Logo

प्रमुख समाचार

हिन्दूराष्ट्र तथा राजसंस्था पुनर्स्थापना राप्रपाको उद्देश्य : थापा



बुधबार ताप्लेजुङबाट शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको मेची–महाकाली स्वाभिमान राष्ट्रिय अभियान झापा आइपुगेको छ । ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा पूजाअर्चना गरी बुधबार शुरु भएको अभियान बिहीबार झापा आइपुगेको हो ।

झापाको बिर्तामोडमा यात्रालाई स्वागत गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले आफूहरू देश र भगवानको गीत गाउँदै हिँडेको बताए । उनले यो अभियान कसैका विरुद्ध लक्षित नभई देशमा सुशासन कायम गराउनका लागि आयोजना गरिएको उल्लेख गरे ।

देशको मुख्य पहिचान हिन्दूराष्ट्र र राजसंस्थालाई पाखा लगाएकाले त्यसको पुनर्स्थापना अभियानको उद्देश्य रहेको उनको भनाइ थियो । उनले सरकारले देशमा रोजगारीको अवस्था पनि सिर्जना गर्न नसकेको भन्दै देश भ्रष्टाचारमा डुबेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले वाइड बडी, सुन तथा एनसेल काण्डका विषय पनि कुरा उठाएका थिए । सो अवसरमा अध्यक्ष थापाले हिजो ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत सातजनाको निधन भएकोमा गहिरो दुःख व्यक्त गरे ।

कार्यक्रममा बोल्दै राप्रपा महामन्त्री राजेन्द्र लिङदेनले ०४६ पछिका राजनीतिक दलका नेताका सम्पत्ति छानबिन हुनुपर्ने माग गरे । साना कर्मचारीलाई कारबाही गरेजस्तो गरेर ठूलालाई नछुँदा भ्रष्टाचार नियन्त्रण नहुने उनको भनाइ छ । उनले जातका आधारमा नभई गरिबीको रेखामुनि बाँच्न विवश जनताका लागि आरक्षणको व्यवस्था हुनुपर्ने बताए ।

कार्यक्रममा वरिष्ठ नेता दीपक बोहोरा, नेताहरू टंक ढकाल, राजीव पराजुली तथा बुद्धिमान तामाङलगायत बोलेका थिए । अभियान आजै झापाबाट पश्चिम लाग्ने बताइएको छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार  ११ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।