Logo

प्रमुख समाचार

प्रतिबन्धित चन्द समूहका कार्यकर्ता भित्र्याउँदै सत्तारुढ नेकपा



पछिल्ला केही साता नेपालमा आतंककारी घटना बढेका छन् । राजधानी उपत्यकामा केहीे बम विस्फोटको घटनाको जिम्मेवारी दिने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नामको संगठनका केही नेता र कार्यकर्तालाई नेपाल प्रहरीले पक्राउ पनि गरेको छ ।

परन्तु, त्यस संगठनका मुख्य नेताहरूलाई भने प्रहरी पक्रन सकेको छैन । यसैबीच सोही संगठनका सदस्यहरू धमाधम सत्तारुढ दलमा प्रवेश गर्न थालेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष रहेका पूर्व माओवादी नेता पुष्पकमल दाहालले त चन्दसमेत आफ्नो पार्टीमा फर्कने विश्वास व्यक्त गरेका छन् । नेकपा (नेकपा)मा कसैले प्रवेश गर्ने वा नगर्ने भन्ने विषय सम्बन्धित व्यक्ति र पार्टीको चासोको विषय हो ।

परन्तु, सत्तारुढ दलले हिंसात्मक गतिविधिमा संलग्न भएको आरोप लागेकै व्यक्तिलाई भित्र्याउँदै संरक्षण गर्ने प्रवृत्ति भने जनसाधारणको पनि चासो र चिन्ताको विषय हो । आइतवार नेकपा (नेकपा)मा प्रवेश गरेका व्यक्तिमाथि पनि चुनावमा उमेदवारलाई सांघातिक आक्रमण गरेको मुद्दा चलेको थियो । सम्भवतः अहिलेसम्म पनि त्यो मुद्दा फैसला भइसकेको छैन ।

दक्षिण एसियाका अरू मुलुकहरूमा जस्तै नेपालमा पनि राजनीति दलको सदस्यता अपराधबाट उन्मुक्ति पाउने भरपर्दो माध्यम बन्दै आएको छ । त्यसमा पनि सत्तारुढ वा त्यससँग मिलेमतो भएका दलका सदस्यले गरेको अपराधमा प्रहरी प्रायः कुमदर्शक बन्छ ।

पीडितले जाहेरी दिन जाँदा पनि प्रहरीले लिन नमानेको वा उल्टै धम्क्याएको समाचार दिनहुँजसो सार्वजनिक हुने गरेको छ । यसैले जघन्य अपराध गरेर समाजलाई आतंकित पारेर पैसा असुल्ने र त्यही पैसा प्रयोग गरेर विलासिता पूर्वक जीवन यापन गर्ने वा राजनीतिक शक्ति आर्जन गर्ने प्रवृत्ति नेपाली राजनीतिको मूल प्रवृत्ति बन्न लागेको देखिएको छ ।

माओवादी आतंक शान्ति सम्झौता हुँदै सत्तामा पुगेको र हिंसात्मक विद्रोहका क्रममा भएका मानवता विरोध अपराध त्यसै सामसुम हुँदै गएको देखेपछि अरू अपराधीलाई पनि राजनीतिक संरक्षणमा गएर धाक र धन्दा जमाउने रहर बढेको हुनुपर्छ ।

मानवता विरोधी अपराधमा संलग्न भइसकेका व्यक्तिलाई राजनीतिक आवरणमा संरक्षण र उन्मुक्ति दिने प्रवृत्तिले अरूलाई पनि हिंसाको बाटामा लाग्न प्रेरित गर्ने देखिन्छ । माओवादी विद्रोहका बेला सुरक्षाकर्मी र माओवादीबाट भएका जघन्य अपराधका घटनामा कानुन बमोजिम कारबाही भएको भए सायद त्यसपछि कोही पनि हिंसाका बलमा राजनीति गर्न दुरुत्साहित हुने थिएनन् । तर, शान्ति हुन्छ भने यति सहँदा के भयो र भन्दाभन्दै समाजमा अपराधीहरूका सामु निर्दोष व्यक्ति उपहासका पात्र बन्ने अवस्था उत्पन्न भएको छ ।

नेत्रविक्रम चन्द वा उनका साथीहरूलाई पार्टीमा भित्र्याउन आतुर अध्यक्ष दाहाल तिनलाई अपराधबाट पनि उन्मुक्ति दिन उत्तिकै तयार छन् भने नेपाली समाज हिंसाको राजनीतिबाट कहिल्यै मुक्त हुनसक्तैन । विधिको शासनको सम्मान गर्ने हो भने चन्दको संगठनसँग वार्ता गर्दा पनि अपराधमा उन्मुक्ति दिइने सर्त राख्न मिल्दैन ।

राजनीतिक अभीष्टका लागि हिंसाको भरपूर प्रयोग गरेका र त्यसमा पछुतो पनि नमान्ने अध्यक्ष दाहाल र उनका सहकर्मीलाई अरूले मच्चाएको हिंसात्मक आतंक पनि आपत्तिजनक नलाग्न सक्छ । तर, सभ्य समाजका लागि त्यस्तो अवस्था स्वीकार्य हुनसक्तैन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष केपी शर्मा ओली त प्रधानमन्त्री पनि हुन् । विधिको शासनको सम्मान उनले त गर्नै पर्छ । यसैले प्रधानमन्त्री ओलीले पार्टीमा प्रवेश गर्दैमा अपराधबाट उन्मुक्ति नपाइने सन्देश स्पष्टसँग दिऊन् ! पार्टी प्रवेश अपराधबाट उम्कने जस्केलो नबनोस् ।

यो पनि पढ्नुहोस् 

विप्लव समूहमा लागेकाहरु पुरानै पार्टीमा फर्कंदा खुसी लागेको छ : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहमा लागेकाहरु पुरानै पार्टीमा फर्कंदा खुसी लागेको बताएका छन् । आज राजधानीमा विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य पदम राईलाई नेकपामा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।

उनले भने भ्रममा परेर गलत बाटोमा हिँडेकाहरू घर फर्कंदा खुसी लागेको छ, उनले भने, आफैँले हुर्काएको, नेता बनाएकाहरू बाटो बिराएर घर छाडेर के गरिरहेका होलान् भन्ने चिन्ता लागेको थियो।

पदम राईलाई याहांसम्म पुर्याउन आफूहरूको पनि उत्तिकै भूमिका रहेको स्मरण गर्दै प्रचण्डले भने , उहाँलाई नेता बनाउनमा हाम्रो पनि भूमिका थियो, बीचमा भ्रमको स्थिति बनेर अन्यत्र जानुभयो र अझ खारिएर, भोगेर गलत बाटोबाट सही बाटोमा आउनुभएको छ।

गलत बाटोमा लागेर राष्ट्र र जनताको हित हुँदैन भन्ने बुझेर राई पुरानै पार्टीमा फर्केको प्रचण्डले बताए। पार्टीले पनि राईको हिजोको त्याग, योगदार र बलिदान हेरेर समुचित जिम्मेवारी दिने पनि अध्यक्ष प्रचण्डले बताए।

मन्त्री पदसमेत सम्हालिसकेका राई पार्टीमा आइसकेपछि प्रदेश १ को नेकपा अझ बलियो बनेको उनको बुझाइ थियो। आफूहरूको नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने र उसकै नेतृत्वमा समृद्धि हासिल गर्ने लक्ष्य रहेको पनि अध्यक्ष प्रचण्डले बताए।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आईतवार ०९:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।