Logo

प्रमुख समाचार

किसानका लागि विशेष राहत योजना ल्याउन नेकपा प्रदेश २ को माग



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नं. २ कमिटीले बाढीले कृषि क्षेत्रमा धेरै क्षति पुगेको भन्दै किसानहरुका लागि विशेष राहत योजना ल्याउन माग गरेको छ ।

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको अध्यक्षतामा शुत्रबार बसेको बैठकले यस्तो माग गरेको हो । ‘बाढीले कृषि क्षेत्रमा धेरै क्षति गरेको, धान रोप्ने बेला बिउबिजन नोक्सान भएको, तरकारी लगायत विभिन्न खेतीहरु नोक्सान भएका, पशुपंक्षीमा क्षति पुगेको, उर्वर जमिन बगाएको आदि कारणले किसानहरु टाट पल्टने अवस्था भएकाले किसानहरुको लागि विशेष राहत योजना ल्याउन,’ नेकपा प्रदेश २ कमिटीले शुक्रबार गरेको निर्णयमा भनिएको छ, ‘साथै बाढीबाट प्रभावित भएका उद्योगधन्दा, व्यवसायलाई पुनर्जीवन दिन सरकारको विशेष सहयोगको माग गर्दछ ।’

उक्त बैठकले बाढीबाट हुने क्षतिको दिगो समाधानका लागि तराईको शिर मानिने चुरेको संरक्षण गर्न, चुरेदेखि भारतीय सीमासम्म नदी तटबन्ध गर्न पनि माग गरेको छ ।

‘बाढीबाट हुने क्षतिको दिगो समाधानका लागि तराईको शिर मानिने चुरेको संरक्षण गर्न, चुरेदेखि भारतीय सीमासम्म नदी तटबन्ध गर्न र नदी अतिक्रमण रोक्ने जस्ता काम गर्न यो बैठक माग गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ ।

बाढीपीडितका लागि प्रदेश २ सरकारले देखाउनुपर्ने प्रभावकारिता नदेखाएको एवं भेदभाव र धाँधली भएको गुनासो आएको भन्दै त्यसलाई सच्याउन माग गरेको छ । ‘बाढीपीडितको लागि प्रदेश नम्बर २ को सरकारले देखाउनु पर्ने प्रभावकारिता नदेखाएको एवं दिइएका राहतहरुमा भेदभाव र धाँधली भएको गुनासो आइरहेकाले,’ नेकपा प्रदेश २ कमिटीले भनेको छ, ‘तत्काल त्यसलाई सच्याउन बैठक माग गर्दछ ।’

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार १४:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।