काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार र छठ पर्वका समयमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।
प्राधिकरण सञ्चालक समितिको बैठकअघि कार्यकारी निर्देशक तथा कर्मचारीसँग छलफल गर्दै मन्त्री श्रेष्ठले चाडपर्वका समयमा बढ्न सक्ने विद्युत् मागको पूर्वानुमान र विश्लेषण गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
चाडपर्वका बेला विद्युत् खपत बढ्न सक्ने भएकाले मागअनुसार पर्याप्त विद्युत् उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए। साथै, कुनै पनि क्षेत्रमा अनावश्यक विद्युत् कटौती हुन नदिन आवश्यक तयारी गर्न पनि उनले प्राधिकरणका अधिकारीहरूलाई आग्रह गरे।
मन्त्री श्रेष्ठले चाडपर्वलगत्तै सुरु हुने सुख्खायाममा विद्युत् आपूर्ति व्यवस्थापनलाई समेत प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। त्यसका लागि आन्तरिक विद्युत् उत्पादन र आयातको सम्भावनाबारे विश्लेषण गरी पूर्वतयारी गर्न उनले प्राधिकरणलाई भनेका हुन्।
सुख्खायाममा हुन सक्ने विद्युत् माग र उपलब्ध आपूर्तिको यथार्थ मूल्यांकन गर्न निर्देशन दिँदै उनले आपूर्ति व्यवस्थापनका लागि तत्काल चाल्नुपर्ने कदमसहितको विस्तृत कार्ययोजना आगामी बैठकमा पेस गर्न पनि आग्रह गरेका छन्।





















प्रतिक्रिया