Logo

स्वास्थ्य

कोरोना बाट निको हुने दर बढ्दै गएको छ: डा गौतम



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको निको हुने दर नेपालमा हाल बढेको बढेको पाइएको छ ।

नेपालमा अरु देशको तुलनामा हेर्दा केहि बढेको देखिन्छ । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३०० सङ्क्रमित भएका अवस्थामा चार करोड ८० लाख नौ हजार ४३७ जना निको भएका छन् भने यता नेपालमा दुई लाख ४५ हजार ६५० सङ्क्रमितमध्ये दुई लाख ३१ हजार ६०१ जना निको भई घर फर्किसकेका छन् । नेपालमा कुनै समय ६०–६२ प्रतिशत मात्र कोरोनाका सङ्क्रमित निको भएकामा अहिले ९४ भन्दा बढी प्रतिशत पुगेको छ । विगत दुई महिनाको तथ्याङ्क हेर्दा निको हुने दर ६८ प्रतिशतबाट बढेको देखिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा सङ्क्रमितको उपचार सेवा राम्रो भएकाले निको दर बढेको बताएका छन् । उनले भने “अहिले उपचार सेवा पनि राम्रो भएको छ”, “त्यसैले सङ्क्रमितको निको हुने दर पनि बढेको हो ।” गत असोज २८ गते ६८.८ प्रतिशत सङ्क्रमित निको भएका छन् । यस्तै कार्तिक ९ गते ७०.६, १६ गते ७७.६ र २६ गते ८० प्रतिशत सङ्क्रमित निको भई घर फर्केका थिए । त्यस्तै मङ्सिर १९ गतेदेखिको तथ्याङ्क हेर्दा पनि सङ्क्रमित दर बढेको पाइन्छ । मङ्सिर १९ गते ९२.९, २० गते ९३.४, २१ गते ९३.७, २२ गते ९४, २३ गते ९४.१ र २४ गते ९४.३ प्रतिशत सङ्क्रमित निको भएका छन् ।

बिहीबार मात्र मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार ९४.२ प्रतिशत सङ्क्रमित निको भएका छन् । उक्त दिन एक हजार ६४ जना निको भई घर फर्किएका थिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले उपचार पद्धति अन्य मुलुकको जस्तो भए पनि अहिले लक्षण नभएका सङ्क्रमित घरमै बसेर निको हुने गरेको बताए । उनले परीक्षण नै कम भएकाले सङ्क्रमित पनि कम हुने भएकाले निको हुने दर बढेको जिकिर गरे ।

सशस्त्र प्रहरी बल अस्पतालका डा प्रवीण नेपाल परीक्षण नै कम भएर सङ्क्रमणको दर पनि कम देखिनाले निको हुनेको सङ्ख्या बढेको बताउछन् । “अहिले लक्षण नभएका सङ्क्रमित घरमै बसेर आफैँ निको हुने गरेका छन्”, उनले भने, “अस्पताल आएर उपचार गराउनेको सङ्ख्या पनि कम हुँदै गएकाले निको दर बढेको हो ।”

मृत्युदर कम

यस्तै कोरोनाका कारण नेपालमा विश्वका तुलनामा मृत्युदर पनि कम रहेको छ । पछिल्लो तथ्याङ्कमा नेपालमा सङ्क्रमितमध्ये ०.६७ प्रतिशत मात्र मृत्यु हुने गरेको पाइएको छ । प्रतिदश लाखमा ५६.५ जनाको मात्र मृत्यु हुने गरेको छ । नेपालमा अहिलेसम्म एक हजार ६६३ जनाको सङ्क्रमणका कारणले निधन भइसकेको छ । विश्वमा २.३ प्रतिशत सङ्क्रमितको कोरोनाका कारणले मृत्यु हुने गरेको पाइएको छ ।

हालसम्म विश्वमा १५ लाख ७६ हजार ८५ जनाको सङ्क्रमणको कारणले निधन भएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार १४:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।