Logo

समाचार

रेणु दाहालको महानगरमा घट्यो रहस्यमय घटना, परिवारै झुण्डिएको अवस्थामा भेटियो



नेपाली सेनामा कार्यरत एक सिपाहीकी श्रीमती, छोरा र छोरी एकैसाथ झुन्डिएको अवस्थामा फेला परेका छन् । प्रचण्डपुत्री रेणु दाहाल प्रमुख रहेको चितवनको भरतपुर महानगरपालिका–१८ शशीनगरमा उनीहरु रहस्मय तरिकाले मृत फेला परेका हुन् ।

भरतपुर शशिनगरको शहरी क्लिनिक टोलमा उनीहरु आफ्नै घरभित्र एकै ठाउँमा छुट्टा छुट्टै सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन् । नेपाली सेनामा कार्यरत रहेका नरबहादुर आलेमगरकी ३४ वर्षीय श्रीमती माया आलेमगर, अन्दाजी १४ वर्षकी छोरी विनिता मगर र अन्दाजी १२ वर्षका छोरा विवेक मगर आफ्नै घरभित्र सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले उनीहरूको हत्या हो या आत्महत्या हो भन्ने खुल्न नसकेको र यसबारे अध्ययन भइरहेको जनाएको छ । स्थानीयवासीले भने आमाले पहिला छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने बताउने गरेका छन् । अहिले तीनै जनाको शव भरतपुर अस्पतालमा लगिएको छ । शव परिक्षण गरेर घटनाको अध्ययन गर्ने प्रहरीले जनाएको छ ।

यसैबीच यता कपिलवस्तुमा पनि एउटा रहस्यमय घटना घटेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुर निवासी अनिता पौडेलको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमानसँग सम्बन्ध चिसिएपछि अदालतबाट अंश मुद्दा किनारा लाग्ने चरणमा रहेकै बेला गत फागुन १० गते अनिता पौडेलको हत्या भएको थियो । त्यसलगत्तै प्रहरीले एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।

हत्याको अनुसन्धान गर्दै जाँदा अभियुक्तलाई कपिलवस्तु प्रहरीले बुधबार पक्राउ गर्न सफल भएको हो । उनलाई शुक्रबार बिहान साढे ८ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले जानकारी दिए । पक्राउ परेका व्यक्तिको नाम, थरसहितको विस्तृत विवरण भने प्रहरीले खुलाएको छैन ।

प्रहरी स्रोतका अनुसार पौडेललाई केकसँग बेहोस हुने औषधि खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको छ । कपिलवस्तु प्रहरीले हत्याराको खोजी गर्न प्रहरी नायब उपरीक्षक रवि रावलको नेतृत्वमा टोली परिचालन गरेको थियो ।

त्यस्तै गत चैत १७ गते माथिल्लो डोल्पामा गएको हिउँपहिरोमा परी ३ तीर्थयात्री बेपत्ता भएका छन् । पाँच दिनदेखि तीर्थयात्री हराइरहे पनि अझैसम्म उनीहरूको खोजी कार्य सुरू भएको छैन ।

माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-३ मा पर्ने क्रिष्टल माउन्टेनमा फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ वेपत्ता भएका हुन् । क्रिष्टल माउन्टेनलाई दोस्रो कैलाश पर्वत पनि भनिन्छ ।

‘हिउँ परेको बेला क्रिष्टल माउन्टेन परिक्रमा गर्दा पुण्य कमाइन्छ भनेर गएका तीन जना १७ गतेदेखि हराइरहेका छन्,’ डोल्पा प्रहरी प्रमुख अवदेश कुमार विष्टले भने, ‘तर, खोज्न सक्ने अवस्था छैन ।’

डोल्पा सदरमुकामबाट हिँडेर घटनास्थल पुग्न ६ दिन लाग्छ । भारी मात्रामा हिउँ परेकाले घटनास्थलमा जान नसकिएको डीएसपी विष्टको भनाइ छ । ‘अहिले जाँदा फेरि अर्को दुर्घटना हुनसक्छ । अब हिउँ नपग्लिएसम्म खोज्न जान सकिँदैन,’ विष्टले भने । प्रदेश प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराउने काम मात्र भएको उनले बताए ।

यता काठमाडौंको लाजिम्पाटमा बिहीबार राति आगलागी हुँदा एक जनाको मृत्य भएको छ भने ४ जना घाइते भएका छन् । आगलागीमा परी ओखलढुंगाको पोखरी गाउँपालिका-२ का भेषबहादुर थापाको मृत्यु भएको हो । उनी ग्रुप फोर सेक्यूरिटी कम्पनी अन्तरगत होटल शंकरमा सुरक्षागार्ड थिए ।

नील सरस्वती मार्गमा रहेको धर्म महर्जनको ३ तले घरमा आगलागी हुँदा भाडामा बसेका उनको मृत्यु भएको हो । उनलाई उपचारका लागि अस्पताल लगिए पनि बाटैमा मृत्यु भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बागेटीले बताए ।

उनका अनुसार घटनामा घाइते हुने अन्यमा बर्दियाका विबेक शाही, उनकी श्रीमती गंगामाया शाहीसँगै चन्द्रमाया राई र बिना बस्नेत छन् । राई र बस्नेत उपचारपछि घर फर्किएका छन् भने शाही दम्पत्तिको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

हाल उनीहरुको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । बोगटीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार मध्यराति १२ बजे विद्युत् सर्ट भइ आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाको खबर पाएलगत्तै नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको वारुणयन्त्र आगोलाई नियन्त्रणमा लिन त्यहाँ पुगेको थियो । एक घन्टाभित्रमा आगो नियन्त्रणमा आए पनि त्यसअघि नै ठूलो क्षति भइसकेको थियो । घटनामा कति भौतिक क्षति भयो भन्ने यकिन भइसकेको छैन ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार १३:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।