Logo

विचार / ब्लग

प्रेम अनन्त छ



प्रेम नेपाली भाषामा निकै प्रयोग हुने शब्द हो । प्रेम (प्री +इम)तत्सम शब्द हो । यसको अर्थ एक व्यक्तिको अर्को व्यक्तिसंग स्वाभाव गुण व्यवहार, आदिले हुने आर्कषण प्रीति, प्यार भन्ने हुन्छ ।यति मात्र होइन प्रेमले आत्मीयता, हार्दिकता, झुकाब, लगाब, आनन्द, सन्तुष्टि, चैन जस्ता व्यापक अर्थ पनि समेटेको हुन्छ । प्रेमका पर्यावाची शब्दहरु प्रीति,प्यार, माया हुन् ।

माया र प्रेमलाई भने यसको प्रकृति र अनुभूतिका आधारमा फरक फरक रुपमा लिन सकिन्छ । जव सृष्टिमा प्राणीको अस्तित्व सुरु भयो तव माया र प्रेम पनि शुरु भएको हो । यदि कुनै पनि प्राणीले एक अर्कोलाई प्रेम नगरेको भए सायद आजका यी जीवहरु नै अस्तित्वमा हुन्थेनन् । यसो सोच्नुस त ! जव प्राणीहरुमा प्रेम नहुने भए त्यसले आफ्नो जीवन अस्तित्वलाई जोगाइराख्न सक्छन् त ? म त भन्छु अँह ! सक्दैनन् किनभने सामान्य हिसावले सोच्ने हो भने पनि यदि कुनै प्राणी फेला पर्‍यो जुन लोप हुने अवस्थामा छन् । त्यही समुहमा एक अर्कालाई माया र प्रेम गरेन भने कसरी अस्तित्वमा रहन्छन ? फेरि यसो भन्नु होला डाइनोसर लोप भएको प्रेम नभएर हो त ? त्यस्तो होइन, पृथ्वीको तापमानमा घटबढ भएर त्यसले आफूलाई अस्तित्वमा राख्न नसकेको हो । हामी यति बेला प्रेमको कुरा गरिरहेको छौ । प्रेम छ र जीवन छ । माया छ र परिवार छ । हामी माया र प्रेमले बाँधिएका छौ । समूदाय बन्नका लागि पनि माया प्रेमको खाचो हुन्छ होइन त ?

सायद यो संसारमा सबै भन्दा चर्चा हुने बिषय प्रेम नै होला । किन कि प्रेम विना न सृष्टि हुन्थ्यो न सिर्जना । यो भाव अनन्त छ आकास जस्तै । जस्को कुनै सीमा हुँदैन । तर माया भनेको क्षणिक आकर्षण, मोह पनि हो । यो कुनै बेला पनि टुट्न सक्छ । आर्कषण विकर्षणमा पनि परिवर्तन हुन सक्छ । प्रेममा मन मस्तिष्क भावना लगाव सवै हुन्छ त्यसैले यो दृढ हुन्छ, तर मायामा भावनाको बेग बढी हुने भएकोले पविर्तन छिटो हन सक्छ ।

जस्तो कि कुनै एक जना व्यक्तिलाई खुव माया लाग्छ उसले आफूले निकै माया गर्छु भन्न सक्छ तर केही समय पछि त्यो माया माया नरहेर आकर्षण मात्र हो भन्ने बुझे पछि सोतह हराउँछ । प्रेम भने अलि फरक छ । प्रेम हुनको लागि निस्वार्थ भावना हुनु पर्छ । प्रेम जो सित पनि हुन सक्छ तर त्यहाँ प्रेम गर्छु भनेर हुने भने हुँदैन । त्यो हुन्छ र अचानक हुन्छ । जस्तै हामीले कुनै अदृश्य शक्तिलाई मान्छौं । त्यो पनि एउटा प्रेम हो । आशा रहे पनि त्यसलाई गतिलो प्रेम हो भन्न सकिन्छ ।

भगवान हामीले मान्छौ । मनमनै पनि भगवानलाई नराम्रो भनेर भन्न सक्दैनौं त्यो प्रेम हो । त्यो प्रेम आत्मिक प्रेमको रुपमा लिन सकिन्छ । आत्मिक भनेको आत्म देखि मन देखि र हर चाह देखि हुन्छ । त्यो न दृश्यमा छ न त कसैले भेटेको नै छ । त्यसलाई साच्चिकै प्रेम मान्न सकिन्छ । मान्छेहरुको जीवनमा आइपरेका पीडाहरुमा पनि उसकै प्रेम, उसकै लिला भनेर सन्तुष्टि लिन्छन् के त्यो प्रेम होइन र ? हामीले सुन्ने पौराणिक कथाहरुमा राधाले कृष्णलाई गर्ने प्रेम, शवरीले रामलाई गर्ने प्रेम, एकलब्यले द्रोणचार्यलाई गर्ने प्रेम, शिवको सतीदेवी प्रतिको प्रेम सच्चा प्रेमका केही उदाहरण हुन् । सबैबाट विश्वास हटेको बेला उसकै भरमा जीवनलाई अर्थपूर्ण बनाउनु प्रेम हो । भौतिक रुपमा हामीले आमाको प्रेमलाई लिन सक्छौ । आमाले गर्ने सन्तानको प्रेमलाई हामीले महशुस गर्छौ । आफ्नो शरीरलाई चिरेर निकालेको पीण्डको के आश ? तर त्यसलाई जोगाई राख्नु प्रेम हो । आशा रहित मायाको उत्कर्ष नै प्रेम हो ।

