Logo

उद्योगीहरुले राष्ट्रपतिलाई भेटेरै मागे कर तिर्न थप एक महिनाको समय  



नेपाल उद्योग परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर कर तिर्ने समय एक महिना थप्न आग्रह गरेका छन् ।

परिसंघका प्रतिनिधिमण्डलले शनिबार राष्ट्रपति भण्डारीलाई भेटेर उद्योग प्रतिष्ठानले अरु समय समयमै कर तिरेर सहयोग गरेको बताउँदै अहिलेको असहज परिस्थितीमा समयाअवधि भन्दा एक महिना बढीको समय थप गरिदिन आग्रह गरे ।  ‘यसबाट निषेधाज्ञा जारी भएको अवस्थामा कर दाखिला गर्नबाट बञ्चित उद्योगी व्यवसायीलाई सहज हुन्थ्यो,’ परिसंघका प्रतिनिधिमण्डलले भनेका थिए।

भेटमा उद्योगीले सुरक्षाको मापदण्ड अपनाएर उद्योग व्यवसाय संचालन गर्न तयार रहेको बताउँदै कुनै कर्मचारीलाई कोरोना संक्रमण भएमा तत्काल परीक्षण गरेर उद्योग संचालन गर्न पाउने व्यवस्था गरिदिन समेत आग्रह गरे। ‘यदि उद्योगम कार्यरत कर्मचारी वा कामदारमा संक्रमण देखिएका कन्ट्याक ट्रेसिङका आधारमा पिसिआर परीक्षण गराएर बाँकी कामदारबाट उद्योग संचालनको व्यवस्था मिलाउनु उपयुक्त हुन्छ,’ उनीहरुले भनेका थिए ।

उनीहरुले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तब्य पूर्ण रुपमा संचालनमा ल्याएर नेपाल आउने पर्यटकलाई तीन दिन मात्रै क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन्। ‘नेपाल प्रवेश गर्दा हाल भएको चौध दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरि तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नुपर्छ,’ राष्ट्रपति समक्ष उनीहरुले भनेका थिए ।  उनीहरुले तीन दिनको क्वारेन्टाइनपछि सम्वन्धित पर्यटकको पिसिआर परीक्षण गर्न लगाउने र नेगेटिभ आएमा निर्वाध रुपमा घुमफिरको व्यवस्था हुनुपर्ने माग समेत गरेका छन् ।’

भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोर, वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवा र उपाध्यक्षद्वय अनुज अग्रवाल र निर्वाणा चौधरी सहभागी थिए ।

प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार  ४ : ५३ बजे