Logo

अर्थ

करिब एक खर्ब सार्वजनिक ऋणको ब्याज भुक्तान



काठमाडौं ।सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षमा ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ। विनियोजित बजेटको करिब २३.६५ प्रतिशत रकम पहिलो त्रैमासमै खर्च भएको हो।

कार्यालयका अनुसार असोज मसान्तसम्म मुलुकको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब ९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। उक्त ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ४६ प्रतिशत हो।

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.१३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत रहेको कार्यालयका अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए।

सरकारले विकास निर्माणका परियोजना सञ्चालन तथा सार्वजनिक खर्च व्यवस्थापनका लागि आन्तरिक र बाह्य स्रोतबाट ऋण लिने गरेको छ। सार्वजनिक ऋण सरकारको आम्दानी र दायित्व व्यवस्थापनको महत्त्वपूर्ण स्रोतका रूपमा रहँदै आएको छ।

सार्वजनिक ऋण व्यवस्थापनअन्तर्गत ऋण परिचालन, सरकारी जमानत, साँवा तथा ब्याज भुक्तानी र ऋण पुनर्संरचनासम्बन्धी काम पर्दछन्। कार्यालयले सार्वजनिक ऋणको लागत तथा वित्तीय जोखिम न्यूनीकरण गर्दै ऋण दायित्वलाई दिगो बनाउने उद्देश्यले व्यवस्थापन गर्दै आएको जनाएको छ।

आन्तरिक ऋणलाई अल्पकालीन स्रोतका रूपमा लिइन्छ। यसअन्तर्गत ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रमार्फत सरकारले स्रोत जुटाउने गर्छ।

त्यस्तै, बाह्य ऋणलाई दीर्घकालीन स्रोतका रूपमा लिइन्छ। सरकारले विश्व बैंक, एसियाली विकास बैंकलगायत अन्तर्राष्ट्रिय वित्तीय संस्था तथा विभिन्न विदेशी सरकारबाट यस्तो ऋण प्राप्त गर्दै आएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार २१:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।