Logo

प्रमुख समाचार

संघीयता विरोधी होइनौँ, संरचना व्यवस्थित बनाउन चाहन्छौँ : मनिष झा



 

जनकपुर। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले आफ्नो पार्टी संघीयताको विरोधी नभएको बताएका छन्।

उनले संघीय संरचनालाई थप व्यवस्थित, चुस्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै प्रदेश सभा र प्रदेश परिषद्को अवधारणालाई अघि बढाउनुपर्ने बताए।

जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै झाले रास्वपा संघीयताको विपक्षमा नभई यसको कार्यान्वयनलाई प्रभावकारी बनाउने पक्षमा रहेको स्पष्ट पारे। संघीयताको मर्मअनुसार संरचनालाई व्यवस्थित बनाउन प्रदेश सभा र प्रदेश परिषद्को परिकल्पनातर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो।

‘हामी संघीयताको विरोधी होइनौँ, बरु हामी संघीयतालाई अझ व्यवस्थित, चुस्त र दुरुस्त बनाउन चाहन्छौँ। हामी प्रदेश सभा र प्रदेश परिषद्को परिकल्पनातर्फ जान चाहन्छौँ,’ झाले भने।

उनले गत निर्वाचनमा मधेसमा रास्वपाले उल्लेख्य मत प्राप्त गरेको उल्लेख गर्दै आगामी स्थानीय तह निर्वाचनमा पनि पार्टीको पक्षमा जनमत निर्माण गर्न आग्रह गरे। त्यसका लागि पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने उनले बताए।

मधेसी समुदायभित्र देखिने आपसी विवाद र आरोप–प्रत्यारोपको प्रवृत्तिप्रति पनि झाले असन्तुष्टि जनाए। यस्तो प्रवृत्तिको अन्त्य गर्दै राजनीतिक अभ्यासलाई अध्ययन, विचार र संस्कारमा आधारित बनाउनुपर्नेमा उनले जोड दिए। सुसंस्कृत राजनीतिक संस्कारको विकासले मात्रै राजनीतिक अभ्यासलाई परिपक्व बनाउन सक्ने उनको भनाइ थियो।

संघीयताको कार्यान्वयन र प्रदेश संरचनाको प्रभावकारिताबारे राजनीतिक बहस भइरहेका बेला झाको अभिव्यक्तिले रास्वपाको संघीयतासम्बन्धी धारणा स्पष्ट पार्ने प्रयास गरेको छ।

उनले संघीयताको विरोधभन्दा पनि विद्यमान संरचनालाई थप प्रभावकारी र व्यवस्थित बनाउने विषयलाई प्राथमिकतामा राखेका छन्।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आईतवार २०:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।