काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रमा सञ्चालित विद्यालय पुनर्निर्माणमा विवाद हुँदा चार वर्षदेखि टहरामै पठनपाठन भइरहेको छ । थोरै विद्यार्थी भएका अन्य क्षेत्रका विद्यालयसमेत पुनर्निर्माण भइसक्दा हजारौँ विद्यार्थी अध्ययनरत भक्तपुर, काठमाडौं दरबार क्षेत्रका बालबालिका भने कतै टहरा त कतै जीर्ण भवनमा पढ्न बाध्य छन् ।
विश्व सम्पदा क्षेत्रमा परेको भक्तपुर दरबार क्षेत्रमा तीन माध्यमिक विद्यालय सञ्चालनमा छन् । दरबार क्षेत्रमा सञ्चालित एउटै विद्यालयमा एक हजार ६ सयसम्म विद्यार्थी अध्ययनरत छन् । तर, पुरातात्विक क्षेत्र भएकाले फलामेरड र सिमेन्ट प्रयोग गरेर (आरसिसी) भवन बनाउन नदिएपछि विद्यार्थी पीडामा परेका हुन् । पुरातत्व विभाग तथा भक्तपुर नगरपालिकाले सुर्की प्रयोग गरेर मात्र विद्यालय भवन बनाउने भए अनुमति दिने तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुरक्षाका हिसाबले रड र सिमेन्ट नै प्रयोग गर्ने अडानले विद्यालय भवन निर्माण रोकिएको हो ।
भक्तपुर दरबार क्षेत्रमा सञ्चालित पद्म माध्यमिक विद्यालयका प्रधानाध्यापक राम हाडाले राम्रो भवन नहुँदा विद्यार्थीले चार वर्ष टहरामै बिताएको बताए । करिब १६ सय विद्यार्थी रहेको यो विद्यालय पुरातात्विक क्षेत्रमा भएकाले कस्तो बनाउने भन्ने विवाद रहेको उनको भनाइ छ । उनले भने, ‘भवन निर्माणका विषयमा धेरैपटक छलफल भयो, अब बन्छ कि भन्ने आशा छ, आधिकारिक चिठी नआएसम्म भन्न सकिँदैन ।’ विद्यालय परिसरको पछाडिपट्टि नयाँ भवन बनाउने र अगाडि पहिलेको जस्तै बनाउने गरी सहमति भएको उनले बताए । यो २००७ सालअघि नै स्थापना भएको विद्यालय हो ।
भक्तपुर दरबार क्षेत्रमै रहेको शारदा र विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा पनि यस्तै समस्या छ । भूकम्प जानुअघि विद्यार्थी निकेतन माविले नयाँ भवन बनाएकाले कम समस्या भए पनि शारदा माविका विद्यार्थी भने टहरामै छन् । मध्यपुरथिमि नगरपालिकास्थित लामकु दरबारमा रहेको आदर्श आजाद मावि पनि पुरातात्विक सम्पदाभित्र रहेका कारण पुनर्निर्माण हुन सकेको छैन । नयाँ पत्रिकाबाट





















प्रतिक्रिया