Logo

फुटबल प्रतियोगिताको फाइनलमा भोजपुरको खावा र खोटाङको रतन्छा



दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा जारी ‘नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटबल कप’को फाइनलमा भोजपुरको खावा र खोटाङको रतन्छा भिड्ने भएको छ ।

पाँच दिनदेखि जारी अन्तर वडास्तरीय जिल्लाकै ठूलो पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत आज हुने फाइनल खेलमा साकेला गाउँपालिका-२ रतन्छा र टेम्केमयुम गाउँपालिका-५ खावा भिड्ने भएका हुन् ।

नेर्पा स्पोर्टस क्लबको आयोजनामा नेर्पास्थित सन्सारीडाँडा खेल मैदानमा बिहीबार सञ्चालित खेलमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाई ५-१ गोलअन्तरले पराजित गर्दै रतन्छा फाइनलमा पुगेको हो । यस्तै निर्धारित समयमा बराबरी २–२ गोलको स्कोर निस्केपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मालाई ट्राइब्रेकरमा हराउँदै खावाले फाइनलको पक्का गरेको हो । 

खावाले यसअघिको खेलमा पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीलाई ट्राइब्रेकरमै हराउँदै अघि बढेको थियो । खोटाङसहित विभिन्न छिमेकी जिल्लाका २३ वडा सहभागी सेभेन ए साइड प्रथम च्यालेन्ज कप फुटबल प्रतियोगितामा बाक्सिला र सोल्माले सेमी फाइनलिष्टमै चित्त बुझाउनुपरेको छ । 

प्रतियोगिताका प्रथम टोलीले नगद रु एक लाख एक हजार १११ र दोस्रो टोलीले रु ५५ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक वीरेन गुरुङले जनाएका छन् । प्रतियोगिताको सेमीफाइनलिस्ट दुई टोलीले जनही रु २० हजार १११ नगद पुरस्कार प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिए 

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई जनही रु दुई हजार १०० का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । हाइस्कोररलाई रु तीन हजार १०० तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु चार हजार १०० का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गर्ने आयोजक नेर्पा स्पोर्टस क्लबले जनाएको छ । प्रतियोगिताको फाइनल खेल आज (शुक्रबार)  दिउँसो २ बजेपछि हुने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम दिन विविध मनोरञ्जनात्मक कार्यक्रमसहित फाइनल खेल सञ्चालन गर्ने आयोजकको तयारी छ ।

प्रकाशित मिति : २४ पुष २०७७, शुक्रबार ११:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।