Logo

प्रमुख समाचार

गुठी विधेयकको विरोधमा नेपाली कांग्रेस (विपी) पनि



नेपाली कांग्रेस (विपी) ले गुठी विधेयकको विरोध गरेको छ । सरकारले संसद सचिवालयमा दर्ता गरेको विधेयकले गुठीलाई मास्ने काम गरेको भन्दै उसले आपत्ति जनाएको छ ।

आज एक विज्ञप्ति प्रकाशित गरी पार्टीले सरकारलाई तत्काल विधेयक फिर्ता लिन र गुठी बचाउनसमेत माग गरेको छ ।पार्टी महामन्त्री सुशीलमान शेरचनद्धारा प्रकाशित विज्ञप्तिमा गुठी र गुठियारलाई राज्यले कुनै सहयोग नगरेको अवस्थामा पनि उनीहरु आफ्नै ढंगले चल्दै र चलाउँदै आएकामा गुठीलाई प्राधिकरण मातहत राख्ने निर्णयले गुठीको मर्ममाथि प्रहार गरेको जनाइएको छ ।

संसदबाट पारित भएर विधेयक लागू भएमा बौद्ध धर्मका गुम्बाहरुका अधिनमा रहेका चल अचल सम्पत्ति, मुस्लिम समुदायका मस्जिदमा सरकारको नियन्त्रण हुने भन्दै पार्टीले विधेयकको विरोध गरेको छ ।

उसले सो संस्थाहरुमा राजनीतिक प्रभाव पारी नेकपा कार्यकर्ताको नियन्त्रमा जाने खतरा समेत औल्याएको छ । पार्टीका नेता तथा कार्यकर्ताले आज काठमाडौंमा विरोध -यालीसमेत निकालेका छन् ।

नेपालका संस्कृति, जात्रा तथा पर्व हेर्न विदेशबाट धेरै पर्यटकहरु आउने गरेकाले गुठीसम्बन्धी नयाँ व्यवस्थाले बैदेशिक मुद्रासमेत नआउने पार्टीको ठहर छ । निजी गुठीलाई सरकारी बनाउँदा संरक्षण कसले गर्छ भन्ने प्रश्नसमेत उठाइएको छ ।

गुठीसम्बन्धी विधेयकको विरोधमा गत आइतबार माइतिघरमा शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको लाठीचार्ज र दमनको पनि पार्टीले विरोध गरेको छ । घाइतेको उपचार सरकारले गर्नुपर्ने भन्दै उसले पक्राउ परेका प्रदर्शनकारीको रिहाई गर्नसमेत सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार १३:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।