Logo

अर्थ

हिमालयन बुलियनको न्युरोडमा नयाँ आउटलेट सञ्चालनमा



काठमाडाैं । हिमालयन बुलियन कम्पनी (एचबीसी)ले काठमाडौंको न्युरोडमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौंको ज्ञानेश्वरबाट मात्रै शुद्ध चाँदीका बार तथा सिक्काको कारोबार गर्दै आएको कम्पनीले आइतबारदेखि न्युरोड मलको पहिलो तलामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।

कम्पनीका सञ्चालक भीष्म गौतमले न्युरोडमा आउटलेट सञ्चालनमा आएसँगै ग्राहकलाई चाँदी खरिद तथा संकलन गर्न थप सहज हुने विश्वास व्यक्त गरे । ‘आजबाट न्युरोड मलको पहिलो तलामा पनि हाम्रो आउटलेट सञ्चालनमा आएको छ,’ गौतमले भने ।

उनका अनुसार न्युरोड आउटलेट कम्पनीको व्यवसाय विस्तार योजनाको एक हिस्सा हो । कम्पनीले आगामी दिनमा देशका अन्य प्रमुख सहरमा समेत आउटलेट विस्तार गर्ने योजना बनाएको छ ।

नयाँ आउटलेटबाट ग्राहकले चाँदीका बार तथा सिक्का प्रत्यक्ष अवलोकन गरी खरिद गर्न सक्नेछन् । त्यस्तै, कम्पनीको ‘एचबीसी एप’मार्फत खरिद गरिएको चाँदी पनि उक्त आउटलेटबाट संकलन गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले चाँदीको कारोबारलाई सहज र पारदर्शी बनाउने उद्देश्यले घटस्थापनाका दिन मोबाइल एप सार्वजनिक गरेको थियो । एपमार्फत ग्राहकले आफ्नो अनुकूलताअनुसार चाँदीका सिक्का तथा बार खरिद गर्न सक्छन् ।

एपमा खाता खोली ग्राहक पहिचान प्रक्रिया पूरा गरेपछि ग्राहकले चाँदीको दैनिक मूल्य हेर्नुका साथै खरिदको लक्ष्य निर्धारण गर्न सक्छन् । एपमार्फत १०, २०, ५० र १०० ग्रामका सिक्का तथा ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बार खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले एपका ग्राहकलाई १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा सुविधा उपलब्ध गराउने घोषणा पनि गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र हिमालयन बुलियन कम्पनीबीचको सहकार्यमा उपलब्ध हुने उक्त सुविधा बीमालेखका सर्त तथा प्रावधानअनुसार लागू हुनेछ ।

दुर्घटना बीमाका लागि ग्राहकलाई तीन श्रेणीमा विभाजन गरिएको छ । एपमार्फत चाँदी खरिद गरेको पटकका आधारमा ग्राहकलाई स्ट्यान्डर्ड, गोल्डेन र प्लाटिनम श्रेणीमा राखिनेछ । सोहीअनुसार स्ट्यान्डर्ड श्रेणीका ग्राहकले एक लाख, गोल्डेनले पाँच लाख र प्लाटिनम श्रेणीका ग्राहकले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एचबीसी एप भौतिक चाँदी खरिद गर्ने माध्यम हो । एपमार्फत बुक गरिएको चाँदीको सम्पूर्ण रकम भुक्तानी गरेपछि ग्राहकले आफूलाई पायक पर्ने कम्पनीको आउटलेटबाट संकलन गर्न सक्नेछन् ।

यस कम्पनीबाट उत्पादित चाँदीका सिक्का र बारहरु प्रमाणिकताको प्रमाणपत्र र बिलसहित उपलब्ध हुन्छन्, जसले चाँदीको ९९.९९ प्रतिशत शुद्धता र गुणस्तरको गायरेन्टी गर्छ । कम्पनीले दुबई र हबकबबाट चाँदीको ग्रान्युल्स आयात गर्दै आएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार १०:४१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।