Logo

मनोरञ्जन

कल्पना पटवारीको छठ गीत ‘करीले परबिया’ रिलिज, मुख्यमन्त्री यादवद्वारा प्रशंसा



जनकपुर । भारतीय गायिका कल्पना पटवारीको छठ गीत ‘करीले परबिया’ रिलिज भएको छ । मधेश प्रदेशका कलाकार र जनकपुरधामका धार्मिक स्थलहरूमा छायांकन गरिएको यो गीत मंगलबार जनकपुरधाममा रिलिज गरी प्रिमियर गरियो । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा उक्त गीतको प्रिमियर गरिएको हो ।

जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर, राजदेवी मन्दिर र ऐतिहासिक गंगासागर सरोवरमा छायांकन गरिएको छठी माताको यो गीतमा मधेश प्रदेशका कलाकारहरूले अभिनय गरेका छन् ।

हालै रिलिज भएको यस गीतले मैथिली संस्कृति र छठी माताको महिमालाई उजागर गरेको छ । कार्यक्रममा मुख्यमन्त्री यादवले गीत र कलाकारहरूको प्रशंसा गरे ।

उनले मधेश प्रदेशमा यस स्तरको सम्भवतः पहिलो पटक यस्तो गीत निर्माण भएकोमा गर्व महसुस भएको बताए । साथै, उनले आगामी दिनमा निर्माता र सम्पूर्ण टिमलाई थप ऊर्जाका साथ यसै प्रकारका गीत–संगीत र चलचित्रहरू पनि निर्माण गर्न आग्रह गरे । उनले मधेश प्रदेश सरकार कलाकार र धर्म–संस्कृति प्रवद्र्धनका लागि सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उडान इन्टरटेनमेन्टका सञ्चालक एवं गीतकी मुख्य पात्र शर्मिला थापाले मिथिलाको धर्म, संस्कृति र परम्परालाई उजागर गर्न आफू सदैव लागिपरिरहने बताइन् ।

उनले सामाजिक सद्भाव र उत्तरदायित्व निर्वाह गर्न सबै धर्म र सबै चाडपर्वको सम्मान गर्नुपर्नेमा जोड दिइन् । थापाले अबको केही दिनपछि आफूहरूले निर्माण गरेको छोरीहरूप्रति समर्पित ‘मायाजाल’ नामक चलचित्र रिलिज हुने जानकारी पनि दिइन् ।

कार्यक्रममा गीतका निर्देशक, कलाकार, सहकलाकार तथा गीत निर्माणमा सहयोग गर्ने ३० जनाभन्दा बढीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलवार २०:२१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।