काठमाडौं । दूधको मूल्य बढाउन डेरी क्षेत्रका सरोकारवालाहरूबीच सहमति जुटेको छ । करिब चार वर्षदेखि दूधको मूल्य वृद्धि नभएको भन्दै किसान, दुग्ध उत्पादक सहकारी तथा उद्योगीहरूले मूल्य बढाउनुपर्नेमा एकमत भएका हुन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डको हलमा बिहीबार दूधको उत्पादन लागतसम्बन्धी अध्ययनका लागि आयोजित छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले दूध उत्पादन तथा प्रशोधनमा बढेको लागतलाई आधार बनाएर वैज्ञानिक ढंगले मूल्य समायोजन गर्नुपर्ने धारणा राखेका छन् ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले पछिल्लो चार वर्षदेखि दूधको मूल्य नबढ्दा किसानदेखि उद्योगीसम्म समस्यामा परेको बताए । उनले सबै वस्तुको मूल्य बढे पनि दूधको मूल्य स्थिर रहनु उपयुक्त नभएको उल्लेख गरे ।
उनले भने, ‘दुधको मूल्य नबढेको लगभग चार वर्ष भयो । सबै कुराको मूल्य बढिरहेको बेलामा दुधको मात्र मूल्य नबढ्दाखेरि अप्ठ्यारो भयो भनी किसान, उद्योगी, हामी छलफलमा बस्यौँ । यसमा सबै जनाले मूल्य बढ्ने कुरामा सबैको एकरूपता भयो । तर कति बढ्ने भन्ने कुराको यति नै बढाउने भन्ने विषय हुँदैन । यसको सबै कुराहरू क्यालकुलेसन गर्नुपर्यो ।’
दूधको मूल्य निर्धारण गर्दा किसानको उत्पादन लागत, उद्योगीको खर्च तथा बजार मूल्यमा आएको परिवर्तनलाई अध्ययन गर्नुपर्ने उनको भनाइ छ । सरोकारवाला संघसंस्थाले आफ्नो धारणा लिखित रूपमा बोर्डमा पेस गर्ने र बोर्डले अध्ययन गरी मन्त्रालयमा सिफारिस गर्ने प्रक्रिया अघि बढेको उनले बताए ।
दूधको मूल्य वृद्धिको माग गर्दै किसानहरूले आन्दोलन गर्ने घोषणा गरेको विषयमा दाहालले आन्दोलनभन्दा वार्ता र छलफलबाट समस्या समाधान गर्नुपर्ने बताए ।
उनले भने, ‘आन्दोलनले आफैँ समस्या समाधान हुँदैन। वार्तामा छलफल गरेर सरकारले इनिसिएसन लिन्छु भनेकै छ । बोर्ड पनि एउटा सरकार मातहतकै एउटा बडी भएको हुनाले बोर्डले म गर्छु भनेको छ । उहाँहरूले बोर्डले गर्दै गर्दागर्दै अथवा मन्त्रालय गर्ने कुरामा आन्दोलन गर्छु भन्नुभएको हैन । यदि भएन भने आन्दोलन गर्छु भन्नुभएको हो, भएन भने त आन्दोलन गर्न परिहाल्छ ।’
यस्तै, केन्द्रीय दुग्ध सहकारी संघ नेपालका अध्यक्ष अमरबहादुर कुँवरले किसानको समस्या र मर्कालाई ध्यानमा राखेर दूधको मूल्य बढाउनुपर्ने माग आफूहरूले यसअघि नै सरकारसमक्ष राखेको बताए ।
उनका अनुसार संघले भदौ ८ गते नै दूधको मूल्य वृद्धि गर्न निर्णय गरी भदौ ९ गते सरकारलाई मागपत्र बुझाएको थियो । लामो समयसम्म मूल्य वृद्धि नहुँदा किसानहरू दूध उत्पादन व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको उनले बताए ।
उनले भने, ‘किसानहरूले यत्रो समयसम्म पीडा बोकेर बसिराखेको अवस्था छ । किसानहरूले धमाधम गाईहरूलाई दूध दिन खुवाउन आहारविहार खुवाउन नसकेर गाईहरू धमाधम धपाउन थालिसकेको अवस्था छ । त्यसले गर्दा यो समस्या हेर्ने, यसको आवाज उठाउने सारा कुरा केन्द्रीय दुग्ध सहकारी संघ हो ।’
कुँवरले दूधको मूल्य वृद्धि नहुँदा उत्पादन घट्दै गएको र किसानहरू व्यवसायबाट बाहिरिन थालेको बताए । किसानका मागप्रति जिल्ला दुग्ध उत्पादक सहकारी संघहरूले पनि विभिन्न स्थानबाट आवाज उठाइरहेको र त्यसप्रति आफ्नो संघको ऐक्यबद्धता रहेको उनको भनाइ छ ।
उनले सरकारले मंसिर १० गतेभित्र दूधको नयाँ मूल्य घोषणा गर्ने र मंसिर १६ गतेदेखि लागू गर्ने अपेक्षा गरेको बताए ।
उनले भने, ‘आशा छ हामीलाई पक्कै पनि कम्ती दश गतेभित्र सरकारले मूल्य घोषणा गरेको कुरा सुन्न पाउनेछौँ र सोह्र गतेबाट पक्कै यो लागू हुनेछ र हुनै पनि पर्छ। यदि अन्यथा भयो भने किसानहरू यसमा सहेर बस्न सक्ने अवस्था हुँदैन। सडकमा आएर भने पनि आफ्नो अवस्थाको प्रदर्शन किसानहरूले गर्छन्।’
कुँवरले छलफल सकारात्मक रूपमा सम्पन्न भएको भन्दै सरकारबाट मूल्य वृद्धि हुनेमा आफूहरू आशावादी रहेको बताए । किसानका माग सम्बोधन नभए आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने उनको चेतावनी छ ।
छलफलमा सहभागी सरोकारवालाहरूले दूधको उत्पादन तथा प्रशोधन लागतको अध्ययन गरी मूल्य वृद्धिको आधार तय गर्नुपर्नेमा जोड दिएका छन् । बोर्डले सरोकारवालाहरूबाट प्राप्त सुझाव र आफ्नो अध्ययनका आधारमा मन्त्रालयलाई सिफारिस गर्नेछ ।




















प्रतिक्रिया