Logo

विविध

अब २५ रुपैयाँमै पेटभरी दालभात तरकारी !



२५ रुपैयाँमा खाना १ सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो ।भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन् ।

मंगलबारबाट खाना खुवाउन थालिएको छ । शाहाकारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य राखेका छन् । विशेष गरी अस्पताल, सरकारी विद्यालय र मजदुरलाई कार्यस्थलमा फाउण्डेसनले घुम्ती सेवाबाट खाना खुवाउने छ ।

याे पनि पढ्नुहाेस्

भात छाड्ने तक्मे, योग गर्ने गजुरेलः यस्तो छ सेलिब्रेटीको हेल्थ फर्मुला

नेपाली सेलिब्रेटीको दैनिकी धपेडीमा बित्छ । कहिले सुटिङमा, कहिले स्टेज शोमा । कहिले अन्र्तवार्तामा, कहिले भेटघाटमा । उनीहरुलाई बेफुर्सदिला हुन्छन् ।

न थाकेको भन्न पाइयो, न अल्छी लागेको भन्न पाइयो । कार्यक्रमको तालिका अनुसार आफुलाई डोहोर्‍याउनुपर्छ । खाने, बस्ने, सुत्ने, उठ्ने कुनै निश्चित तालिका हुँदैन । कहिले राती अबेरसम्म बस्नुपर्छ, कहिले बिहान सबेरै उठ्नुपर्छ । यस्तो धपेडीबीच पनि उनीहरु कसरी सुकिलामुकिला देखिन्छन् ? कसरी फिट एन्ड फाइन रहन्छन् ?

पक्कैपनि, यी सेलिब्रेटी आफ्नो स्वास्थ्य र तन्दुरुस्तीका लागि खानपानदेखि व्यायामसम्म विशेष ध्यान दिन्छन् । जस्तो कुरा गरौं, मनोज गजुरेलका ।

योग साधनामा गजुरेल

स्ट्यान्ड-अप कमेडियन स्टेजमा ‘ननभेज’ देखिन्छन् । उनको तडकभडक बेग्लै हुन्छ । यद्यपी गजुरेलको खाना सादा हुन्छ । अर्थात पूर्णत शाकाहारी । उनी मासु खादैनन्, मदिरापान गर्दैनन् । त्यतीले मात्र पनि उनलाई तगडा राखेको छैन । गजुरेल हरेक बिहान मस्त व्यायाम एवं योग गर्छन् ।

योग-साधनामा अभ्यस्त छन् उनी । उनको बिहानी नै योगबाट हुन्छ । गजुरेल योगका निकै कठिन मानिने आसन समेत सहज रुपमा गर्छन् । अनुलोम-बिलोम, कपलभाँती जस्ता प्राणायाम पनि गर्छन् ।

पैदल हिँड्ने दीलिप रायमाझी

त्यसो त नायक दीलिप रायमाझी अहिले उति लाइमलाइटमा छैनन् । यद्यपी आफ्नो जमनाका सुपरहिट नायक हुन् उनी, जसले दर्पणछायाँ, जिन्दगानी जस्ता दर्जनौ हिट फिल्म दिए ।

हेर्दा रसिलो-पोटिलो यी अभिनेता पनि पूर्ण भेज हुन् । उनले जन्मजात मासुमंस खाएका छैनन् । शाकाहारी भएपनि उनलाई मासु खानेसँग घृणा छैन । न त घिन नै । उनी फिट एन्ड फाइन रहनुको अर्को कारण छ, नृत्य ।

यसै त उनी नृत्यमा पोख्त छन् । हरेक साँझ-बिहान उनी नाचेर पसिना बगाएकै हुन्छन् । त्यसबाहेक दीलिप पैदल हिँड्छन् । माक्सले मुख ढाक्छन्, क्यापले टाउको छोप्छन्, चस्मा लगाउँछन्, ब्याग भिर्छन् र बेपर्वाह पैदल हिँड्छन् । उनी सकेसम्म गाडी चढ्दैनन् ।

