भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध कडा विज्ञप्ति निकालेपछि त्यसको असर सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पारिवारिक मामिलामा समेत परेको छ।भेनेजुयलामा उत्पन्न संकटबारे सरकारले सार्वजनिक गरेको धारणाबाट अमेरिका आश्वस्त हुन नसकेपछि प्रचण्डको पारिवारिक मामिला असर परेको हो।
भेनेजुयलामा उत्पन्न आन्तरिक संकटप्रति अमेरिकाको भूमिकालाई लिएर प्रचण्डले कडा टिप्पणी गरेपछि अमेरिका कडा रुपमा प्रस्तुत भएको छ। त्यसको केही दिनपछि सरकारले आधिकारिक धारणा सार्वजनिक गरे पनि अमेरिका आश्वस्त हुन नसकेको कूटनीतिक स्रोत बताउँछ। जसकारण प्रचण्ड परिवारको अमेरिका जाने योजना अलपत्र परेको छ।
‘भेनेजुयलाको संकट त्यहाँको आन्तरिक मात्र होइन अन्तर्राष्ट्रिय पनि हो’, कूटनीतिक स्रोत भन्छ। भेनेजुयलाको आर्थिक सामाजिक र संगठनात्मक अवस्था भताभुंग हुँदा त्यसले क्षेत्रीय मानवीय संकट उत्पन्न गराइरहेको अन्तर्राष्ट्रिय समुदायको भनाइ छ। त्यहाँ उत्पन्न संकटबारे क्षेत्रीय शक्ति अमेरिकालगायत मुलुकले बोले पनि नेकपाले अनावश्यक टिप्पणी गरेको स्रोत बताउँछ।
भेनेजुयलामा निर्वाचित राष्ट्रपतिलाई मान्यता नदिएर त्यहाँको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै नेकपाले अमेरिकालगायत पश्चिमा मुलुकको निन्दा गरेको थियो। नेकपा अध्यक्ष दाहालले अघिल्लो शुक्रबार विज्ञप्ति जारी गरी अमेरिकाले भेनेजुयलाका जनतामा विभाजन ल्याउन खोजेको र स्वघोषित राष्ट्रपतिलाई मान्यता दिएर निर्वाचित राष्ट्रपतिविरुद्ध षड्यन्त्र रचेको आरोप लगाएका थिए।
दाहालको विज्ञप्तिप्रति नेपालस्थिति अमेरिकी दूतावासले गम्भीर चासो देखाएको थियो। अमेरिकाले चासो देखाएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भेनेजुयला प्रकरणलाई नेपालले नजिकबाट हेरिरहेको र कुनै मुलुकको आन्तरिक विषयमा बाह्य हस्तक्षेप हुन नहुने बताएको थियो। सरकारले तटस्थ किसिमको धारणा सार्वजनिक गरे पनि अमेरिका आश्वस्त हुन नसकेको स्रोत बताउँछ।
भेनेजुएलाको आन्तरिक मामिलामा ‘साम्राज्यवादी अमेरिका’ ले हस्तक्षेप गरेको भन्दै विज्ञप्ति जारी गर्नुपूर्व प्रचण्ड पत्नी सीताको उपचारका लागि अमेरिका जाने तयारीमा थिए। ‘पत्नी सीताको उपचारका लागि प्रचण्ड माघ पहिलो साता अमेरिका जाँदै थिए’ स्रोतले भन्यो, ‘यसका लागि काठमाडौँस्थित अमेरिकी दूतावासले सहजीकरण गरिदिएको थियो।’
तर, मौसमममा आएको अचानक परिवर्तनका कारण सीता बिरामी भएपछि उनको उपचार धापाखेलस्थित सुमेरु अस्पताल हुन थाल्यो। उपचारको लागि उनी माघ ६ गते भर्ना भएकी थिइन्। सीता हप्ता दिन बढी बिताएर सुमेरु अस्पतालबाट १४ माघमा ‘डिस्चार्ज’ भएपछि अमेरिका जाने तयारी भयो। तर, अमेरिकाले अप्रत्यक्ष रुपमा अनुमति नदिएपछि सीतालाई अमेरिका लैजाने कार्यक्रम तत्कालका लागि प्रचण्ड परिवारले स्थगित गर्न बाध्य भयो।
त्यसको कारण हो, भेनेजुएला प्रकरणमा नेकपा अध्यक्षका हैसियतमा प्रचण्डले ११ माघमा जारी गरेको त्यही कडा विज्ञप्ति जारी गर्नु। सोही विज्ञप्ति निकाले लगत्तै काठमाडौँस्थित अमेरिकी दूतावासले सत्तारुढ दलका अध्यक्ष प्रचण्डको विज्ञप्तिप्रति सरकारको धारणा माग गरेको थियो।
अमेरिकी चासोप्रति मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले नेपाल सरकारका तर्फबाट आफ्नो धारणा सार्वजनिक गरिसकेको छ, १५ माघमा। परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा कुनै मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने नेपाल सरकारको मूल नीति रहेको स्मरण गराइएको छ।
नेपाल सरकारको धारणाका रुपमा आएको परराष्ट्र मन्त्रालयको प्रचण्डको विज्ञप्तिसँग मिल्दोजुल्दो छ, जसबाट काठमाडौँस्थित अमेरिकी दूतावासका अधिकारीहरु सन्तुष्ट छैनन्। पत्नीको उपचारका लागि अमेरिका जाने योजना बनाएका प्रचण्ड परिवार यही कारण त्यसबाट पछि हटेको छ।
प्रतिक्रिया