काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो त्रैमासिकमा रु. २३९.३ करोड खर्च भएको छ । त्यसमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताए ।
उनका अनुसार महाकाली सिंचाइ आयोजना (कञ्चनपुर) ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत हासिल गरेको छ । आयोजनाले रु. ४३.७ करोड खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो।
महानिर्देशक रजौरियाले त्रैमासिक लक्ष्यको तुलनामा बबई सिंचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा सिंचाइ आयोजनाले ८०.२ प्रतिशत र रानी जमरा कुलरिया सिंचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेको बताए ।
‘यी चार ठूला आयोजनाले मात्र रु. १३९ करोड खर्च गरेका छन्, जुन विभागको कुल खर्चको ५८ प्रतिशत हो,’ उनले भने ।
विभागकाअनुसार प्रगन्ना-बड्कापथ (दाङ) ले ८८.२ प्रतिशत प्रगति गरेको छ । गहिरो ट्युबवेल सिंचाइ आयोजना र सिंचाइ संस्थागत विकास कार्यक्रमले शत प्रतिशत लक्ष्य पूरा गरेका छन् ।
‘तयारी पुगेका आयोजनामा बजेट र काम दुवै अघि बढेका छन् । दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई पनि यही गतिमा ल्याउनु हाम्रो प्राथमिकता हुनेछ,’ महानिर्देशक रजौरियाले भने।





















प्रतिक्रिया