भात छाडेका विल्सन विक्रम राई

विल्सन विक्रम राईलाई नजिकबाट चिन्नेहरु भन्थे, ‘भाते ।’ भाते भूँडी लागेका उनी भातका अम्मली नै थिए । बिहान भात खान्थे, दिउँसो भात खान्थे, अपराहन्न भात खान्थे, साँझ भात खान्थे र मौका मिले राती पनि भात खान्थे ।

तर, भाते भुँडी बढ्दै गएपछि उनले आफ्नो स्वास्थ्य ‘डेन्जर जोन’मा पर्ने खतरा देखे । अन्ततः चटक्कै भात छाडे ।

भातमा रस भिजेका, भात भनेपछि हुरुक्कै हुने र जति भात खाएपनि मन नअघाउने यी तक्के बुढा अहिले भात खाँदैनन् । बेलाबखत खाएपनि एक कचौरा मात्र । त्यतीमात्र होइन, सेतो खानेकुरा उनले सबै छाडे, जस्तो मैदा, अजिनामोटो, नुन, चीनी, चामल ।

विल्सनले खानपानमा मात्र ध्यान दिएका छैनन् । उनी वर्कआउटमा पनि निकै लगाव राख्न थालेका छन् । अहिले उनी पैदल हिँड्छन् । न मोटरसाइकल चढ्छन्, न कार । सार्वजनिक यातायात पनि चढ्दैनन् । बरु कस्सिएर हिँड्छन्, पैदल ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी रंगीन जीवनशैलीका लागि चिनिन्छन् । अक्सर लफडाबाजीमा पर्ने, सुरा र सुन्दरीसँग जोडिने, चमकदमकमा विश्वास गर्ने उनी ननभेज हुन् ।

तर, भुवन पुत्र अनमोल केसी ठिक विपरित छन् । अनमोल खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा पिउँछन्, न चुरोट । न मासु खान्छन्, न अस्तव्यस्त हुन्छन् ।

अनमोल निश्चित समयमा सुत्छन्, निश्चित समयमा उठ्छन् । उठ्नसाथ मन्त्रोच्चारण गर्छन्, भगवान कृष्णको नाममा । त्यसपछि उनी सरसफाईमा, व्यायाममा खटिन्छन् । व्यायामपछि ब्रेकफास्ट लिन्छन् । अनमोलको दैनिकी सन्तुलित हुनेगर्छ । उठ्ने, सुत्ने, खाने, पिउने तालिका एकनासे । हरेक रात कम्तीमा सात घण्टा सुत्छन् । हेल्दी खानेकुरा खान्छन् । सकेसम्म उसिनेको । भेज ।

याे पनि पढ्नुहाेस्

निगुरोः कति स्वादिलो, कति पोषिलो ?

वर्षा लागेको छ । यतिबेला बनजंगलमा च्याउ, निगुरो पाइन्छ । कतिपयले जंगलबाट खोजेरै तरकारीको छाक टार्ने गर्छन् । कतिपयले निगुरो, च्याउ बेचेर पैसाको जोहो पनि गर्छन् ।

निगुरो रोप्न पर्दैन । बनजंगलमा आफै पलाउँछ । यो उन्यु प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।

निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ । पहाडमा कालो निगुरो बढी रुचाइन्छ । यसैगरी तराईमा हरियो ।

निगुरो यतिबेलाको मौसमी सागसब्जी हुन् । बनजंगलमा आफै उम्रने भएकाले यसमा कुनै रासयनिक मल वा विषादी प्रयोग हुँदैन । अर्थात यो पूर्णत जैविक हुन्छ ।

अहिले हामीले खाने धेरैजसो सागसब्जी विषादी मिसाइएको हुन्छ । व्यवसायिक ढंगले उत्पादन गरिएका सागसब्जीमा रासयनिक मल, किटनासक औषधी प्रयोग गरिन्छ । यस्ता सागसब्जी फलाउन, बढाउन, भण्डारण गर्न पनि रसयान वा विषादी मिसाउने गरिन्छ ।

कसरी खाने ?

