Logo

राजनीति

सतहमा नेकपा आन्तरिक द्वन्द : कोल्टे फर्के प्रचण्ड, पार्टि फुटाउन अध्यक्षद्वयकै सक्रियता



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । खासै विवाद नभएको नेकपा नेताहरुले देखाएपनि शिर्ष नेता फटाउने कार्य सुरु भएको छ । यहि कारणले नेकपामा शिर्ष नेताहरुबीच प्रतिष्पर्धा समेत सुरु भएको छ ।

तत्कालीन एमालेको केन्द्रीय नेतृत्वबीचको विवादकै कारण नेकपामा सामेल अर्को पार्टी तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड यतिबेला नेकपाको संस्थापन र असन्तुष्ट पक्षबीचको असन्तुष्टिलाई उपयोग गरेर राजनैतिक लाभ लिने दाउमा लागेका छन् ।

विगतमा पार्टी अध्यक्ष केपी ओलीले आफूलाई धोका दिएको आवेगमा दलका आन्तरिक राजनीतिमा नेताहरुलाई लडाएर आफ्नो बदला लिने कसरतमा लाग्नु भएका नेकपाकै प्रभावशाली नेता वामदेवको राजनीतिक दाउपेचमा यतिबेला दलका केही शीर्ष नेता मोहोरा बनेको बताइए पनि यथार्थमा वामदेवको रणनीतिमा प्रचण्डले आफूलाई केन्द्र भागमा राख्न खोज्नु भएको हो भन्ने पंक्ति तत्कालीन एमाले र माओवादी दुवैमा देखिन थालेको छ ।

कुनै बेलामा ओलीका विश्वासपात्र र भरपर्दा सहयोगी रहिसक्नु भएका वामदेवलाई नै ओलीले धोका दिएको प्रसंगमा पार्टी एकताका विषयमा बाहेक सरकारले गर्ने राजनैतिक नियुक्तिलगायतका विषयमा ओलीले आफूसँग कुनै सरसल्लाह नगरेकै कारण पनि प्रचण्ड यतिबेला ओलीसँग विश्वस्त हुन नसक्नु भएको अवस्थालाई एमालेकै माधव नेपाल र वामदेवले आफूअनुकूल प्रयोग गर्न खोजिरहेको बताइन थालिएको छ ।

कारण उनी पनि दलको आन्तरिकि राजनीतिमा अस्थिर देखिने गरेको स्वयं पूर्व माओवादी केन्द्रकै नेताहरु बताउन थालेका छन् । पार्टी एकता गर्दाताका सम्पूर्ण राजनैतिक सहमति प्रचण्ड र ओलीबीच नै भएको र यसमा अर्को कुनै नेताको संलग्नता नरहेकै कारण प्रचण्डको प्राथमिकतामा यतिबेला ओली नै पर्नु भए पनि प्रचण्ड कतिपय बेला भने ओलीप्रति नै सशंकित हुने गरेकाले यस्तो देखिएको पूर्व माओवादीस्रोतको भनाइ छ ।

यता पार्टी एकताका विषयसँग सम्बन्धित निर्णय प्रचण्डसँगकै सहमति र सल्लाहमा गरिए पनि भएको कतिपय निर्णयको स्वामित्व प्रचण्डले नलिइदिँदा पार्टी सभापति तथा प्रम ओलीसमेत प्रचण्डप्रति सशंकित हुने स्थिति निर्माण भएको छ ।

पछिल्लो समय कार्यदलका विषयमा पार्टी भित्र उठेको बहस र कार्यदल विघटनसँगै बहुमतको विषयका सन्दर्भमा प्रचण्डकै विश्वासिला ऊर्जामन्त्री वर्षमान पुन र लखराज भट्टले हिसाबले देखाएको उपस्थितिले समेत प्रमको शंकालाई बलियो बनाइदिएको छ ।

काठमाडौं–७ का सांसद रामवीर मानन्धरको राजीनामा र वामदेवको उम्मेदवारीको प्रसंग पनि सरकार र पार्टी एकतालाई कमजोर बनाउने कडीमै आएको दाबी गर्दै अहिले पनि दलमा त्यही तत्व सक्रिय भएर लागेको स्रोतले बताएको छ ।

