पीएचडी अध्ययनको लागि जापान पुगेर अध्ययनसँगै ईन्टरनेटमा आधारित व्यवसाय (ई–कमर्श व्यवसाय)मा सफलताको सिँढी चढिरहेका ३ नेपाली युवाको कथा कम्ति रोचक छैन ।
ग्लोबल ई–कमर्शको दुनियामा अमेरिकापछिको दोश्रो प्रतिस्पर्धी बजारका रुपमा रहेको जापानमा इ–कमर्श व्यवसाय स्थापना गर्नु र त्यसलाई टिकाएर अघि बढाउनु चुनौतीपूर्ण विषय हो । तर चुनौतीलाई स्विकारेर अघि बढिरहेका छन् नेपाली युवा प्रकाशचन्द्र सापकोटा, जीवन अम्गाई र भरतसिंह नेगी । अम्गाई र नेगीले जापानको कोबे सिटीमा अवस्थित कोबे युनिभर्सिटिबाट अर्थशास्त्र र मेडिकल साईन्समा पिएचडी गरिसकेका छन् भने सापकोटा ओसाका युनिभर्सिटीमा वित्तिय अर्थशास्त्रमा पिएचडी अध्ययन गरिरहेका छन् ।
अध्ययनसँगै केही नयाँ काम गर्नुपर्छ भन्ने सोचिरहेका अम्गाई र नेगीको अर्का संघर्षशिल युवा सापकोटासँग जापानको कोबे सिटीमा भेट हुन्छ । अनि एक पाईलाबाट सुरु हुन्छ हजार माईलको यात्रा र जन्मन्छ रारामार्ट अनलाईन सपिङ्ग । अम्गाई र नेगी व्यवसायिक अनुभवको दृष्टिले नयाँ थिए भने सापकोटाले जापान जानुअघि नेपालमा मिडिया, बिज्ञापन एजेन्सी, आईटी लगायतको व्यवसायमा करिब एकदशक सफलताको अनुभव बटुलिसकेका थिए ।

झण्डै ६ महिनाको गहन अध्ययनपछि औपचारिक रुपमा कम्पनी सुरु गर्ने अठोटसहित उनीहरुले पुँजी संकलनको लागि जापानको ओशाका, नागोया, टोकियो जस्ता सिटीहरुमा नेपाली लगानीकर्ता भेटघाट कार्यक्रम आयोजना गरे । तर नेपाली व्यवसायीहरुले उनीहरुलाई पत्याएनन् । यसले उनीहरुमा केही नैरास्यता पैदा गराएको तर हिम्मत हारेनन् । र, अहिले उनीहरुलाई केही नेपाली, जापानिज र अमेरिकन लगानीकर्ताहरुले साथ दिइरहेका छन् । कम्पनीका संस्थापक निर्देशक प्रकाशचन्द्र सापकोटाका अनुसार सयौं नामहरु मध्येबाट नेपालको प्रख्यात ताल रारालाई जोडिने गरी कम्पनीको नामाकरण गरे ‘रारामार्ट’ राखियो । प्रारम्भमा फेसबुकमा आधारित बिक्रीबाट प्रारम्भ भएको रारामार्ट स्थापना भएको १ वर्षपछि अनलाईन स्वरुपमा प्रारम्भ भयो र हाल जापानमा चबचबmबचत।अय।वउबाट बजार विस्तार भइरहेको छ । यससँगै रारामार्ट जापानको टे«डमार्क तथा प्याटेण्ट दर्ता गर्ने सरकारी निकायबाट अन्तर्राष्ट्रिय टे«डमार्कका रुपमा दर्ता भइसकेको छ ।
पहिलो वर्षको बिक्रीबाट उत्साहित बनेका उनीहरुले रारामार्टलाई नेपालमा समेत विस्तार गर्ने सोचअनुरुप नेपालमा कम्पनी दर्ता गरेर साथ दिए उद्योगपति प्रदिपजंग पाण्डे, युवा उद्यमी कुशल जोशीले । केही मारवाडी समुदायका उद्योगीहरुले पनि साथ दिएका छन् । नेपालबाट मात्र करिब २० जना जति आवद्ध भइसकेका छन् रारामार्टमा ।

