Logo

अनलाइनपाना खोज

संघीय नेपालको प्रहरी : जनताको साथी कि बर्दी सहितको…



नेपाल प्रहरीको इतिहास हेर्ने हो भने राणा प्रधानमन्त्री जंगबहादुरको उदयपछि चौकिदारी प्रथासँगै नेपालमा प्रहरी व्यवस्थापनको सुरुवात भएको इतिहास सन् १९५२ को बुच रिपोर्टमा उल्लेख गरिएको छ ।

सन १९३३ मा राणा प्रधानमन्त्री भिमशमशेरले चौकिदारको काम, कर्तव्य र अधिकारको किटान गरि नियम बनाई लागू गरेको इतिहासमा उल्लेख छ । सन १९५१ मा तत्कालीन प्रधानमन्त्री चन्दशमशेरले तराईका जिल्लाबाट चौकिदारी प्रथा हटाई काठमाण्डौंको शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीलाई सुम्पन इन्सपेक्टर सवाल जारी गरेका थिए । यसमा सदर पुलिस गोश्वारा रहने र यसको मातहतमा थाना र चौकी रहने व्यवस्था थियो ।

बि.सं. १९९० को महाभूकम्पको समयमा भूकम्पमा परेका नागरिकको उद्दार, नागरिकलाई सुरक्षा गर्ने र पुनर्निर्माणमा सघाउनको लागि एउटा संगठित संस्थाको आवश्यकता महशुस गरि नेपाल प्रहरीको बिस्तारमा तिब्रता आएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री जुद्वशमशेरले आफ्नो सवारी व्यवस्थापनको नाममा सवारी व्यवस्थापनको नाम दिईएको राणाबिरोधी गतिविधि नियन्त्रण गर्न एउटा स्क्वाड निर्माण गरियो । टोपीमा ‘नेपाल मिलिटरी पुलिस’ उल्लेख गरिएको प्रहरी स्क्वाड बि.सं. २००७ सम्म अस्तित्वमा रहेको इतिहास छ ।

बि.सं. २००७ चैत २८ गते सेनाका सहायक रथी तोरण शमशेर जबरालाई नेपाल प्रहरीको आईजिपी नियुक्त गरिएको थियो । बि.सं. २००८ देखि २०१२ सम्म नेपाल प्रहरीको बिस्तारले गति लिएको देखिन्छ । यसअघि विभिन्न नाममा रहेको नेपाल प्रहरीलाई नेपाल पुलिस फोर्स नामाकरण गरेर बि.सं. २०१२ असोज ३० गते प्रहरी ऐन कार्यान्वयनमा आयो । यो नै नेपाल प्रहरी निर्माणको ऐतिहासिक जग बन्न पुग्यो ।

बि.सं. २०४६ को राजनैतिक परिवर्तनसँगै नेपाल प्रहरीलाई समयानुकूल सुधार गर्ने अभियान सुरु भयो । बि.सं. २०४८ सालदेखि नेपाल प्रहरी राष्ट्रसंघको शान्ति मिसनमा सहभागी हुन थाल्यो । तर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भै सकेपछि पनि नेपाल प्रहरीको चौकिदारी प्रथा बदलिन नसकेको अवस्था देखिन्छ । अहिले पनि विभिन्न भिआईपी वा भि-भिआईपीको सेवा सुबिधामा मनमौजी लहडले खट्ने स्वभावमा अहिलेसम्म कुनै परिवर्तन भएको पाईदैंन, भने नागरिकसँग प्रहरीको दुरी पनि दिनप्रतिदिन बढ्दै गएको तथ्य हामिकहाँ कुनै नौलो कुरा भने होइन ।

समाजमा घट्ने विभिन्न अपराधका घटनाको अनुसन्धान मात्रै होइन समजमा शान्ति सुरक्षाको प्रत्याभूति दिनु पनि नेपाल प्रहरीको पहिलो धर्म हो । ‘सत्य सेवा सुरक्षणम’को मूल मन्त्र लिएर जनताको ट्याक्सबाट तलव र सेवा सुबिधा लिने नेपाल प्रहरीको पछिल्ला दिनमा भने निरन्तर कमजोर र आलोचित बन्दै गएको छ । ‘प्रहरीको यस्तै अवस्था रहने हो भने आगामि दिनमा नेपाल प्रहरी विघटन किन नगर्ने भन्ने प्रश्न स्वभावीक रुपमा उठ्ने’ भ्रष्टाचार विरुद्धका सामाजिक अभियान्ता सिद्धार्थ अधिकारीको भनाई छ ।

