हिजो शनिबार सम्पन्न उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । सार्वजनिक भएका मतपरिणाम हेर्दा सत्तारुढ नेकपा स्पष्ट जितको बाटोमा अग्रसर हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीकै निवास क्षेत्र भक्तपुर क्षेत्रमा पछारिन पुगेको छ ।
ओली पार्टीका अध्यक्ष समेत हुन् । तर भक्तपुरको क्षेत्र नंं १ को (क)को लागि भएको उपचुनावमा उनको पार्टी नराम्ररी पराजित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेद्वार कृष्णलाल भडेललाई जित्न नसकेर नेकपाका उम्मेद्वार देवीप्रसाद ढकाल पछारिएका हुन् । ढकाल २०७४ को चुनावमा स्वतन्त्र (बागी) उम्मेद्वार बनेर हारेका पात्र हुन् ।
तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकतापछि गठित नेकपा बनेपछि ढकाल नेकपाले आधिकारिक उम्मेद्वार उठाएको थियो । योपटक पनि उनलाई पराजयको खादाबाहेक हात पर्न सकेन ।
यो क्षेत्र ओलीका निकट मानिने नेकपाका केन्द्रीय सदस्य समेत रहेका संघीय सांसद महेश बस्नेतको क्षेत्र हो । ओलीको आवास क्षेत्र र बस्नेतको प्रभाव भएको भनिएको क्षेत्रमा आफ्ना उम्मेद्वार पराजित भएपछि नेकपाभित्र तरंग पैदा गराएको छ । हार हुनुका पछाडिका कारणहरुबारे थुप्रै विश्लेषण र चर्चा गरिन थालिएको छ ।
कमजोर उम्मेदवार र पुरानो विवाद
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएका हरिशरण लामिछानेको निधनपछि उप निर्वाचन भएको तथ्य सर्वविदितै छ । तर लामिछाने पनि अघिल्लो निर्वाचनमा विवादरहित उम्मेदवार भने थिएनन् । सुरुमा तत्कालीन माओवादी केन्द्रले पाएको क्षेत्रमा माओवादीले ढकाललाई उम्मेदवार उठाउने निर्णय गरेको थियो । तर उम्मेदवारमा चर्को विवाद मात्रै भएन तत्कालीन एमाले पक्षधरले पार्टी कार्यलयमा तालाबन्दी समेत गरेका थिए । त्यत्पश्चात् मात्र ढकाललाई अन्तिम समयमा उम्मेदवारी बनाइयो ।
यसपटक उपनिर्वाचनमा पनि सत्तारूढ नेकपा भित्र पुरानै विवाद त दोहोरियो नै लामिछाने पत्नीले पनि श्रीमानको उत्तराधिकारी सम्हाल्ने इच्छा मात्रै व्यक्त गरिनन् । अन्तिमसम्म दौडधुप पनि जारी राखिन् । त्योसँगै दर्जनौं आकांक्षीलाई पछि पार्दै नेताहरुको निगाहाबाट टिकट प्राप्त गरेका ढकालले जित्ने सम्भावना निकै कम रहेको कुरा पूर्वएमाले पक्षधर नेता कार्यकर्ताहरुले टिकट वितरणकै बेलामा चर्चा गरेका थिए ।
उम्मेदवार छनौटमा पार्टीले स्थानीय नेता र कार्यकर्ताहरुको भावनाको कदर नगरेर शीर्ष नेतृत्वको धुपौरे बनेको आरोप ढकालमाथि लागेको थियो । परिणामः ढकाललाई टिकट दिएकोप्रति तीव्र असन्तुष्टी जनाएका थिए । तत्कालीन समयमै योसँगै निर्वाचन अभियान संचालनको क्रममा पनि ढकाल कार्यकर्ता र समर्थकसम्म पुग्नै सकेनन् र चाहेनन्, ‘संचारमाध्यम र सामाजिक संजालको मात्रै भर पर्नु कमजोर जग भएका उम्मेदवारको चरित्र हो’ असन्तुष्ट एक स्थानीय नेकपा नेताले भने ।
भावनात्मक एकताको संचार नभएको तर्क
पार्टी एकता प्रक्रियामा भएको ढिलाइका कारण तल्लो तहसम्म अहिलेपनि ‘पूर्वएमाले’ र ‘पूर्वमाओवादी’को ह्याङओभर पाइन्छ । यो स्थिति भक्तपुरमा नरहने कुरै भएन । यो कुरालाई सांसद महेश बस्नेत पनि स्वीकार्छन् ।
पूर्वएमालेका नेता रहेका बस्नेत आफैंले पनि उम्मेदवारी चयनप्रति विभिन्न गुनासो रहेको कुरा स्वीकार गर्दै संचारमाध्यममै भनेका छन्, ‘उम्मेदवारका विरुद्ध पनि ब्यक्तिगत गुनासा रहे । जिल्लाका होइनन् । माओवादी पृष्ठभूमिबाट आएका जस्ता गुनासा कार्यकर्ता तहमा साम्य पार्यौं, तापनि जनतामा रहेको त्यो भावना हटाउन नसक्दा चुनावी परिणाम अनुकुल हुन सकेन ।’ सांसद बस्नेतको यो अभिव्यक्तिले पनि उम्मेदवार छनौटमा सत्तारुढ नेकपा चुकेको कुरालाई पुष्टि गर्छ ।
अर्कोतिर नेवार समुदायको बाहुल्यता रहेको भक्तपुरमा नेवार समुदायको उम्मेद्वार नहुनुको मनावैज्ञानिक घाटा पनि सत्तारूढलाई नै पर्न गयो भने गुठी विधेयकविरुद्धको धेरथोर प्रभाव पनि उप निर्वाचनमा परेको कुरालाई अस्वीकार गर्न सकिन्न । जे होस् सत्तारूढ नेकपाले भक्तपुर क्षेत्र नंं. १ को (क) गुमाए पनि कांग्रेस बिजयी भएर खुशी हुनुपर्ने कारण खासै छैन ।
कांग्रेसका लागि उपनिर्वाचन केही सकारात्मक देखिएपनि अवस्था पुरै सुध्रिएको भने देखिदैंन । भलै यो उपनिर्वाचनलाई दुई तिहाईको सरकारको नेतृत्व गरिरहेको पार्टीका अध्यक्ष एंब प्रधानमन्त्रीकै घरमा नेकपा पछारिएको घटनाको रूपमा भने पक्कै स्मरण रहने छ ।




















प्रतिक्रिया