Logo

राजनीति

कांग्रेसभित्रको विवाद मिलाउँने तयारीमा डा.शशांक कोइराला



नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढे आगामी निर्वाचनमा कसैले पराजित गर्न नसक्ने बताएका छन् ।नेपाल महिला संघ जिल्ला कार्यसमिति भक्तपुरले आइतबार आयोजना गरेको कार्यक्रममा डा.कोइरालाले कांग्रेसलाई एक बनाएर लैजानुको विकल्प नभएको बताए ।

‘कांग्रेसभित्रको विवाद समाधान गरेर अगाडि बढ्ने हो भने कांग्रेसलाई कसैले पराजित गर्न सक्दैन’, उनले भने, ‘त्यस्तो अवस्था सिर्जना गर्नुपर्छ । हामी मिल्नुपर्छ ।’कांग्रेसका महामन्त्री डा.कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको पनि बताए । उनले भने, ‘म पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु ।’

‘पार्टीलाई एकताबद्ध बनाएर लैजान सके कांग्रेसलाई कसैले जित्न सक्दैन’, डा.कोइरालाले भने, ‘कांग्रेस फेरि ठूलो पार्टी हुन्छ । त्यसमा सबैको सहयोग चाहिन्छ ।’कांग्रेस नेताहरूलाई पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्ने भनेर दवाव दिइरहेका बेला महामन्त्री डा.कोइरालाले विवाद समधान गर्ने बताएका छन् ।

डा.कोइरालाले मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको आरोप लगाए ।
‘मुलुक संघीयतामा गएपछि पनि कम्युनिस्ट सरकारले शक्ति आफूमा केन्द्रित गरेको छ’, उनले भने, ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीजीलाई निरंकुश बन्ने इच्छा पलाएको छ ।’

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार ०७:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।