Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओलीसँग अर्थमन्त्रीको सम्बन्ध बिग्रियो, राजीनाको मुडमा डा.खतिवडा



कम्युनिस्ट सरकारका अर्थमन्त्री डा.युवराज खतिवडा व्यापारीहरूको कार्यशैलीबाट वाक्क दिक्क भएर राजीनामा दिनेसम्मको मुडमा पुगेका छन् ।व्यापारीहरूले अर्थमन्त्री डा.खतिवडालाई क्रस गरेर सिधै प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग भेट्न थालेपछि अर्थमन्त्रीको राजीनामाको कुरा बाहिर आएको हो ।

उच्च स्रोतका अनुसार डा.खतिवडाले ओलीलाई आफूले राजीनामा दिन तयार रहेको सन्देश पठाएका छन् ।ओलीले डा.खतिवडाको राजीनामाका बारेमा केही जवाफ नदिएको अर्थमन्त्रालय निकट उच्च स्रोतले जनाएको छ ।

उद्योगी, व्यापारीहरूले अर्थमन्त्री डा.खतिवडाविरुद्ध प्रधानमन्त्री ओलीसँग बालुवाटारमा गएर कुरा लगाउने तथा काम गर्न नसकेको भनेर कुरा काट्न थालेपछि बालुवाटारसंग अर्थमन्त्रीको सम्बन्ध चिसिएको स्रोतको भनाइ छ ।

यद्यपि, बालुवाटार निकट उच्च स्रोतले अर्थमन्त्री डा.खतिवडाको राजीनामाको सूचनाका बारेमा अनभिज्ञता प्रकट गरेको छ । ‘प्रधानमन्त्रीज्यूसँग अर्थमन्त्रीको भेटघाट नियमित हुने गरेको छ’, बालुवाटार निकट उच्च स्रोतले भन्यो, ‘अर्थमन्त्रीको राजीनामाको कुरा थाहा भएन ।’

सांसद समेत नरहेका डा.खतिवडा अर्थमन्त्री बनाएर ओलीले पछि राष्ट्रिय सभाको सांसदमा मनोनीत गरेका हुन् । आफ्नै गृहजिल्ला झापाका डा.खतिवडालाई राजनीतिकभन्दा पनि अनुभवकका आधारमा मन्त्री बनाएका थिए ।

डा.खतिवडा अर्थमन्त्री बनेसँग सेयर कारोबार कहिल्यै पनि माथि उठ्न सकेन । सेयर कारोबार ओरालो लागेको लागै भएपछि अर्थमन्त्री डा.खतिवडाविरुद्ध लगानीकर्ताहरूले आन्दोलन नै गरेका थिए ।

डा.खतिवडाले राम्रोसँग काम गर्न नसकेको भनेर नेकपाका नेता र कार्यकर्ताहरूले आलोचना पनि गर्दै आएका छन् । डा.खतिवडाले नै निर्वाचनमा गरिएको प्रतिवद्धताअनुसार वृद्ध भत्ता बढाउन अस्वीकार गरिदिएका थिए । वृद्ध भत्ता नबढेपछि कम्युनिस्ट सरकारको आलोचना हुँदै आएको छ ।

ओलीको इच्छामा डा.खतिवडा २०७४ फागुन ४ गते अर्थमन्त्री बनेका थिए । ईश्वर पोखरेल अर्थमन्त्री बन्ने चर्चा चलिरहेका बेला कसैले पनि अनुमान नगरिएका डा.खतिवडा अर्थमन्त्री बनेपछि तत्कालीन एमालेभित्र ठूलो विद्रोह समेत भएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आईतवार ११:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।