Logo

समाचार

इन्जिनियरहरूको माग पुरा नभए सामूहिक राजीनामा दिने चेतावनी



पुनर्निर्माणमा कार्यरत इन्जिनियरहरुले आफ्ना माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।भूकम्पमा धेरै क्षति भएका ३२ वटा जिल्लामा कार्यरत इन्जिनियरहरुले आफूहरुलाई दिइदैँ आएको भत्ता निरन्तर रुपमा दिइनुपर्ने माग गरेका छन् । ठाउँ हेरेर ३५ देखि ७५ प्रतिशतसम्म भत्ता पाउँदै आएका उनीहरुले असारबाट भत्ता पाएका छैनन् ।

नेपाल पुननिर्माण प्राधिकरणसँग गत १३ गते भएको सम्झौता कार्यान्वयन गर्न प्राधिकरण तयार नभएकाले सामूहिक राजीनामा दिने तयारी गरेको प्राधिकरण राष्ट्रिय हकहित संरक्षण समितिकी उपाध्यक्ष विद्या बरालले बताइन् ।

‘निकै पर्खदा पनि सरकारले हाम्रा माग नसुनेकाले सामूहिक राजीनामा दिन नामावली संकलन गरिरहेका छौं’ बरालले भनीन् ।पुननिर्माण प्राधिकरणका सिइओ सुशीलकुमार ज्ञवाली र आन्दोलनरत समूहबीच भएको सहमतिमा आन्दोलनको माग सम्बोधन गर्न प्राधिकरण तयार भएको उल्लेख छ ।

प्राधिकरणले फेरि यस्तो प्रकारको आन्दोलन गर्ने अवस्था आउन नदिने समेत सहमतिमा हस्ताक्षर गरेको छ । प्राधिकरणअन्तर्गत झण्डै ४ हजार इन्जिनियरहरु करारमा कार्यरत छन् । सहमति गराउन नेपाल इन्जिनियरिङ एसोसियसनको पनि पहल रहेको थियो ।

इन्जिनियरहरुको तर्फबाट वार्ता टोलीमा ९ जना थिए । सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएपछि ३ दिनअघिदेखि सञ्चालन गर्दै आएको आन्दोलन १३ गते स्थगित भएको थियो । उनीहरुले सडक प्रदर्शन, विभिन्न कार्यालय घेराउ र कोणसभा गरेका थिए । उनीहरुलाई बबरमहलमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले पुननिर्माणको काममा परिचालन गर्दै आएको छ ।

दोलखामा कार्यरत भैरव धितालले सरकारले दिएको आश्वासनको समयसीमा कटेको बताउँदै भने–‘हामीलाई थुम्थुम्याउने काममात्र भयो, प्राधिकरण र सरकार जिम्मेवार भएनन्, सरकार जिम्मेवार नहुने थाहा पाएको भए आन्दोलन रोक्ने नै थिएनौँ, हामीलाई नराम्ररी फसाइयो ।’

पुननिर्माणमा इन्जिनियर, सव–इन्जिनियर र एसिस्टेन्ट सवईन्जिनियर भूकम्पछिको पुननिर्माणमा खटिएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार ०२:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।