नेपालमा झण्डै १ वर्षदेखि रारामार्ट डटकमको नामबाट आन्तरिक रुपमा परिक्षण प्रशारण भईरहेको रारामाट केही समयअघि बजारमा लाईभ भएपनि कुनै प्रचारबिनै प्रशारित भइरहेको र केही दिनबाट बजारमा आउने बताउँछन् कम्पनीका संस्थापक निर्देशक सापकोटा । ‘पूर्णतया प्रबिधीमा आधारित व्यवसाय भएको हुँदा प्राविधिक पक्षको सफल परीक्षण नगरी बजारमा हल्ला गर्दा जस्तोसुकै जोखिम हुनसक्ने देखिएकोले केही ढिला गरी प्रचार अभियानमा निस्किएका हौं’ निर्देशक सापकोटाले भने ।
उनका अनुसार प्रारम्भमा रारामार्टको प्राविधिक निर्माण नेपालबाट सुरुवात भएपनि नेपाली कम्पनीबाट धोका खाएकोले हाल मुख्यगरी प्राविधिक निर्माणको कार्य अमेरिकाबाट हुँदै आएको छ । कम्पनीले नेपाल र जापानमा पनि ईनहाउस दक्ष आईटी ईञ्जिनियरहरु राखेर काम गर्दै आएको छ । चिनियाँ ईकमर्श जाईन्ट अलिबाबा ग्रुपका प्रमुख ‘ज्याक मा’लाई आदर्श ठान्ने कम्पनीका निर्देशक सापकोटा ‘मा’को संघर्ष र सफलताको कथाले उत्प्रेरित गरेको बताउँछन् ।
‘रारामार्ट’ जापानमा सस्तो अनलाईन सपिङ्ग
जापानको रोक्कोमिचीमा अवस्थित पार्कमा कोरिएको पहिलो बिजिनेश स्केचबाट सुरुभएको रारामार्टको मुख्य बिशेषता भनेको सस्तोमा गुणस्तरीय बस्तुहरु बिक्री गर्नु रहेको छ । अमेजन, राकुतेन जस्ता बिलियन डलरका विश्वका अब्वल सपिङ्ग कम्पनीहरुको उच्च तहको प्रतिष्प्रर्धा रहेको जापानमा कम्पनी टिकाउनु निकै चुनौतीपुर्ण रहेको बताउँछन अर्का निर्देशक डा. जीवन अम्गाँई । उनका अनुसार जापानमा रारामार्टले पहिलो चरणमा जापानमा बस्ने बिदेशी नागरिकहरुलाई लक्षित गरिहेको छ र निकै कम मार्जिनमा सामानहरु बिक्री गरिरहेको छ र जस्को फलस्वरुप महंगो दैनिकीबाट हैरान जापानिजहरुको आकर्षणपनि रारामार्टप्रति बढिरहेको छ । उनी जापानका ईकमर्श जाईन्टहरु राकुतेन, अमेजन भन्दा पनि रारामार्ट निकै सस्तो रहेको ठोकुवा गर्छन ।
रारामार्टले जापानमा मुख्यरुपमा मोवाईल, इलेक्ट्रोनिक्स, कपडा, जुत्ता जस्ता सामानहरुको बिक्री तीव्र बनाएको छ । खासगरी एप्पल ब्राण्डका घडी, मोवाईल, ल्यापटपहरुको बिक्रीको हिस्सा बढिरहेको र त्यसपछि महिलाहरुको कपडा रहेको बताउँछन् डा. अम्गाई । उनका अनुसार रारामार्टले यी बस्तुको मुल्यलाई नै आफ्नो पहिलो हतियार बनाईरहेको छ । तर उनी रारामार्ट जापानको बिदेशी भेण्डरहरुको प्रडक्टहरुमा छिटो डेलिभरी गर्न नसक्नुमा भने आँफुहरुको कमजोरी रहेको बताउँछन् । उनका अनुसार यसका लागी कम्पनीले जापानको सबैभन्दा ठूलो जापान पोष्ट बैंक, डिएचएल, फेडएक्स जस्ता अन्तर्राष्ट्रिय सपिङ्ग कम्पनीहरुहरुसँग एक्सप्रेस डेलिभरी टाईअप मेकानिजमको लागी प्रयत्न गरिरहेको छ ।