निगुरो तरकारीको रुपमा प्रयोग गरिन्छ । नेपालीको सायदै यस्तो भान्सा होला, जहाँ निगुरो पाकेको छैन । वर्षायाम लागेसँगै कतिले बनजंगलबाट खोजेर र कतिले बजारबाट किनेर निगुरो पकाउने गर्छन् ।

निगुरोलाई भुटेर वा आलुसँग मिसाएर पनि सेवन गर्न सकिन्छ ।

कति पोषिलो ?

निगुरो खानुको फाइदै फाइदा छन् । आफै बनजंगलमा गएर खोज्ने हो भने भान्साको खर्च कटौती हुने भयो । बनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो । पोषणविद्हरुले निगुरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन् । निगुरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको उनीहरुको भनाई छ ।

के हुन्छ त निगुरोमा ?

पोषणविद्हरु भन्छन्, ‘यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ ।’ बालबालिका र गर्भवती महिलालाई त निगुरो अरु बढी लाभदायक छ । किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ । अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन ।

पोषणविदहरुले यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाईने भएकाले कुनैपनि किसिमको हानी नहुने बताएका छन् ।

तर, सर्तक हुनुपर्छ

निगुरो जस्तै देखिने सबै वनस्पति खान लायक भने हुँदैन । कतिपय निगुरो जस्तै देखिने वनस्पति विषाक्त हुन्छ । निगुरोको तरकारी टिपेर खाँदा कतिपय विरामी परेको खबर पनि बारम्बार आउने गर्छ । त्यसैले आफुले चिनेको अवस्थामा मात्र निगुरो खोज्ने, टिप्ने वा किन्ने गर्नुपर्छ ।

याे पनि पढ्नुहाेस्

पैसा खाने भगवान

सृष्टिका रचयिता, चराचर जगतलाई आफ्नो अधिनमा राख्ने भगवान पैसाका भोगी हुन् ? उनलाई पैसा चाहिन्छ ? धन-दौलत चाहिन्छ ?

यदि भगवानलाई पैसा नचाहिने भए हामी किन मठ-मन्दिरमा गएर भेटी चढाउँछौ ? किन ‘धर्म’को नाममा खुलेका संघ-संघठनलाई दान दिन्छौ ?

तपाईंले याद गर्नुभएकै होला, मठ-मन्दिर, धार्मिस्कथलका अघिल्तिर फूल, प्रसादसँगै पैसा (भेटी) पनि खरिद गर्न सकिन्छ । मठ-मन्दिरमा चढाउनका लागि पैसा साट्ने व्यवस्था पनि हुन्छ । यसैगरी तपाईंले देख्नुभएकै छ, मान्छेले भगवानको नाममा भेटी (पैसा) चढाइरहेका हुन्छन् ।

तिर्थस्थलमा, मठ-मन्दिरमा, खोलानालामा पैसा चढाइन्छ । भगवानको नाममा एउटा ढुंगा गाडियो भने त्यहाँ पनि अबीर र अक्षतासँगै पैसा चढाइन्छ । पैसा मात्र होइन, कतिपयले मूल्यावन धातु पनि चढाउने गर्छन् । ठूल-ठूला मठ-मन्दिरमा त यसरी चढाइने पैसा एवं धन-सम्पति कति हुन्छ, कति । हामी सुन्छौ, कतै बोरामा पैसा भण्डारण गरिन्छ । कतै पैसा कुहिएर नष्ट हुन्छन् ।

धर्मको नाममा यसरी भेटी (पैसा) चढाउने प्रवृत्ति जताततै हुन्छ । चाहे त्यो हिन्दुको नाममा होस् वा ईसाइको वा त अरु कुनैको । कतिपय धार्मिक संघ-संगठन पनि छन्, जहाँ पैसाकै चलखेल बढी हुन्छ ।

के देवी-देवतालाई यत्तिका पैसा खाँचो होला ? पैसा नचढाए हाम्रो भाकल पुरा हुँदैन ? हाम्रो मनोकांक्षाको सुनुवाई हुँदैन ?