एकता महाधिवेशनसम्म दलका दुवै अध्यक्ष एक भएर जानेमा कुनै शंका नभए पनि दुवैको सम्बन्ध भने आरोह अवरोहमै गुज्रन सक्नेमा भने कुनै शंका छैन । स्रोतले यी दुई नेता मिल्न चाहे पनि उहाँनिकटका केही व्यत्तिल र दलभित्रको एउटा शक्तिले मिल्न नदिई पार्टी नै अस्थिर बनाउन भने सक्रिय रहने बताएको छ ।

पहिल्लो समय देखिएको प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी र वामदेवबीचको निकटता पनि यसैको एक कडीका रुपमा बुझ्नुपर्ने र कार्यदलका विषयमा पुन र भट्टले राख्नु भएको अडान पनि यसैको अर्को श्रृंखला रहेको बताएको छ ।

हाल अवरुद्ध नेकपा एकीकरण प्रक्रियालाई अन्तिम रुप दिने कामको जिम्मेवारी पाएको रामबहादुर थापा नेतृत्वको कार्यदल विघटन भएसँगै सत्तारुढ दलको शीर्ष तहमा देखिएको पछिल्लो अन्तर्विरोधले पनि यसै तर्फ संकेत गरेको छ ।

पार्टी एकतालाई अन्तिम टुंगो लगाउन गठित अन्तर्विरोधले हाल दलमा हाइकमान्डका रुपमा काम गरिरहेको सचिवालयसमेत प्रभावित हुन पुगेको छ ।

प्रम तथा नेकपा अध्यक्ष ओली पार्टी एकता टुंग्याउने विषयमा अनिच्छुक रहेकाले एकताप्रक्रियामा जटिलता थपिएको प्रतिक्रिया सार्वजनिक भइरहेकै बेला कार्यदल विघटनको निर्णयले सार्वजनिक आशंका यथार्थमा परिणत भएको बताइन थालिएको छ ।

हाल प्रचण्डसमेत ओलीका कार्यशैलीको आलोचक बन्दै जानु भएको र ओलीसँगको दूरी बढ्दै गएकै कारण पनि ओलीलाई एकताप्रक्रिया लम्ब्याउने दबाब उहाँकै निकटतमहरुबाट पर्ना थालेको छ ।

अहिलेसम्म ओलीलाई साथ दिँदै आउनु भएका प्रचण्ड यतिबेला पार्टी एकता, पोलिटब्युरो गठन लगायतका मुद्दामा माधव नेपाल, झलनाथ खनाल र वामदेवको कित्तामा उभिन पुग्नु भएको छ–जसले कार्यदलमार्फत पार्टी एकताप्रक्रिया टुंगो लगाउनुपर्छ भन्ने मतमा यतिबेला दलमै ओली अल्पमतमा आइपुग्नु भएको छ ।

प्रचण्ड असन्तुष्ट पक्षतर्फ कोल्टे फिर्नासाथ यतिबेला सचिवालयको संरचनामा प्रचण्ड र माधवको पक्षमा पाँच जना अनि ओलीका पक्षमा उहाँ, अहिलेसम्म खुल्नु भएको छैन ।

थापा निकट स्रोतकाअनुसार यतिबेला पार्टी भित्र उहाँ मध्यमार्गी धारमा उभिनु भएको छ । उद्यपि थापा पनि ओलीकै पक्षमा उभिनु भए पनि ओलीलाई बहुमत पुग्दैन ।

यस्तो अवस्थामा ओली र उहाँनिकट नेताले पार्टी एकताप्रक्रियालाई अघि बढाउँदा आफ्नो स्वार्थ रक्षा नहुने देखेकै कारण यतिबेला एकताप्रक्रियालाई जतिसक्दो पर धकेल्ने रणनीतिमा ओली पक्ष लागेको बताउन थालिएको विमर्शमा उल्लेख छ ।

तर, उता असन्तुष्ट समूहका नेता भने, पार्टी एकता प्रक्रियालाई चाँडो टुंगो लगाएर ओलीको नेतृत्वमा चलिरहेको सरकारलाई समेत दलले अभिभावकत्व दिनुपर्ने लाइनमा एक मत रहेको बताइन्छ ।

प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार  ९ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।