Logo

विचार / ब्लग

लगानी सम्मेलन र कृषि क्षेत्रको प्राथमिकता



नेपाल लगानी सम्मेलन २०१९ को भब्यताका साथ तयारी भई रहेको छ । यही शुक्रबार र शनिबारका काठ्माडौको सोल्टी होटेलमा हुने लगानी सम्मेलनको लागि सरकारले प्राथमिकताका आधारमा आयोजना बास्केट तयार गरेको छ । सरकारको तर्फबाट ५३ वटा र ११ वटा नीजिक्षेत्रको तर्फबाट गरि जम्मा ७१ वटा आयोजनाहरुको विस्तृत अध्ययन विवरण तयार गरेर लगानीका लागि खुला गरेको छ ।

यातायात, उर्जा र पर्यटन पूर्वाधार विकास आयोजनाहरुलाई महत्व दिएको लगानीयोग्य आयोजनाहरुको बास्केटमा ८ वटा कृषि पूर्वाधारका आयोजनाहरु समेत परेका छन। सधै राज्यको महत्वमा पर्ने तर उपेक्षित आर्थिक क्षेत्रको रुपमा रहेको यस क्षेत्रका आयोजनाहरुलाई लगानी परियोजनामा राख्नु आम कृषकहरुको लागि पक्कै पनि एक सुखद खबर हो ।

कृषि उत्पादनको लागि आवश्यक रसायनिक मल (Chemical Fertilizer) उत्पादनका लागि नेपालमा नै रसायनिक मल उद्योग स्थापनाको लागि कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेतमा रसायनिक मल उद्योग आयोजनालाई सम्मेलनले समेतेको छ । सार्वजनिक तथा निजी साझेदार वा निजी मोडेलमा विकास गर्ने सो आयोजनाको अनुमानित लागत ६५ करोड अमेरिकन डलर रहेको छ ।

कृषकहरुको उत्पादन बृध्दि गर्न र आवश्यक किटनाशक औषधीको सधै अभाव हुने गरेको अवस्थामा नेपालमा नै उत्पादन गर्न सक्ने हो भने त्यसले नेपालको कृषि उत्पादनमा योगदान गर्ने छ । हाल वर्षेनि नेपालले भारतबाट रसायनिक मलको आयात गर्ने र सयममा आधिकारिक निकायले खरिद गर्न नसक्ने तथा मलमा कालोबजारी हुने समस्याले नेपाली कृषकहरु सधै मारमा पर्ने गरेका छन।

कृषि उत्पादनको बजार ब्यवस्थापनको लागि एकीकृत कृषिबजार पूर्वाधार विकास कार्यक्रम अन्तरगत सुर्खेत, चितवन, बनेपा, गादावरी, पोखरा, पर्सा, तिलोत्तमा र मोरङमा एकीकृत कृषि पूर्वाधार विकास गर्ने आयोजना समेत आउँदो सम्मेलनमा लगानीको लागि प्रस्ताव गरिएको छ । करिब ३ करोड ३४ लाख २० हजार अमेरिकी डलर बराबरो लागत रहेको प्रस्तावित आयोजनाहरुले बहुप्रयोग तथा अत्याधुनिक सुविधा सम्पन्न कृषि बजारको निर्माण तथा विकास गर्ने छ ।

नेपाल सरकारले कृषिक्षेत्रलाई प्राथमिकता क्षेत्रका रुपमा विकास गर्न बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्यरुपमा सहुलियतपूर्ण कर्जाको ब्यवस्था गरेको छ । कृषिक्षेत्रमा लगानी बढाइरहेको समयमा हुन लागेको लगानी सम्मेलनले पनि यस क्षेत्रमा लगानी आकर्षण गर्ने अपेक्ष गर्न सकिन्छ । पछिल्लो सयममा नयाँ पुस्ताका युवाहरु पनि यस क्षेत्रमा आकर्षिक भइरहेका छन।

कृषि क्षेत्रमा सम्भावना देख्ने युवाहरु ब्यवसायिक कृषि ब्यावसायमा आकर्षित भएको पाइन्छ । लामो समय विदेशमा बसेर फर्केका युवाहरु आधुनिक कृषि ब्यवसायमा आइरहेको देखिन्छ । यसरी विस्तारै ब्यावसायिक सम्भावना देखाउन थालेको कृषिक्षेत्रको उत्पादन बढाउन र कृषकलाई आवश्यक बजार तथा अन्य पूर्वाधारहरुको विकासको अभाव रहेको छ ।

देशको कुल ग्राहष्ठ उत्पादनको करिब २९ प्रतिशत हिस्सा लिने कृषि क्षेत्रमा प्रयाप्तमात्रमा पूर्वाधार विकासका लागि लगानी गर्न र आवश्यक निती नियमहरुको निर्माण गर्न सरकार असफल भएको देखिन्छ । सरकारले विभिन्न कृषि पकेट क्षेत्र निर्माण गर्न भने पनि त्यसले प्रारुप लिन सकेको छैन । सरकार तथा यसका नियमनकारी निकायहरुसँग यस सम्बन्धी तथ्याङ्कको लगत पाइदैन ।