अहिले कतिपय ‘धार्मिक संस्था’का सदस्यहरु तपाईंकहाँ आउँछन् र ललाई-फकाइ गर्छन् । उनीहरुले केही डर देखाउँछन्, केही लोभ देखाउँछन् । आखिरमा तपाईं उनीहरुको सर्त बमोजिम ‘धर्म’ परिवर्तन गर्नुहुन्छ वा नयाँ ‘धर्म’ अंलाग्नुहुनेछ । अनि सुरु हुन्छ पैसाको खेल ।

तपाईंले आर्जन गरेकोमध्ये दश अंश पैसा त्यही संस्थामा बुझाउनुपर्ने सर्त राखिन्छ । त्यतीमात्र होइन, पोस्टर, पुस्तक, क्यालेन्डर पनि तपाईंले खरदि गर्नुपर्ने हुन्छ । अहिले तथाकथित धर्मगुरुहरु तपाईंको घर आँगनमा आएर तपाईंलाई फकाउन सक्छन् । लोभ्याउन सक्छन् । जब तपाईं उनीहरुको सर्त पालना गर्दै जानुहुनेछ, तपाईंको गोजी रित्तिदै जानेछ ।

धार्मिस्थल वा धार्मिक संस्थाको नाममा यसरी भेटी (पैसा) चढाएर पूण्य हुन्छ ? स्वर्गको ढोका खुल्छ ? इश्वरको कृपा प्राप्त हुन्छ ?

भगवान र पैसाको अस्तित्व

जतिबेला पैसाको अस्तित्व थिएन, त्यसबेला ईश्वर एवं भगवानको अस्तित्व स्विकारिन्थ्यो । पैसा एक भौतिक कुरा हो, जसले धर्म किन्ने, बेच्ने काम गर्न सकिदैन । भगवानलाई लोभ्याउने वा चिढाउने पनि गर्न सकिदैन ।

तैपनि हामी पैसा चढाउँछौ र आँखा चिम्लेर भगवानसँग भन्छौ, ‘मेरो फलानो काम पुरा गराइदेऊ ।’

खासमा हामी पैसा दिएर भगवानलाई आफ्नो वशमा पार्ने यत्नमा हुन्छौ । पैसा दिएपछि भगवानले हामीमाथि कृपा गर्छ भन्ने सोच्छौ । पैसा चढाएपछि नै भगवानले हाम्रो मनोकांक्षा पुरा गरिदिन्छ भन्ने लाग्छ । त्यसो नहुँदो हो त हामी मठ-मन्दिर, खोलानाला, तिर्थव्रतमा भेटी नै चढाउने थिएनौ ।

अन्धविश्वास एवं ढोंग

खान लाउनै नपुग्नेहरु पनि भगवानको नाममा आफ्नो गच्छे अनुसार भेटी चढाउँछन् । हुनेखानेहरु प्रचार-प्रसार गरेरै सक्दो धन-सम्पति, पैसा चढाउँछन् । कतिपयले धार्मिक समारोह आयोजना गरेर पैसा चढाउने गर्छन् ।

अहिले टोल-टोलमा समुदायले नै मठ-मन्दिर बनाएका छन् । त्यस्ता मठ-मन्दिरलाई पैसा आर्जन गर्ने माध्याम पनि बनाएका छन् । मठ-मन्दिरमा पूजाआजा गर्न, बिहेकार्जे गर्न निश्चित पैसा उठाइन्छ । त्यसबाहेक नियमित दर्शन गर्नेहरुबाट प्राप्त हुने भेटी पनि संकलन गरिन्छ । यसरी मन्दिर र भगवानको नाम गरेर पैसा कमाउने काम गरिन्छ ।

पैसा खाने भगवान

वास्तवमा हामीले भगवानलाई जुन भेटी चढाउँछौ, मठ-मन्दिरमा जसरी पैसा दान गर्छौं, पूजा-अनुष्ठान लगाएर जति पैसा खर्चन्छौं, ति सबै पैसा भगवानले पाउने होइन ।

