Logo

प्रमुख समाचार

नयाँ नेतृत्वलाई ‘बन्ध्याकरण’ गर्दै नेकपा, भित्रिकुरा सुनेर कार्यकर्ताहरू चकित



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले विभागको प्रमुख विभागको प्रमुख बन्न दौडधुप गरेकोमा नेता तथा कार्यकर्ताहरूले आश्चर्य व्यक्त गरेका छन् । तत्कालीन एमालेको नेतृत्व लिइसकेका र प्रधानमन्त्री समेत बनिसकेका नेताहरूले विभागको संयोजक बन्न मरिहत्ते गरेकोमा नेकपाका नेताहरूले चिन्ता जनाएका छन् ।

नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले समेत विभागको संयोजक बन्न होडबाजी गरेपछि आलोचना भएको हो । तत्कालीन एमालेको अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तले विभागमा भन्दा पनि विभागमा रहने अन्य नेताहरूलाई निर्देशन दिएर खटनपटन गर्नुपर्ने सुझाव सामाजिक सञ्जालमा आएको छ ।

नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले वरिष्ठ र शीर्ष नेताहरूबाट नयाँ नेतृत्व विकासमा बन्ध्याकरण गर्न नहुने टिप्पणी गरेका छन् । ‘पार्टी र सरकार प्रमुख भइसकेका नेताहरू घुमिफिरी विभाग प्रमुख हुनु नयाँ नेतृत्व विकास प्रक्रिया बन्ध्याकरण गर्नु हो’, उनले भनेका छन्, ‘मार्गदर्शन समिति बनाएर विभागीय कामबाट अध्यक्ष र महासचिवजस्तै उहाँहरूलाई पनि माथि राख्नुपर्छ ।’

‘०४९ र ०७६ मा एउटै व्यक्ति उही विभागमा प्रमुख भइरहने यो कस्तो अपरिहार्यता हो ?’, नेकपाका केन्द्रीय सदस्य थापाले फेसबुकमा स्टाटस लेखेर नेतृत्वप्रति प्रश्न उठाएका छन् ।पूर्वप्रधानमन्त्री नेपाललाई विदेश विभाग, पूर्वप्रधानमन्त्री खनाललाई नीति अध्ययन प्रतिष्ठान र वामदेव गौतमलाई संगठन विभागको प्रमुख बनाउने चर्चा छ । बालुवाटारमा भएका बैठकहरूमा सो विषयमा सहमति भएको नेताहरूले बताएका छन् ।

‘सरकार नेतृत्व परिवर्तन हुन्छ, मन्त्री फेरिनुपर्छ’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता देवेन्द्र पौडेलले सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने जिकिर गरेका छन् । बुटवलमा भएको एउटा साक्षात्कारमा उनले सरकारको काम प्रभावकारी देखिन नसकेको भन्दै मन्त्री पनि तत्काल परिवर्तन हुनुपर्ने बताए ।

सरकारको नेतृत्व ५ बुँदे सहमतिका आधारमा फेरिने र त्यो बेला आइनसकेको बताएका उनले मन्त्री तत्काल फेर्नुपर्ने बताए । निर्मला पन्त प्रकरणलगायतका विभिन्न विषयमा मन्त्रालयका काम प्रशंशायोग्य भन्दा आलोचना धेरै भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री फेर्नेबारे सोच्नुपर्ने बताए ।

‘अनियमितता गरेको प्रमाणित गरे जस्तो सुकै कारवाही भोग्न तयार’

रुपन्देहीको गैडहवा गाउपालिका अध्यक्ष बच्चुलाल केवटले अनियमितता गरेको प्रमाणित गरे जस्तो सुकै कारवाही भोग्न तयार रहेको बताएका छन् । वडा अध्यक्षहरुले लगाएको आरोपको खण्डन गर्दै केवटले वडा अध्यक्षहरुले आफु माथि लगाएको अनियमितताको आरोप गलत भएको बताएका छन् ।

गत बिहिवार गाउँपालिकाका ७ वटा वडाका अध्यक्षहरु सहित दलका प्रतिनिधिहरुले बुटवलमा पत्रकार सम्मेलन गरि अध्यक्षले व्यापक अनियमितता गरेको आरोप लगाएका थिए । केवटले आफुलाई आरोप लाउने सबैलाई आरोप प्रमाणित गरेर मात्र बोल्न आग्रह गरे । केवटले कुनै पनि अनियमितता नगरेको दावी गर्दै यदि आफुलाई लगाएको आरोप प्रमाणित भए जस्तो सुकै कारवाही भोग्न तयार रहेको बताए ।

केवटका अनुसार बजेट बाँडफाडका क्रममा वडा अध्यक्षले प्रत्येक वडाको लागि २ करोड मागे पनि गाउँपालिकामा बजेट अभावका कारण १ करोड १० लाख उपलब्ध गराउने बताएपछि असहमती जनाउँदै आफू विरुद्ध लागेको बताए । केवटले गाउँपालिका स्तर बाट प्रत्येक वडामा बाटो कालोपत्रको लागी ४० लाख, भवन, वडा कार्यालय लगायत अन्य पुर्वाधार निर्माणको लागि बजेट छुट्याएको जानकारी दिए ।

केवटले भने मैले अनियमितता गरेको कुरा उपभोक्ता समिति, गाउँका जनता लगायतलाई सोध्नुस् छानविन गर्नोस् यदि मैले केही गलत गरेको छु भने त्यही अनुसार कारवाही भोग्न तयार छु ।

केवटले आफूमाथि लागेको अघिल्लो आर्थिक वर्ष तथा चालु आर्थिक वर्षको समेत हिसाब किताब नदिएको आरोपको खण्डन गर्दै अहिले सम्म गाउँपालिकामा आफू आएपछि ४ वटा प्रशासकिय अधिकृत आएर गएको तथा लेखा अधिकृत समायोजन हुँदा सरुवा भएको कारण गाउँपालिकामा कर्मचारी अभाव हुदा हिसाब किताब हुन नसेको बताए ।

केवटले गत असारमा मात्र प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत आएको हुनाले पुरानो हिसाब किताब नभएको जानकारी दिए । ९ वटा वडा रहेको गाउँपालिकामा ७ वटा वडा अध्यक्ष केवटको बिरोधमा रहेका छन् । संघिय समाजवादी फोरमबाट निर्वाचित केवटका पक्षमा उनकै पार्टीका वडा अध्यक्ष समेत छैनन् । तीन जना मध्ये एक जना विपक्षमा रहेका छन् ।

पत्रकार सम्मेलनमा वडा अध्यक्षहरु भुवनवहादुर राना मगर, प्रदीपकुमार चौधरी, सुरेन्द्रसिंह कुर्मी, तुलवहादुर पुनलगायतले गाउँपालिका अध्यक्षले मनोमानी गरेको आरोप लगाएका थिए । कार्यक्रममा नेकपा र कांग्रेसका प्रतिनीधिहरुले समेत अध्यक्षबाट भएका काम सन्तोषजनक नरहेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार ०५:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।