प्रेम प्रेमी प्रेमिका बिच मात्र हुन्छ भन्ने होइन । प्रेम आफैसँग, कुनै बानी व्यवहार संग, व्यक्तिसंग र बस्तुसंग पनि हुन्छ । जुन आदत बन्छ , जिद बन्छ । त्यही दुनियाका लागि पागलपन पनि बन्न सक्छ । संसारमा जे जति आविष्कार भएका छन् सिर्जित भएका छन् त्यसमा पनि प्रेम हुन्छ । वैज्ञानिकले विज्ञान वा आविष्कारलाई गरेको प्रेम, कुमालेले माटोलाई गरेको प्रेम, मालिले बगैचालाइै गरेको प्रेम, चित्रकारले पेन्सिल र मसीलाई गरेको प्रेम, किसानले खेतीलाई गरेको प्रेम, सङ्गीतकारले सङ्गीतलाई गरेको प्रेम, साहित्यकारले शब्दलाई गरेको प्रेम के प्रेम होइन यो ? मान्छे भ्रममा बाँचीरहन्छ किन कि मान्छेसगंको प्रेमलाई मात्र ऊ प्रेम सम्झिन्छ तर आफैलाई गर्ने प्रेम, आफ्नो सीप, श्रम र सिर्जना प्रतिको प्रेम बिर्सन्छ ।

प्रेम त्यो हो जसको कुनै विकल्प हुँदैन । जस्तै हामीले चिनीको साटो मह गुड,आदि प्रयोग गर्न सक्छौ तर एउटा प्रेमको विकल्प प्रेम नै हो । हामीले प्रेमको गत्तिला उदाहरणहरुमा पनि स्वार्थ देख्छौ जस्तै प्रेमको सवै भन्दा बढि प्रयोग हुने उदाहरण रोमियो जुलियटको प्रेम हो तर यहाँ एक अर्कालाई प्राप्त नै गर्नु पर्छ भन्ने जिद छ । यसमा आकर्षण उत्कर्षमा पुगेर प्रेम भएको छ । एक अर्काका लागि आफ्नो प्राण त्याग गरेका छन् । यो प्राण त्यागेर गरेको प्रेम हो, यसमा पागलपन छ ।

मलाई आश्चर्य लाग्छ आजकलका प्रेम गर्नेहरु देखेर । आज हाई हेल्लो भोलि प्रेम प्रस्ताव, पर्सी डेटिङ अनि ब्रेकअप । यति सस्तो छ र प्रेम ? यो त प्रेमको बदनाम हो । प्रेम आकर्षण प्राप्तिको होड, यौन मात्र होइन । प्रेम त अन्तर आत्माको आवाज हो । जुन महशुस गर्न धेरै समय लाग्छ तर अनन्त रहन्छ ।

प्रेमको मुहान कहिल्यै पनि सुक्दैन । प्रेमलाई अहिले सम्म मान्छेहरुले यही हो र यसरी नै हुँन पर्छ भनेर कुनै लिपीमा उत्तार्न सकेका पनि छैनन् । प्रेम शब्दमा बयान गर्न सकिदैन । कसले कसलाई कति प्रेम गर्छ भनेर भन्न सकिदैन । माया प्रेमको कुरालाई मान्छेहरुले समुन्द्र आकास, ब्रह्माण्डसंग दाँजेर हेर्छन् । यति धेरै विशालता छ प्रेमको । कहिलेकाही हामीले कति माया गर्छौ भनेर आफ्ना प्रेमीलाई सोध्छौं । हातले इशारा गरेर दुई हात फैलाएर यति प्रेम गर्छु पनि भनि दिन्छौ । आफूले गरेको माया आफूलाई गर्नेृ माया कति परिणाममा गर्दा रहेछांै भन्ने कुरा जान्न चहान्छौं पनि तर यसको ब्याख्या अनन्त छ । प्रेम नै जीवन हो । एक जना विद्धानले भनेका छन् प्रेम नहुने हो भने र माया गर्ने मान्छे नहुने हो मान्छे मात्र नभएर प्राणी पनि मर्छ । हामी जनावरको कुरा गरौ पशुपंक्षीको कुरा गरौ धनेसको जोडीको कुरा गरौें सबै भन्दा उच्च प्रेमील मनहरु यीनैमा हुन्छ ।

अतः प्रेम त वासना नभएर उपासना हो । प्रेम समर्पण हो, श्रद्धा हो, विश्वास हो । यति मात्र कहाँ हो र प्रेम साहस हो, धैर्यता हो, मान हो, सम्मान हो, आधार हो, संसार हो, जीवनको सार हो । जहाँ यी सब कुराको अनुभूति हुन्छ त्यही नै प्रेम हो । जुन आमाको ममतामा, गुरुको सान्निध्यमा, मातृभूमिको काखमा, प्रेमी प्रेमिकाको समर्पण र त्यागमा हुन्छ । प्रेम अनन्त छ । प्रेमको न आदि छ न अन्त्य छ । प्रकृतिले प्रकृतीलाई प्रेम गर्दा सम्म माया र प्रेम जिवित हुन्छ । हामी हुन्छौं र अस्तित्व पनि हुन्छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलवार १४:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।