भगवान पैसाको लोभी पनि छैनन् । भगवानलाई पैसाको खाँचो पनि छैन ।

वास्तवमा यो धर्म, भगवान आदिको नाममा गरिने धन्दा हो । भगवानको नाममा जतिसुकै भेटी, जतिसुकै पैसा चढाएपनि त्यसबाट हामीलाई कुनै प्रतिफल मिल्ने होइन । खासमा भगवानको नाम गरेर वा धार्मिक संस्थाको नाममा पैसा असुल्ने काम अरुले नै गर्छन् । आस्था र विश्वासलाई पैसा आर्जनको मेलो बनाइन्छ । खासमा भगवानले पैसा माग्दैनन् । भगवानको नाम गरेर अरुले नै यसको उपभोग गर्छन् ।

लोभ, मोह, आशक्तिको त्याग

सदियौंदेखिको चलन हो, मठ-मन्दिरमा भेटी चढाउनु । धार्मिकस्थलमा पनि हामी भेटी चढाउँछौ । खोलानालामा चढाउँछौ । यो प्रचलन भने त्यतीकै चलेको होइन ।

खासगरी मन्दिर धाउनु, पूजाआजा गर्नु, तिर्थव्रत गर्नु भनेको मनको शुद्धिकरण गर्नु हो । मनमा आध्यात्मिक जागरण ल्याउनु हो । वैरभाव, इष्र्या, भय, लोभ, मोह, दम्भ पखाल्नु हो । किनभने हामी यिनै विकार बोकेर समाजमा एकअर्कासँग लडाई, झगडा, सत्रुता, तित्तता, प्रतिशोध मोलिरहेका हुन्छौ । जबकी यसबाट हाम्रो उन्नती हुने होइन, बरु हामी थप भ्रष्ट र नष्ट हुँदै जाने हो ।

सांसरिक जीवनमा हामी पैसा, मोजमस्ती, ऐशआरमको चक्करमा हुन्छौ । यतिबेला हामी जीवन र जगतको मूल्य नै भुलिरहेका हुन्छौ । यसरी भौतिक भोग-विलासमा हराइरहेका हामीलाई जीवनको मूल्य बुझाइदिने काम धर्म, संस्कार, परम्पराले गराउँछ ।

मठ-मन्दिरमा पैसा वा भेटी चढाउनु पनि यस्तै एक संकेत हो ।

यसको संकेत हो, धन-दौलतप्रतिको आशक्ति त्याग्नुपर्छ । धन-दौलतप्रतिको मोह त्याग्नुपर्छ । साथै यो समर्पण पनि हो, भक्ति-भावको ।

अर्को कुरा चाहि मठ-मन्दिरको संरक्षणमा खटिएका पूजारी, गुरुहरुको सहयोगार्थ पनि पैसा, भेटी दिइएको हो । कतिपय सामाजिक काममा लागि पनि भगवानको नाममा पैसा उठाउने प्रवृत्ति छ । महापुराण जस्ता धार्मिक समारोह आयोजना गरेर पैसा संकलन गर्ने र आपत-विपतमा खर्च गर्ने चलन पनि विगतदेखि नै चलिआएको हो । यसरी धर्मको नाममा भेटी, दान दिने र लिने काम भएको हो ।

तर, अहिले यसको अर्थ खोजिदैन । बुझिदैन । अन्धभक्त भएर हामी भेटी चढाउँछौ । दान दिन्छौ । यसरी दिएको दान, भेटी अर्थपूर्ण हुनुपर्छ । यसले कसैको उपकार हुनुपर्छ । यदि हामीले अन्धधुन्द मठ-मन्दिरमा पैसा चढाउने, देवी-देवताको नाममा पैसा दिने, धार्मिक संस्थाहरुलाई पैसा सहयोग गर्ने काम गर्‍यौ भने यसले धर्मको नाममा भ्रष्ट प्रवृत्ति अरु मौलाउँदै जान्छ । धर्मको वास्तविक मर्म र मूल्य ओझेलमा पर्छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार १३:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।