Logo

अर्थ

मुक्तिनाथ विकास बैंकको खुद नाफा ३२ करोड २४ लाख, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफामा आकर्षक सुधार गरेको छ ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको यस्तो नाफा २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ थियो। एक वर्षको अन्तरमा त्रैमासिक नाफा ९ करोड ७६ लाख ५० हजार रुपैयाँले बढेको हो ।

बैंकको इम्पेयरमेन्ट चार्ज ७४.९७ प्रतिशतले घटेर १३ करोड ५४ लाख ५४ हजार रुपैयाँमा झरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा ५४ करोड ११ लाख ६७ हजार रुपैयाँ थियो ।

इम्पेयरमेन्ट चार्जमा आएको यही ४० करोड ५७ लाख रुपैयाँको गिरावटका कारण बैंकको सञ्चालन मुनाफा १३५.५४ प्रतिशतले वृद्धि भई ७५ करोड ६३ लाख ३५ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्ष ३२ करोड ११ लाख ६ हजार रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानीमा पनि २.७१ प्रतिशतको वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा बढेर १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ कायम भएको छ ।

यस अवधिमा बैंकको ब्याज आम्दानी २ अर्ब ६२ करोड ७१ लाख रुपैयाँबाट घटेर २ अर्ब ३५ करोड ७८ लाख रुपैयाँमा झरेको छ भने ब्याज खर्च १ अर्ब ४४ करोड १६ लाख रुपैयाँबाट घटेर १ अर्ब १४ करोड २ लाख रुपैयाँ कायम भएको छ ।

उता गैर-ब्याज आम्दानीतर्फ भने बैंकको खुद फि तथा कमिसन आम्दानी ५६.९१ प्रतिशतले बढेर १९ करोड ९४ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्षको पहिलो त्रैमासमा १२ करोड ७० लाख रुपैयाँ थियो । साथै खुद ट्रेडिङ आम्दानी २९ लाख ८९ हजार र अन्य सञ्चालन आम्दानी २ करोड ९३ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप र कर्जा प्रवाह दुवैमा सकारात्मक वृद्धि देखिएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्य (असार मसान्त २०८३) को तुलनामा चालु आवको पहिलो तीन महिनामा ग्राहक निक्षेप २.२० प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ५३ करोड ९४ लाख ४३ हजार रुपैयाँबाट १ खर्ब २६ अर्ब २५ करोड ८२ लाख ६९ हजार रुपैयाँ पुगेको छ । सोही अवधिमा ग्राहक कर्जा प्रवाह पनि ४.९४ प्रतिशतले बढेर १ खर्ब ५० करोड ८८ लाख ३१ हजार रुपैयाँबाट १ खर्ब ५ अर्ब ४७ करोड ३३ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

कर्जाको गुणस्तर अर्थात् सम्पत्तिको अवस्थामा भने केही दबाब देखिएको छ । बैंकको कुल निष्कृय कर्जा (एनपिएल) गत आर्थिक वर्षको पहिलो त्रैमासको ४.०३ प्रतिशतबाट बढेर चालु आवको सोही अवधिमा ४.७३ प्रतिशत पुगेको छ । त्यस्तै खुद निष्कृय कर्जा पनि १.३२ प्रतिशतबाट वृद्धि भई २.१९ प्रतिशत पुगेको छ । खराब कर्जा बढेका कारण कुल निष्कृय कर्जामा नोक्सानी व्यवस्थाको कभरेज गत वर्षको १०२.३८ प्रतिशतबाट घटेर ८३.६७ प्रतिशतमा झरेको छ ।

बजारको ब्याजदर घट्दो चक्रमा रहेका कारण बैंकको फण्ड लागत, आधार दर र स्प्रेड दर तीनवटै सूचक संकुचित बन्दै गएका छन् । बैंकको निक्षेपको लागत (कस्ट अफ फण्ड) ४.४६ प्रतिशतबाट घटेर ३.५५ प्रतिशतमा र आधार दर (बेस रेट) ६.५९ प्रतिशतबाट घटेर ५.४६ प्रतिशतमा झरेको छ । बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड दर) पनि गत आवको ४.५९ प्रतिशतबाट घटेर ४.३८ प्रतिशतमा सीमित भएको छ । बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८४.०५ प्रतिशत कायम भएको छ, जुन गत वर्ष ८५.६६ प्रतिशत थियो ।

नाफामा आएको उच्च सुधारसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ २४ पैसाबाट उल्लेख्य बढेर १६ रुपैयाँ १२ पैसा कायम भएको छ । नाफा बढेसँगै पुँजीमा प्रतिफल अर्थात् वार्षिकीकृत आरओई ७.५६ प्रतिशतबाट बढेर ९.८४ प्रतिशत र सम्पत्तिमा प्रतिफल अर्थात् आरओए ०.६७ प्रतिशतबाट बढेर ०.९० प्रतिशत पुगेको छ ।

पहिलो त्रैमासको अन्त्यमा बजारमा प्रतिसेयर मूल्य ३४४ रुपैयाँ रहँदा बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २१.३४ गुणा कायम भएको छ । हाल ८ अर्ब ३ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको मुक्तिनाथ विकास बैंकको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा, पुँजी पर्याप्तता अनुपात १२.८६ प्रतिशत र तरलता अनुपात २५.४५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आईतवार १२:२३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।