‘निरंकुश जहाँनिया राणा शासनहुँदै सकृय राजतन्त्रको बेलामा प्रहरीको नागरिक प्रती जस्तो रबैया थियो त्यो आजसम्म पनि कायम रहेको अवस्था छ । फरक कति भने पहिला प्रहरीसँग अपराधी डराउँथे अहिले अपराधीसँग प्रहरी डराउँछन’ अभियान्ता अधिकारी भन्छन् ।

जनताको करबाट सेवा सुबिधा लिने नेपाल प्रहरी राजनैनिक दलका नेताको सलामी, गुमाली र मलामीमा व्यस्त बनेको उनको आरोप छ । अर्कोतिर प्रहरी अहिले शान्ति सुरक्षा कायम गर्न वा जनताको सेवामा भन्दा पनि आकर्षक ठाउँमा सरुवा, बढुवा वा पहुँच विस्तारको अभियानमा लाग्दा पनि प्रहरी जनताबाट टाँढिदै गएको बताईन्छ ।

अहिले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको बनेपछि मात्रैका घटनाक्रम हेर्ने हो भने पनि नेपाल प्रहरी कति बदनाम छ भन्ने कुरा प्रमाणित हुन्छ । कंचनपुरमा बला.त्कारपछि ह.त्या गरिएकी किशोरी निर्मला पन्तको घटनाका दोषिलाई कानुनी कठघरामा ल्याउने कुरा त छाँडौ घटनास्थलको सबुत मेटाउन प्रहरी नै उद्दत रहेको प्रमाण समेत सार्वजनिक भयो, भने घटनाको अनुसन्धान गरिरहेका उच्च अधिकारी समेत निलम्बनमा परे ।

३३ किलो सुन प्रकरणमा समेत प्रहरीको भूमिकालाई लिएर प्रश्न मात्रै उठाईएन नेपाल प्रहरीका उच्च अधिकारी पक्राउको लामो शृङ्खला नै चल्यो । प्रहरीका उच्चअधिकारी नै संलग्न रहेको कारणले पनि यो मुद्दालाई नियोजित रुपमा कमजोर बनाईएको देखिन्छ ।

पछिल्लोपटक बाँकेको कोहलपुर घटनालाई नै हेर्ने हो भने पनि प्रहरीको चरित्र प्रष्ट हुन्छ । स्कुले बालबालिकाहरु माथि अनावश्यक बल प्रयोग मात्रै गरेन विद्यार्थीहरुमाथि रबरका गोली हान्ने देखि लिएर अश्रुग्यास र लाठी प्रहार गरेर आफ्नो असली चरित्र देखायो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त संसदीय दलको बैठकबाटै बाँके घटनाको भत्सर्ना गर्दै दोषीलाई कार्वाही गर्न समेत माग गरेको छ ।

‘मुस्कान सहितको सेवा वा नागरिक प्रहरी साझेदारी’ को जतिसुकै रटान लगाएपनी प्रहरी जनता प्रती उत्तारदायी बन्न नसक्दा दिनप्रतिदिन जनताको साथी भन्दा पनि बर्दिधारी गुण्डाको छवि बनाउँदै गएको छ । जसले गर्दा प्रहरीले गरेका राम्रा कामको समेत प्रचार हुन सकेको छैन ।

यो आलेख तयार पार्दा सम्मको अवस्थामा पनि नेपाल प्रहरी भित्र भावी आईजीपी र एआईजीको बन्ने म्याराथन दौड चलिरहेको छ । शक्तिकेन्द्रमा दौडधुप गरेर पैसाको चलखेलमा प्रहरीको उपल्लो तहमा पुगेका अफिसरहरुले जनताको सेवा गर्न सक्छ ? भन्ने प्रश्न उठ्नु अस्वभाविक पनि होइन ।

