममा क्रमिक सुधार हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मात्र रहेको छ। अहिले लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति पनि देशका अधिकांश भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार तराई क्षेत्र, उपत्यका तथा नदीका खोँचहरूमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्नेछ।

 

प्रकाशित मिति : १५ कार्तिक २०८३, आईतवार ०७:०६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।