फ्री र २४ घण्टे डेलिभरी
रारामार्ट नेपालले अनलाईन सपिङ्ग बजारको मुख्य कमजोरीलाई शुक्ष्म ढंगले अध्ययन गरी त्यस अनुसारको रणनीति तर्जुमा गरी अघि बढाएको बताउँछन ‘रारा ईन्कर्पोरेशन (नेपाल) प्रा.लि.’ का अध्यक्ष तथा प्रख्यात उद्योगपति प्रदिपजंग पाण्डे । सुचना प्रबिधीमा आधारित व्यवसाय सबैका लागी अनिवार्य भइसकेको अवस्थामा आँफुहरुले पनि प्रबिधीमा दक्ष युवाहरुसँग सहकार्य गरको बताउँछन् अध्यक्ष पाण्डे । उनका अनुसार रारामार्टले पहिलो चरणमा काठमाण्डौ र ललितपुरमा २४ घण्टे निशुल्क डेलीभरीको योजना कार्यान्वयन गरेको छ ।
उनले रारामार्ट निशुल्क डेलिभरी र २४ घण्टा भित्रै डेलिभरी दिने पहिलो अनलाईन सपिङ्ग कम्पनी भएको दाबी गरे । उनले थपे, ‘ हामीले काठमाण्डौ रिङ्गरोड बाहिर र उपत्यका बाहिरको हकमा पनि रारामार्टले अन्य सपिङ्ग कम्पनीहरुको तुलनामा सबैभन्दा कम मुल्यमा सबैभन्दा छिटो डेलिभरी सेवा प्रदान गरिरहेका छौं र डेलिभरीमा मात्र होईन रारामार्टमा रहेका प्रडक्टहरुमा मुल्य किफायतीको दृष्टीले पनि नेपालको पहिलो अनलाईन सपिङ्ग कम्पनी हुनेगरि नयाँ रणनीति सार्वजानिक गरिनेछ’ ।
अमेरिकादेखि ईण्डियासम्म विस्तार
नेपाली युवाहरुको भिजन र अगुवाईमा जापानबाट सुरु रारामार्ट नेपालसँगै यतिबेला अमेरिकामा सेवा बिस्तारको प्रक्रियामा अघि बढिरहेको छ । जस्को फलस्वरुप केही महिना अघिमात्र अमेरिकामा कार्यरत नेपालीमुलका अगुवा व्यवसायीहरुको सहभागितामा अमेरिकाको टेक्सस्मा ‘रारा युएसए कर्पोरेशन’ नामक कम्पनी स्थापना भइसकेको छ ।
रारा ग्रुपका निर्देशक सापकोटाका अनुसार कम्पनीले प्रारम्भमा केही समय क्राउड फण्डिङ्गको ढाँचामा फण्ड कलेक्सनको काम गर्नेछ । सन् २०२० को अन्तिमसम्ममा अमेरिकाबाट वल्र्डवाईड ई–कमर्श सपिङ्ग साईट संचालनमा ल्याउनेछ । उनले अनुसार रारामार्टले सन् २०२१ को अन्तसम्ममा ईण्डियामा समेत कम्पनी स्थापना गरिने बताए ।
कम्पनीका अर्का निर्देशक डा. भरतसिंह नेगीले जापान र अमेरिकामा रारामार्टको स्थायित्वसँगै भारत र विकाशोन्मुख तथा अल्पविकसित देशलाई पहिलो प्राथमिकतामा राखेर व्यवसायिक विस्तार रणनीति तर्जुमा गरिने र यससम्बन्धी बिस्तृत कार्ययोजना छिट्टै सार्वजानिक गरिने बताए । उनले रारामार्टको ग्लोबल ब्राण्डमा लगानीका लागि विश्वभरका नेपाली तथा गैरनेपालीलाई अवसर प्रदान गर्ने कार्ययोजना समेत छिट्टै सार्वजानिक गरिने बताए ।
















प्रतिक्रिया