काठमाडौं । जेन्जी अभियन्ता अजय सोडारीले इनम सापकोटा प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै अनुसन्धानको सुरुवात प्रधानमन्त्री बालेन्द्र शाह र उनका प्रमुख सल्लाहकार कुमार बेनबाटै हुनुपर्ने बताएका छन् ।
सुशासन र विधिको शासनको नारा दिएर गठन भएको सरकारमाथि विचौलियासँगको सम्बन्ध र प्रभावलाई लिएर गम्भीर प्रश्न उठेको भन्दै सोडारीले यस प्रकरणमा प्रधानमन्त्रीदेखि मन्त्री, प्रहरी नेतृत्व र सम्बन्धित सबै व्यक्तिको भूमिकामाथि छानबिन हुनुपर्ने बताएका हुन् ।
सोडारीका अनुसार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले इनम सापकोटाले पटक–पटक दबाब सिर्जना गरेको र न्याय निरूपणको प्रक्रियामा हस्तक्षेपको प्रयास भएको भन्दै पक्राउ तथा छानबिनका लागि प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको विषय सार्वजनिक भएको छ । न्यायाधीश फुयालले सापकोटालाई होटलमा भेटेको स्वीकार गरेको विवरणसमेत बाहिर आएको बताए ।
यस्तै, प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफ्नै निर्देशनमा सापकोटालाई पक्राउ गरिएको अभिव्यक्ति दिएको र यही प्रकरणलाई लिएर प्रहरी प्रमुखलाई हटाउने चर्चा चलेको विषयले थप प्रश्न उब्जाएको सोडारीको भनाइ छ ।
इनम सापकोटाले आफूलाई प्रधानमन्त्रीको विशेष दूतका रूपमा प्रस्तुत गर्दै विभिन्न व्यक्तिसँग संवाद गरेको भनिएका च्याट तथा सरकारका मन्त्री र अन्य व्यक्तिहरूसँगका तस्बिर सार्वजनिक भएको विषयलाई पनि उनले उठाएका छन् ।
सापकोटाले प्रधानमन्त्री बालेन्द्र शाह, उनका प्रमुख सल्लाहकार कुमार बेन तथा विभिन्न शक्ति केन्द्रका व्यक्तिहरूसँग आफ्नो पहुँच रहेको देखाउँदै प्रभाव जमाउने गरेको विवरण सार्वजनिक भएको उनको दाबी छ ।
सोडारीले सार्वजनिक भएका आरोप, च्याट, तस्बिर र घटनाक्रमको स्वतन्त्र पुष्टि तथा कानुनी परीक्षण हुनुपर्नेमा जोड दिएका छन् । सरकार सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति प्रतिबद्ध छ भने आफूमाथि उठेका प्रश्नबाट पन्छिन नहुने उनको भनाइ छ ।
उनले यस प्रकरणको निष्पक्ष, स्वतन्त्र र अधिकारसम्पन्न न्यायिक छानबिन आयोग वा संसदीय समिति गठन गर्न माग गरेका छन् । `हाम्रो माग स्पष्ट छ : इनम प्रकरणको छानबिन प्रधानमन्त्री बालेन्द्र शाहबाटै सुरु गरियोस्,’ सोडारीले भनेका छन् ।




















प्रतिक्रिया