हिन्दू राष्ट्रलाई हटाएर संविधानमा किन धर्म निरपेक्षता ल्याईयो ? मलाई अचम्म लाग्छ । नेपाल हिन्दू राष्ट्र हुँदा इस्लामदेखि क्रिश्चियनसम्म नेपाल भित्रै अटाएका थिए । हिन्दूराष्ट्र हुँदाखेरि नै हो काठमाडौंको घण्टाघरमा नजिकै इस्लामहरुले मस्जिद बनाएको पनि । अनि क्रिश्चियनहरुले चर्च पनि नेपाल हिन्दू राष्ट्र हुँदाखेरि बनाएका हुन् । अहिले नेपालमा धर्म निरपेक्षता ल्याइयो ।
धर्म निरपेक्षताको माग नेपाल हन्दिूराष्ट्र हुँदाखेरि बनेका इस्लाम र क्रिश्चियनहरुको पक्कै पनि थिएन, युरोपियन युनियन र केही पश्चिमा मुलकका पैसा खाएर जो क्रिश्चियन बने । केही पैसाको लालचमा धर्म परिवर्तन गरेर जो कट्टर हन्दिूविरोधी बने तिनीहरुलाई चाहिएको छ नेपालमा धर्म निरपेक्षता ।
धर्म निरपेक्षताका पक्षपातीहरु नेपालमा यती शक्तिशाली बनेका छन् कि उनीहरुले देशका मन्त्री देखी प्रधानमन्त्री सम्मलाई प्रत्येक्ष रुपमा आफ्नो प्रभावमा पारेका छन । जसको पछिल्लो उदाहरण हो होली वाइन प्रकरण । बहुसंख्याक हिन्दू भएको समाजमा आएर एउटा विवादित एवम अराजक क्रिश्चियानहरुको एउटा झुण्डले नेपालका जनप्रतिनिधिहरुलाई होली वाइनको रसपान गरायो । नेपालले हिन्दू राज्यलाई हटाएर धर्म निरपेक्षता बनाएपछिको यो सबैभन्दा ठुलो उपहार हो नेपाल ।
संविधानमा हन्दिू राज्य हुँदा, चिया पसलमा धर्मबारे विवाद गरेको देखेको थिइनँ । कुनैपनि ईस्लामिक मित्रले त हन्दिू, कुनैपनी क्रिश्चियान मित्रले त हिन्दू भनेर फरक व्यवहार गरेको अनुभम मैले गरेको थिइनँ । धर्म निरपेक्षाता हुनु भन्दा अगाडि मसँगै मन्दिर जाने मेरा क्रिश्चियान मित्रले अहिले मन्दिराको म उच्चारण गरेको सुने भने रिसार हिड्छन् ।
म पनि चर्चमा निर्वाद रुपमा जान्थेँ मुलुक धर्म निरपेक्षता हुनुभन्दा अगाडि । वर्षौंअगाडि पुगेको चर्चमा आज जान म किन हिच्किचाउँछु ? अनि वर्षौंअघि मेरा मित्रसँग बकर इद मनाउन मस्जिद छिरेको म आज किन मस्जिदभित्र छिर्न डराउँछु ? के यही हो धर्म निरपेक्षताको उपहार ? यदि यिनै उपहार हुन भने धर्म निरपेक्षताका हामीले यो धर्म निरपेक्षतालाई हटाउन ढिला गर्नु हुँदैन ।
नेपालका अधिकांश रीतिरिवाज र संस्कृति धर्मसँग जोडिएका छन् । हामीले हरेक वर्ष नेपाल भ्रमण वर्ष भनेर घोषणा गर्ने मनाउने गर्दै आएका छौं । नेपाल हिन्दू राज्य हुँदा जति पर्यटक नेपालमा घुम्न आउँथे र नेपालका दसैं–तिहारमा जसरी हर्षोल्लासका साथ रमाउँथे त्यसरी के अहिले पर्यटकहरु आएर रमाईरहेका छन् त ? यो प्रश्नको उत्तरमा सरकार र सरकारका प्रतिनिधि मौन छन् । हामी बच्चा हुँदा दसैं आउँदा जति खुशी हुन्थ्यौं त्यति खुशी अहिलेका बच्चा दसैंमा हुँदैनन् । न त त्यति खुशी अहिलेका बच्चाहरु क्रिसमस मनाउँदा हुन्छन् ।
पर्यटकहरु नेपालमा चर्च हेर्न आउँदैनन् । चर्च हेर्नलाई त पश्चिमा मुलकका देशानै पर्याप्त छन् । त्यहाँ त ठूला चर्च, ठूला पादरी हुन्छन् । पैसाको लालचमा फैलाइएको धर्म र चर्च हेर्न नेपालमा पर्यटक आउँदैनन् । त्यसकारण हिन्दू राज्यको महत्व बुझ्नमा केन्द्रित हुने र राष्ट्रियता संकटमा पर्नबाट जोगाउने दायित्व सबैको हो । राष्ट्रियता नै संकटमा परेको बेला भ्रमणा वर्षको सफलता पाउन सक्दैन । संकट टार्नबारे राज्य गम्भीर बन्नुपर्छ ।
नेपाललाई संस्कृतिकै धनी र धार्मिक महत्वको एउटा गन्तव्य बनाउने हो भने नेपालको संविधानमा व्यवस्था भएको धर्म निरपेक्षतालाई तत्काल खारेज गर्नुपर्छ । आफ्नो परिचय बनाउने हो र विश्वमा नेपाललाई कसरी चिनाउने हो भने निरपेक्षता खारेजीको विकल्पै छैन ।
विश्वसमूदायले नेपाललाई सगरमाथा र हिन्दू राज्यको देश भनर चिन्दै आएका थिए । अब पहिचान सगरमाथा मात्र बाँकी छ । त्यसैले गुमेको पहिचान फिर्ता ल्याउने र बाँकीमाथि कतैबाट आँच आउन नदिन सम्पूर्ण नेपालीको कर्तव्य हो ।
















प्रतिक्रिया