काठमाडौं। ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभ राज पन्तले इनाम सापकोटाको सार्वजनिक भएको टेप प्रकरणलाई काठमाडौंको आन्तरिक शक्ति संरचना, राजनीतिक प्रभाव विस्तार र बदलिँदो भूराजनीतिक परिस्थितिको बृहत् सन्दर्भमा बुझ्नुपर्ने बताएका छन्।
पन्तका अनुसार काठमाडौंको राजनीतिलाई केवल सत्ता परिवर्तन, राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा वा व्यक्तिगत आर्थिक अनियमितताका घटनामा सीमित गरेर बुझ्न सकिँदैन।
यहाँको आन्तरिक शक्ति संरचना, प्रभाव विस्तारका संयन्त्र, आर्थिक स्वार्थ र भूराजनीतिक चासोबीचको अन्तरसम्बन्धसमेत अध्ययन गर्न आवश्यक छ।
उनले काठमाडौंमा राजनीतिक शक्ति आर्जन, प्रभाव विस्तार र सत्ता नियन्त्रणका लागि हुने भ्रष्टाचार तथा एउटा सामान्य नागरिकले आफ्ना बालबच्चाको विद्यालय शुल्क तिर्न वा आधारभूत जीवन निर्वाहको दबाबमा गर्ने भ्रष्टाचारबीच उद्देश्य र प्रकृतिगत भिन्नता रहेको बताए।
उनले भने, ‘शक्ति आर्जन, राजनीतिक प्रभाव विस्तार र सत्ता नियन्त्रणका लागि गरिने भ्रष्टाचार तथा आधारभूत जीवन निर्वाहको दबाबमा सामान्य नागरिकबाट हुने भ्रष्टाचारलाई एउटै डालोमा राखेर विश्लेषण गर्नु उपयुक्त हुँदैन।
भ्रष्टाचारको कानुनी पक्ष आफ्नो ठाउँमा छ, तर यसको उद्देश्य, प्रकृति, सन्दर्भ र त्यसबाट प्राप्त हुने लाभको पनि तुलनात्मक अध्ययन हुनुपर्छ।’ पन्तका अनुसार काठमाडौंमा राजनीतिक शक्ति हासिल गर्ने, शक्ति सन्तुलन परिवर्तन गर्ने र विभिन्न स्वार्थ समूहको प्रभाव विस्तार गर्ने उद्देश्यले भ्रष्टाचारका विभिन्न स्वरूप विगतदेखि नै देखिँदै आएका छन्।
यसको आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको उल्लेख गर्दै उनले यस्ता गतिविधिलाई तत्कालीन राजनीतिक परिस्थिति, आन्तरिक शक्ति संरचना र त्यसको सञ्चालन प्रक्रियासँग जोडेर अनुसन्धान गर्नुपर्ने बताए।
उनले काठमाडौंलाई भ्रष्टाचारका गतिविधिको दृष्टिकोणबाट मात्र नभई जासुसी तथा गुप्तचर गतिविधिको सम्भावित केन्द्रका रूपमा समेत अध्ययन गर्नुपर्ने धारणा राखे।
विशेषगरी नेपालको भूराजनीतिक अवस्थितिका कारण काठमाडौंमा आन्तरिक राजनीतिक शक्ति संरचना र बाह्य रणनीतिक चासोबीच हुन सक्ने अन्तरक्रियालाई गम्भीरतापूर्वक बुझ्नुपर्ने उनको भनाइ छ।
उनका अनुसार शक्ति आर्जनका लागि हुने भ्रष्टाचार, प्रभाव विस्तारका संयन्त्र र सम्भावित जासुसी गतिविधिबीचको अन्तरसम्बन्धले राष्ट्रिय सुरक्षा, राजनीतिक स्वायत्तता र राज्यका संस्थाहरूको विश्वसनीयतामा चुनौती सिर्जना गर्न सक्ने भएकाले यस विषयमा तथ्यमा आधारित अनुसन्धान आवश्यक छ।
‘हाम्रो पुस्ताले काठमाडौंको आन्तरिक शक्ति संरचना र नेपालको भूराजनीति दुवै बुझ्न सक्नुपर्छ। सतहमा देखिएका घटनालाई मात्र हेरेर पुग्दैन। त्यसको ऐतिहासिक पृष्ठभूमि, शक्ति सञ्चालनको प्रक्रिया, बाह्य रणनीतिक चासो र राष्ट्रिय सुरक्षासँग जोडिएका आयामसमेत विश्लेषण गर्नुपर्छ,’ उनले भने।
पन्तले यस्ता विषयलाई व्यापक राष्ट्रिय बहस, अनुसन्धान र नीतिगत संवादमा ल्याउनु नै ‘एआईको युगमा नेपाल’ अभियानको सान्दर्भिकता रहेको बताए।





















प्रतिक्रिया