बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन्। १४ जना क्वारेन्टाइनमा छन् ।
उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए-नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले बेलायतबाट सीधै र अन्य मुलुकबाट बेलायत ट्रान्जिट हुँदै आउने नागरिकलाई निगरानीमा राखिएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले बुधबार बसेको नयाँ भाइरसको स्वरूप नेपालमा भित्रिएको छ÷छैन भन्नेबारे अध्ययन गर्ने निर्णय गरेको थियो।
नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत बुधबार रातिदेखि लागू हुने गरी बेलायत र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाई सेवालाई सर्कुलर गरेको थियो।
त्यसअघि नै बेलायतबाट नेपाल भित्रिएकामध्ये केही व्यक्तिको स्वाब संकलन गरी जिन सिक्वेन्सिङद्वारा आनुवंशिक संरचनाको अध्ययन गर्न लागिएको डा। गौतमले बताए।
मन्त्रालयले पुस पहिलो साता बेलायतबाट आएका नागरिकले अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने र प्रयोगशालामा स्वाब परीक्षण गर्न आग्रह गरेको छ। अन्नपूर्ण पोस्टबाट
कोरोनाका बिरामीको उपचारमा पैसा छैन, चुनावमा ८ अर्ब सकाउने सरकारको योजना
आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आठ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।
निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगका विभिन्न महाशाखा र शाखाहरू निर्वाचनको तयारीमा जुट्ने क्रममा निर्वाचनका लागि चाहिने बजेटको आकलन गरिएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भन्दा यस निर्वाचनमा अझ बढी खर्च हुने अवस्था रहेको बताए ।
तीन वर्षअघि प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचन सँगसँगै हुँदा सात अर्ब ७५ करोड ९५ लाख ३७५ रुपियाँ खर्च भएको थियो । यो आयोगका तर्फबाट मात्र भएको खर्च हो । सुरक्षा संयन्त्र परिचालन गर्न गृह मन्त्रालयमार्फत गरिएको खर्च यसमा समावेश छैन । त्यस्तै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाबाट भएको खर्च समावेश छैन र त्यस्तो खर्चको व्यवस्थित तथ्याङ्क राखिने गरिएको छैन ।
कोरोना भाइरसको महामारीका कारण निर्वाचनको तयारीदेखि मत गणना र नतिजा सार्वजनिक गर्ने प्रक्रियासम्म पुग्दा स्वास्थ्यका सबै मापदण्ड अपनाउनुपर्ने भएकाले थप जनशक्ति परिचालन गर्दा खर्च अझ बढ्ने भनाइ प्रवक्ता श्रेष्ठको छ ।
निर्वाचनका लागि केन्द्रदेखि मतदान केन्द्रसम्म सञ्चालन गरिने निर्वाचन सञ्चालनसम्बन्धी तालिमका लागि होस् वा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दा होस् कोरोनाबाट बचेर काम गर्नुपर्ने हुन्छ । निर्वाचन प्रयोजनका लागि पन्जा, सेनिटाइजर, थर्मल गन, स्प्रेलगायतका कतिपय थप सामग्री खरिद गर्नुपर्ने हुन्छ । अघिल्लो निर्वाचनमा यस्तो आवश्यक थिएन । गोरखापत्रबाट




















प्रतिक्रिया