Logo

प्रमुख समाचार

सीके राउत सम्झौता प्रकरणमा नेकपाभित्रको ‘एमाले गुट’ प्रष्टियो को कता ?



पृथकतावादी मधेस आन्दोलनमा सक्रिय रहेका डा. सीके राउत र गृहमन्त्रालयबीच भएको ११ बुँदे सम्झौताका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको तत्कालिन एमाले गुट प्रष्टिएको छ ।

नेकपाभित्र हुने अन्य राजनीतिक विषयमा पनि बेलामौका पक्ष र विपक्षमा उत्रिने नेताहरू भने राउत प्रकरणमा मिडिया, सोसियल मिडिया र बैठकमा पनि खुलेरै पक्ष विपक्षमा उत्रिए ।

सम्झौता हस्ताक्षर र आदानप्रदान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा, सरकारका अन्य मन्त्री र केही नेताका सामु भएको थियो । गृहमन्त्री थापा र राउतले सम्झौता आदान प्रदान गरेका थिए ।

ओलीको साथ को–को ?

सीके राउतसँग भएको सम्झौता विखण्डन अन्त्यका लागि राम्रो कदम भएको नेकपा महासचिव विष्णु पौडेलले बताएका थिए । उनले उक्त सम्झौताले मधेसमा छरिन थालेको पृथकताको सोचको अन्त्य गर्दै राउतलाई मूलधारको राजनीतिमा तानेको बताए ।

ओलीको यो प्रयत्नले मुलुकमा अमनचयन कायम हुने विश्वास नेकपा नेता तथा ५ नम्बर प्रदेश मुख्यमन्त्री शंकर पोखरेलको भनाई छ । उता, एक नम्बर प्रदेश मुख्यमन्त्री शेरधन राईलगायतले पनि राउतसँगको सम्झौताको स्वागत गरेका थिए ।

युवा संघ अध्यक्ष रमेश पौडेलले त यो कामको विरोध गर्नेलाई बहसमा आउन खुला चुनौति पनि दिएका छन् ।

प्रायः एमालेभित्र ओली गुटमा रहेकाले सम्झौताको समर्थन गरेका छन् ।

विरोधी कित्तामा को उभिए ?

सँधै ओलीविरोधी कित्तामा उभिएका भीम रावलले उक्त सहमतिमा आपत्ति नै जनाएका छन् । उनले प्रयोग भएका शव्दावलीमा पनि ठूलो आपत्ति जनाउँदै स्थायी कमिटीको बैठक डाक्न सार्वजनिक फोरमबाट नै माग गरेका छन् ।

सहमतिपत्रमा लेखिएको ‘स्वतन्त्र मधेस गठबन्धन’सँग सहमति भन्ने विषयमा उनको असहमति थियो । उनी भन्छन्,‘यो दुई देशबीच भएको सम्झौता जस्तो छ । लेखिएका शव्दावली र विभिन्न विषय पनि त्यसरी नै प्रस्तुत छ । देश स्वतन्त्र हुन्छ । देशभित्रको एउटा भाग कसरी स्वतन्त्र भन्ने, सरकारले किन मान्यो ?’

यता, ओली कित्तामा रहेका र पछिल्लो पटक प्रचण्ड पक्षमा रहेका सचिवालय सदस्य बामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेता भने सम्झौताविरुद्ध उभिएका छन् । गौतम तत्कालिन एमालेमा ओली कित्ताका नेता हुन् ।

जसले मुख खोलेनन्

यस प्रकरणमा केही बरिष्ठ नेताले भने मुख खोलिसकेका छैनन् । माधवकुमार नेपाल, झलनाथ खनाल, इश्वर पोखरेललगायतका नेताले भने सहमतिका विषयमा खासै बोलेका छैनन् ।पूर्वमाओवादीका नेताहरूले पनि सम्झौताका विषयमा नकारात्मक या सकारात्मक खरो टिप्पणी गरिसकेका छैनन् ।

प्रकाशित मिति : फाल्गुन २५, २०७५ शनिबार  ८ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।