Logo

प्रमुख समाचार

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा सुटुक्क नेपाल फर्किइन्



अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा आज राति चाइना साउदर्नको फ्लाइटबाट सपरिवार स्वदेश फर्केकी छिन्। दुई साताअघि क्यानबेरा आइपुगेकी लक्की शेर्पाले अस्ट्रेलिया बसाइको दौरान आफ्ना पारिवारिक व्यवस्थापनमा जुटेकी थिइन्। उनी राजधानी क्यानबेरा बसुन्जेल कामकाजमा भने सरिक भइनन्।

सरकारले उनलाई दुई साताभित्र व्यवस्थापन सकेर फर्कन निर्देशन दिएको थियो। सोहीबमोजिम उनी आज नेपाल आउन लागेकी हुन्।

उनले काठमाडौं पुगेर परराष्ट्र मन्त्री समक्ष राजीनामा पत्र बुझाउने भएकी छन्।

यहाँ बसुञ्जेल केही नजिकका साथीभाइ इष्टमित्र मात्र भेटेकी उनले राजदूतावासका कर्मचारीलाई भने काठमाडौं फर्केर निर्णय लिने बताएकी थिइन्। ‘उहाँ यहाँ भए पनि बसुन्जेलसम्म कार्यालय भने आउनुभएन,’ राजदूतावासकी उपसचिव द्रुपदा सापकोटाले भनिन्,‘हामीले सोध्ने कुरा पनि भएन तर उहाँले आफूलाई भेटघाटमा मात्र सीमित राख्नुभयो।’

साँझ क्यानबेराबाट सिड्नीको फ्लाइटमा सिड्नी आइपुगेकी राजदूत शेर्पा सिधै अन्तर्राष्ट्रिय टर्मिनलमार्फत् सपरिवार नेपाल फर्केकी हुन्। क्यानबेरामा उनलाई राजदूतावासका कर्मचारी तथा केही हितैषीहरूले बिदाई गरेका थिए।

प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार  ३ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।