केहि समय अगाडीको कुरा हो म र मेरो साथी नेपालमा कागती खेतीको बारेमा अध्ययन गरिरहेका थियौ । सो शिलशीलामा हामीले आवश्यक तथ्याङ्क संकलन गर्नको लागि कृषि मन्त्रालय सिंहदरबार पुग्यौ र सम्बन्धित ब्यक्तिसँग र शाखामा अनुरोध गर्यौ । सो तथ्याङ्क शाखाका अधिकारले हामीसँग छैन त्रिभुवन विश्व विद्यालय, अन्तरगतको सुन्ताल जातको फलफुल अध्ययन केन्द्रमा जान सल्लाह दिनुभयो ।

उहाँको सल्लाह अनुरुप सो केन्द्रमा पुगियो । त्यहाँ पुगेर कार्यालय (केन्द्र) प्रमुखज्युसँग कुरा गर्दा उहाँले तथ्याङ्क दिनेको कुरा भन्दा पनि सरकारकोले यो गरेन त्यो गरेन भने उल्टै सरकारमा रहेकाले नै सरकारको गुनासो र आलोचना गर्नु भयो । त्यस केन्दमा पनि हामीले तथ्याङ्क पाएनौ । केन्द्र प्रमुखको सल्लाह बमोजिम फेरी हामी पुलचोक स्थित कार्यालमा आयौँ त्यो कार्यालयमा त झन केही पनि पाएनौ । यसरी हामी विभन्न स्थानमा कागतीको तथ्याङ्क संकलनको लागि सम्बन्धित स्थान र कार्यालयमा भौतारिदा पनि पाएनौ ।

कुनै पनि ब्यवसाय वा परियोजनाहरुको सफल ब्यवस्थापन र संचालनको लागि तथ्याङ्कको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ । सरकारका सरोकारवाल निकायहरुले आफ्नै काम प्रति गुनासो र दोष देखाउनु भन्दा आफ्नो काम इमान्दारीसँग गर्न सकेको खण्डमा त्यसले महत्व दिन्छ । सरकारले कृषि क्षेत्रको समस्याहरुको समाधन गर्नको लागि एकिकृत सुचना प्रणालीको विकास र संचालन गर्नु पर्छ जसले निति निर्माता , कृषक देखि अन्य सरोकारवालहरुलाई आवश्यक सुचना प्रवाह गर्छ ।

अर्को ठूलो समस्या भनेको कृषि क्षेत्रको ब्रान्डिङ्गमा समस्या छ । हामीले यस क्षेत्रलाई प्रतिष्ठित ब्यवसायको रुपमा कहिले पनि लिएनौ । यस क्षेत्रमा काम गर्ने मजदुर, ब्यावसायी तथा प्राविधिकहरुले आफ्नो योगदान अनुसारको सम्मान र इज्जत नपाएको महशुस गरिरहेका छन। हामीले जबसम्मा कृषि क्षेत्रलाई एक प्रतिष्ठित ब्यवसायको रुपमा लिन सकिदैन तवसम्म यस क्षेत्रमा नयाँ पुस्ता आकर्षित हुने र ब्यवसायिक रुपमा लाग्न सक्ने वातावरणको सिर्जना हुदैन।

कृषि क्षेत्र अनाधिकालसम्मको निरन्तर सम्भावना रहेको ब्यवसाय हो । सरकारले कृषि क्षेत्रमा रहेका समस्याहरुको निराकरण गर्न र दिर्घकालिन कृषि विकास परियोजना निर्माण गरी यस क्षेत्रमा नयाँ पुस्तालाई आकर्षण गर्न सक्नु परेछ । क्षिक्षा प्रणालीमा सुधारगरी सयम सापेक्ष प्रयोगात्मक कृषि क्षिक्षामा लगानी गर्नु पर्छ । नेपाल सरकारले हल्ला गरेको कृषक पेन्सन कार्यक्रम र कृषि बीमा कार्यक्रमलाई विशेष जोड दिएर कृषक र कृषि ब्यवसाय प्रबर्धन गर्नु जरुरी छ ।

नेपाल सरकारले आउँदो लगानी सम्मेलनमा लगानीका लागि तयार गरेको योजनाहरु अतिरिक्त योजनाको रुपमा नभई लगानीको लागि आकर्षणको रुपमा रहोस र सरकारले यदि यी आयोजनाहरुमा लगानीको बाचा कसैबाट प्राप्त नभएता पनि सरकार आफैँले लगानी गरेर पनि प्रस्तावित आयोजनाहरु समयमा नै सम्पन्न गर्न सकेमा वास्तवमा नेपाल सरकारले कृषि क्षेत्रमा महत्व दिएको विस्वास आम कृषक र समग्र कृषि क्षेत्रमा हुनेछ ।

Sudankumaroli@gmail.com

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार ०४:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।