अर्कोतिर मानवअधिकार उल्लंघनमा पनि नेपाल प्रहरी अग्रपंक्तिमा रहेको राष्ट्रिय मानवअधिकार आयोगकै प्रतिवेदन हेर्ने हो भने पनि प्रष्ट हुन्छ । भलै ती प्रतिवेदनमा मात्रै सीमित किन नहुन । अर्कोतिर पछिल्लो समयमा विभिन्न घटनामा दोषि देखिएका प्रहरी अधिकृत देखि निलम्बनमा परेका वा प्रकाउ परेका प्रहरीको संख्या निरन्तर बढिरहेको कुराले पनि प्रहरी आफैं अपराधीक बन्दै जान लागेको होकी भन्ने संकेत मिल्छ ।

त्यस्तै अपराधीक व्यक्तिहरुलाई कानुनी कार्वाहीको नाममा नेपाल प्रहरीले गर्ने ‘इकाउण्टर’ ले समेत प्रहरीको असली चरीत्रलाई छर्लङ्ग पारेको छ । शक्तिकेन्द्रको दबाबमा पहुँचवाला अपराधीलाई कानुनी कठघरामा ल्याउन नसक्ने भएर मात्रै होइन । आफ्नो छवी राम्रो बनाउनको लागि समेत प्रहरीले इकाउण्टरको झुटो नाटक मंचन गर्ने तथ्य पनि हामि सबैलाई थाहा भएकै कुरा हो ।

अर्कोतिर पहुँचवालाले गरेको अपराध लुकाउनमा पनि प्रहरी अग्रस्थानमा रहेको कुरा पनि नौलो होइन । पछिल्लोपटक रौतहट बम बिस्फोट प्रकरणमा पूर्व मन्त्री समेत रहेका नेपाली कांग्रेसका निर्वाचित सांसद अफताव आलमलाई बचाउन प्रहरीको ठूलो हात रहेको कुराहरु सार्वजनिक भै रहेका छन् ।

‘प्रहरी बर्दी बिनाको नागरिक हो भने नागरिक बर्दी बिनाको प्रहरी’ भन्ने वाक्यांस पनि अहिले त केवल रमाइलो जोक जस्तो मात्रै बनेको छ । आम चलनचल्तीमा ञप्रहरीसँग नत दोस्ती नत दुश्मनीझ यो आम नेपाली समाजमा चर्चित रहेको नेपाली आहान हो अर्थात ‘प्रहरी मेरो साथी भन्ने प्रहरी’ को नारा पनि केवल राजनैतिक दलको चुनावी घोषणापत्र जस्तो मात्रै बनेको छ । भन्न कहिल्यै नछाड्ने पूरा कहिल्यै नहुने नेताको भाषण जस्तो मात्रै ।

अन्यथा टिकापुर घट#नामा तत्कालीन एसएसपीको भाला रोपेर जघन्य र बीभत्स ह.त्याहुँदा समेत आम नागरिकले खासै अर्थपूर्ण प्रतिक्रिया नजनाउनुको अर्थ के होला भनेर प्रहरी नेतृत्वले सोच्ने कि नसोच्ने ? दिनको १२ घण्टा भन्दाबढी नागरिकको सेवामै प्रत्यक्ष डिउँटिमा खटिने प्रहरीको भूमिका के अब आएर पिर्के सलामी मै सिमित हुन लागेको मात्रै त हैन ?

जनताको करबाट आफ्नो सेवा सुबिधा लिने प्रहरी जनता प्रतिको आफ्नो कर्तव्यमा यसरी नै च्युत हुँदै जाने हो भने जनताको नजरमा गिरेको प्रहरिको साख कसरी उठ्न सक्ला ? के जनताको सहयोग बिना नेताकै पिर्के सलामी, गुलामी र भजन गाएर प्रहरी अगाडि बढ्न सम्भव छ ? त्यसैले प्रहरीले बर्दिवाला गुण्डाको छवी बदलेर जनता प्रतिको आफ्नो कर्तव्य पालनामा गम्भीर बन्नै पर्छ अन्यथा…राम राम भन्न सकिन्छ तर काँध थाप्न भने सकिँदैन ।

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार १२:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।