Logo

राजनीति

विगतको समीक्षा नगरी एमालेको आगामी यात्रा सहज छैन: शङ्कर पोखरेल



काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विगतमा पार्टी र राज्यसत्ता सञ्चालनका क्रममा प्राप्त अनुभवको समीक्षा तथा विश्लेषण गरेर मात्रै आगामी राजनीतिक कार्यभार तय गर्नुपर्ने बताएका छन् ।

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीले आफ्ना कमजोरीको समीक्षा गर्दै नयाँ चुनौतीको सामना गर्नुपर्ने बताए ।

उनले भने, ‘राज्यसत्ता सञ्चालनका सन्दर्भमा हाम्रा अनुभवको जगमा आगामी कार्यभार तय गर्नुपर्ने आवश्यकता छ । विगतको समीक्षा नगरी र त्यसको सही विश्लेषण नगरी अगाडिको यात्रा तय गर्न सकिने अवस्था छैन । चुनौतीको सामना गर्न नयाँ सन्दर्भअनुसार अघि बढ्नुपर्छ भन्ने मान्यताका आधारमा हामी अगाडि बढिरहेका छौँ ।’

उनले २०८२ साल भदौ २३ र २४ गतेका घटनाले एमालेको राजनीतिक जीवनमा ठूलो धक्का पुगेको उल्लेख गरे । पार्टीको नेतृत्वमा सरकार रहेका बेला मुलुकमा भएका ती घटनाले पार्टीको भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको उनको भनाइ थियो ।

पोखरेलले उक्त घटनापछि मुलुकको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको एमालेको विश्लेषण रहेको बताए । सोही विश्लेषणका आधारमा भूराजनीतिक चुनौतीको सामना गर्न योजना बनाएर अघि बढ्ने प्रयास गरिएको उनले उल्लेख गरे ।

उनले भने, ‘२०८२ को भाद्र २३ र २४ गतेको घटनापछाडि हाम्रो पार्टीको जीवनमा सर्वाधिक ठूलो धक्का लाग्यो । हाम्रै पार्टीको नेतृत्व रहेको समयमा मुलुकमा जुन प्रकारको घटना घट्यो त्यसले स्वभाविक रुपमा हाम्रो पार्टीको भविष्यमाथि गम्भिर प्रश्न खडा गर्यो । त्यसलाई सामना गर्नका लागि हामीले निरन्तर प्रयत्न गर्यौं । खासगरी भदौ २३ र २४ पछाडि मुलुकको राजनीतिक प्रतिगमनतर्फ उन्मुख भैइरहेको हाम्रो विश्लेषण रह्यो । त्यो विश्लेषणका आधार माध्यमबाट भूराजनीतिक संयन्त्रको सामना गर्नका लागि योजना बनायौं र त्यसका आधारमा अगाडि बढ्ने प्रयत्न गर्यौं ।’

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार १४:११   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।