Logo

प्रमुख समाचार

रेसुङ्गामा एक महिने साउने मेला शुरु



जिल्लाको ऐतिहासिक तपोभूमी रेसुङ्गामा साउने मेला शुरु भएकोे छ । बिगतका वर्षहरूमा जस्तै यस वर्षपनि साउन १ गते देखि सुरु भएको मेला साउन महिना भरि नै चलिरहने छ ।

सदरमुकाम तम्घासलाई काखमा राखेर बसेको रेसुङ्गा धार्मिक, पौराणिक ऐतिहासिक एवं प्राकृतिक सौन्दर्यले भरीपूर्ण नेपालको तपोभूमी मध्ये एक हो । यसको विशाल र सुन्दरताले गर्दा यसले पर्यटकीय क्षेत्रका रुपमा पनि ख्याति पाउदै आएको छ । समुन्द्र सतहबाट ८ सय मिटर देखि २ हजार ३ सय ५० मिटर सम्म रहेको छ ।

ऋष्य श्रृङ्गले साधनाको स्थानको रुपमा रेसुङ्गामा आई गरेको भन्ने भनाई पनि छ । साथै श्रीकृष्णले रेसुङ्गामा बसी वाचन गरेको कथा अर्जुनले अर्जुन डाँडामा बसी श्रवण गर्दथे र रुरु क्षेत्रका तपस्वोहरुको बर्षे आश्रम रेसुङ्गा नै थियो भनेर भनिन्छ ।

महाप्रभु लक्ष्मी नारायण बाट निर्मित पोखरी हिन्दु धर्मालम्वीहरुका लागि सबै तिर्थ नदिको जल निर्मित पोखरी हो । यस ठाउँमा हरिशयनी, हरीबोधनी एकादशी र साउन महिना भरी स्नान गर्नेहरुको भीड लाग्दछ । यस पोखरीमा नुहाउनाले पापहरु नष्ट भई पुण्य प्राप्त हुने जनविश्वास रहँदै आएको छ ।

यस पहाडको नाम रेसुङ्गा रहनुमा बिभिन्न कारण र किम्बदन्तीहरु छन् । पहिला क्रेता युगमा महर्षि ऋष्य श्रृङ्गले यहाँ आश्रम बनाई साधना गरेका हुनाले उनै ऋषिको नामबाट रेसुङ्गा नामाकरण भएको हो भन्ने भनाई कत्तिको छ भने कसैको भनाई यो क्षेत्र मगरात क्षेत्र भएकोले यो मगर भाषामा रेस भनेको नुहाउनुमा उपसर्ग जोडेर रेसुङ्गा नामाकरण रहेको हो भन्ने भनाइ पनि कसैकसैको छ ।

रेसुङाको शिरमा निर्मित ४० फिट अग्लो भ्यू टावर चढेर दृश्य अवलोकन गर्दा साच्चै नै स्वर्गमा रहेको अनुभूति गर्न सकिन्छ यसबाट हेर्दा गुल्मीका अधिकाँश भू–भाग लगायत बाग्लुङ, स्याङ्जा, अर्घाखाँची पाल्पा र प्युठान सम्मको स्थानहरु स्पष्ट रुपले देख्न सकिन्छ । यसको महत्व र ब्यापकतालाई बुझेर प्रचार प्रसार र संरक्षणका निम्ति केही समय यता बिभिन्न क्षेत्रबाट सक्रियता देखाईएको साथै समग्र विकासका लागि गुरु योजना तयार कार्य सम्पन्न भईसकेको छ ।

एक महिनासम्म चल्ने मेलामा रेसुङ्गामा रहेको पोखरीमा साउन महिना भर स्नान गर्नाले अहिले सम्म गरिएका पापहरु नष्ट भई पुण्य प्राप्त हुने धार्मिक बिश्वास रहदै आएको रेसुङ्गा सरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताए । मेला अवधिभर धार्मिक प्रवचनसँगै रुद्री, चन्डी शिवजीको दैनिक पूजा संञ्चालन लगायतका विविध कार्यक्रमहरुको पनि आयोजना गरिएको भुसालले बताए ।

यसलाई आधार मानेर ग्रामिण पर्यटन प्यारालाईडिङ, चट्टान, आरोहण, पैदल यात्रा, घोडा चढी, माउण्टेन बाईकिङ जस्ता कार्यक्रम हरु अगाडी बढाउन सके यसको विकास अझै दु्रत गतिमा हुने सोकारवालाहरुले बताएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार १७:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।