काठमाडौं । प्राइम कमर्सियल बैंकको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५.६२ प्रतिशतले घटेको छ। बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी तथा शुल्क र कमिसनबापतको आम्दानी बढे पनि सञ्चालन नाफामा आएको गिरावट र कर्जा नोक्सानी व्यवस्थापनका लागि बढाइएको रकमले बैंकको नाफा प्रभावित भएको हो।
बैंकको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी ८.२४ प्रतिशतले बढेर २ अर्ब ६० करोड ५७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २ अर्ब ४० करोड ७४ लाख रुपैयाँ थियो।
त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी १२.७९ प्रतिशतले वृद्धि भएर ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ। मुख्य आम्दानीका स्रोतमा सुधार आएसँगै बैंकको कुल सञ्चालन आम्दानी पनि ४.६२ प्रतिशतले बढेर ३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।
तर, कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको रकम बढ्दा सञ्चालन नाफामा दबाब परेको छ। बैंकले इम्पेयरमेन्ट चार्जका लागि अघिल्लो वर्षको पहिलो त्रैमासमा ४८ करोड ९ लाख रुपैयाँ छुट्याएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६१ करोड ७० लाख रुपैयाँ पुर्याएको छ।
यसको असर सञ्चालन नाफामा देखिएको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ५.४८ प्रतिशतले घटेर १ अर्ब ९६ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ।
नाफामा आएको गिरावटसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा २५ रुपैयाँ ९४ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको सोही अवधिमा घटेर २२ रुपैयाँ ६७ पैसामा झरेको छ।
यता, बैंकको खराब कर्जाको अनुपातमा समेत वृद्धि भएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा ५.८६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको असोज मसान्तमा बढेर ७.१५ प्रतिशत पुगेको छ। खराब कर्जामा भएको वृद्धिले बैंकको कर्जा गुणस्तर र जोखिम व्यवस्थापनमा चुनौती थपिएको देखिन्छ।
असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ५ करोड १७ लाख रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी २० अर्ब ९५ करोड रुपैयाँ र जगेडा कोषमा १४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिसम्म बैंकले २ खर्ब ३५ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने २ खर्ब ७५ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। यस अवधिमा बैंकको कुल सम्पत्ति ३ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ।




















प्रतिक्रिया