काठमाडौं । नेपाल सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा संरचनागत इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पूर्वाधार विकास, गुरुयोजनाको प्रभावकारी कार्यान्वयन तथा व्यवस्थापकीय पक्षलाई थप सुदृढ बनाउने उद्देश्यसहित सरकारले पाण्डेलाई उक्त जिम्मेवारी सुम्पेको हो ।

इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा लामो कार्यअनुभव सँगालेका पाण्डे सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्याङ्कनमा दक्ष मानिन्छन् ।

पाण्डेले यसअघि काठमाडौं महानगरपालिकामा सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए ।

महानगरमा रहँदा उनले अग्ला भवनहरूको प्राविधिक मूल्याङ्कन, भवन नक्साको संरचनागत समीक्षा तथा नेपाल राष्ट्रिय भवन संहिताअनुसारका मापदण्ड कडाइका साथ पालना गराउन भूमिका निर्वाह गरेका थिए ।

त्यसअघि उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका (सन् २०२०–२०२२) र बुटवल उपमहानगरपालिका (सन् २०१७–२०१९) मा पनि संरचनागत इन्जिनियरका रूपमा सेवा गरेका थिए ।

स्थानीय तहमा कार्यरत रहँदा भवन निर्माणसम्बन्धी प्राविधिक मापदण्ड परीक्षण, विद्युतीय भवन निर्माण अनुमति प्रणाली (ईबीपीएस) को सुधार, सार्वजनिक पूर्वाधारको प्राविधिक निरीक्षण तथा प्राविधिक जनशक्तिलाई तालिम प्रदान गर्ने कार्यको नेतृत्व उनले गरेका थिए ।

निजी क्षेत्रतर्फ ‘भिजनरी डिजाइन प्रालि’ मा काम गर्दा उनले विभिन्न स्थानमा पैदलयात्री पुलहरूको संरचनागत डिजाइन तथा विस्तृत प्राविधिक अध्ययन सम्पन्न गरेका थिए ।

शैक्षिक पृष्ठभूमितर्फ पाण्डेले काठमाडौंस्थित एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टबाट सन् २०११ मा सिभिल इन्जिनियरिङमा स्नातक (बीई) गरेका हुन् ।

त्यसपछि उनले भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट सन् २०१६ मा स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर (एमटेक) उपाधि हासिल गरे ।

उनी सन् २०२४ मा ‘स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल’ मार्फत नेपाल राष्ट्रिय भवन संहिताको पुनरावलोकन प्रक्रियामा समेत सक्रिय थिए ।

यसबाहेक उनले सहरी विकास, जीआईएस, स्मार्ट सिटी तथा संरचनागत सुरक्षालगायतका विषयमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम लिएका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको संरक्षण, सम्पदामैत्री पूर्वाधार विस्तार, निर्माणाधीन आयोजनाको गुणस्तर अनुगमन तथा दीर्घकालीन गुरुयोजना सम्पन्न गर्नुपर्ने दायित्व कोषसामु छ ।

स्थानीय तह तथा सहरी पूर्वाधार विकासमा लामो प्राविधिक अनुभव भएका युवा इन्जिनियर पाण्डेको नियुक्तिसँगै कोषको भौतिक विकास तथा पूर्वाधार व्यवस्थापन थप व्यवस्थित र परिणाममुखी बन्ने विश्वास लिइएको छ ।