Logo

राजनीति

रामचन्द्र पौडेल भन्छन् ; कम्युनिस्ट, सीके र राजावादीहरू एउटै हुन्



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली समृद्धिको नारा लगाएर मुलुकमा सर्वसत्तावाद लाद्ने अभियानमा लागेको बताएका छन् ।धादिङ जिल्लाको सिम्लेमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले ओलीले सबै अधिकार आफूमा केन्द्रित गरेर सर्वसत्तावादी बन्न लागेको बताए ।

उनले कांग्रेस रहँदासम्म सर्वसत्तावादको सपना नदेख्न पनि ओलीलाई चेतावनी दिए ।‘प्रधानमन्त्री खड्गप्रसाद ओली मुलुकको समृद्धि नारा लगाइरहनुभएको छ’, उनले भने, ‘मुलुक समृद्ध हुने काम एक वर्षमा केही गर्नुभएको छैन ।’ उनले ओलीजी सबै अधिकार आफैमा केन्द्रित गरेर सर्वसत्तावाद लाद्ने अभियानमा रहेको बताए । कांग्रेसको रहँदा ओलीको सर्वसत्तावाद ल्याउने सपना पूरा नहुने वरिष्ठ नेता पौडेलले बताए ।

कम्युनिष्टप्रति आक्रमक देखिएका पौडेलले कम्युनिष्ट र राजावादीहरूले मुलुकलाई अस्तव्यस्त बनाएको बताए ।उनले अहिले सत्तामा भएका कम्युनिष्ट हिंसामा उत्रिएका कम्युनिष्ट र सीके राउतहरूफेरि मुलुकलाई अस्तव्यस्त बनाउन लागेको आरोप लगाए । पौडेलले भने, ‘हिजो सत्तामा भएका राजा र सत्ता बाहिर रहेका कम्युनिष्टको अतिवादले मुलुकलाई अस्तव्यस्त बनायो ।

आज फेरि सत्तामा कम्युनिष्ट अतिवाद, अनि हिंसामा विप्लवको अतिवाद र तराई सीके राउतको अतिवाद छ । यी अतिवादहरू कुनै न कुनै रुपमा एकैठाँउमा भएर मुलुकलाई अस्तव्यस्त बनाउन लागेका छन् ।’वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरूले दुईतिहाई मत दिएकोमा जनता पछुताउन लागेको बताए । उनले पूरा गर्नै नसक्ने आश्वासन बाँडेर कम्युनिष्टले जनतालाई झुक्याएको बताए ।

पौडेलले हिंसा गरेर देशलाई अस्तव्यस्त बनाउने कम्युनिष्टहरूले अहिले आदर्शको कुरा गर्न नसुहाउने स्पष्ट पारे । कम्युनिष्टहरूको दुई तिहाईको सरकारको एकवर्षको समय खेर गएको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

‘प्रधानमन्त्रीजी कांग्रेसले शुरु गरेको विकासको अभियानलाई ठप्प पारेर समृद्धिको अभियान भने फलाकी रहनुभइएको छ’, उनले भने, ‘प्रतिपक्षले काम गर्न दिएन भन्दै हिड्नुभएको छ । असत्य प्रचार भयो भन्दै हुनुहुन्छ । के–के भयो काम फेरिहस्त भने हुन्छ नि जनतालाई किन गुमराहमा राख्ने ?’प्रतिपक्षले काम गर्न दिएन भने बोल्दै हिड्न प्रधानमन्त्री ओलीलाई लाज हुँदैन ? भनेर कांग्रेसका वरिष्ठ नेता पौडेलले प्रश्न गरे ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार ०४:२९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।